स्वर्णिमलाई गगनको जवाफ- कांग्रेस सुध्रिएन भन्दै तपाईं लात हानेर हिँड्नु भो

हिमाल प्रेस २० चैत २०७९ २०:४०
16
SHARES
स्वर्णिमलाई गगनको जवाफ- कांग्रेस सुध्रिएन भन्दै तपाईं लात हानेर हिँड्नु भो

तनहुँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको फोहोर सफा गर्न पार्टीमै रहेर संघर्ष गर्नुपर्ने बताएका छन्। वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ बाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको पक्षमा माहोल बनाउन सोमबार तनहुँ पुगेर थापाले यस्तो बताएका हुन्।

उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोही क्षेत्रमा उम्मेदवारी दिएका अर्थविद् स्वर्णिम वाग्लेलाई उनले विदेशमा पढेर आएको भन्ने परिचयमात्रैले चुनाव जित्न नसकिने आरोप लगाए।

‘कांग्रेस बदल्न हामी संघर्षरत छौं। विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डेलगायत नेताहरू यहीँभित्र बदलाव ल्याउँछौं, परिणाम ल्याउँछौं भनेर लागिरहेका छौं,’ उनले भने। वाग्लेले कांग्रेस खराब छ भन्ने आरोप लगाएर पार्टी परित्याग गरिहाल्नु सत्तालिप्साको लोभ र हतार भएको थापाको भनाइ छ।

‘साथीहरू बाहिरबाट पढेर आएको हो भन्नुहुन्छ। तर मेरो बा र आमा सोलुखुम्बुको पहाडबाट सुख खोज्दै काठमाडौँ आउनुभएको हो। मेरो आमाले पढ्न पाउनुभएन। बाले पढ्नुभयो। हामीलाई पढाउनुभयो,’ उनले भने, ‘विदेशमा बसेर काम गरेर आएको, जागिर छाडेर आएको भन्नुहुन्छ। मलाई भन्न मन लाग्छ- मैले त जागिर नै खाएको छैन।’

वाग्लेले जागिर खाएको पैसाले घर बनाउँदा आफू मुलुकमा सुधारका लागि सडक संघर्ष गरिरहेको थापाको जिकिर छ। उनले कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्ने देखिएको तर कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर झ्यालका सीसा फुटाएर कांग्रेस नबदलिने उनको भनाइ छ।

‘कांग्रेस बदल्न यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ। गोविन्द भट्टराईलगायत सबै सँगै बसेर संघर्ष गर्ने हो, कांग्रेसलाई लात हानेर हिँडेर कांग्रेसको सुधार हुन सक्दैन,’ उनले भने। उनले अब १०/१५ वर्षपछि नेपालका दूरदराजमा बस्नेहरूले सहरमा जन्मिएका छोरीहरूले जस्तै बराबर हैसियत पाउने र यस्तो अवस्था आए आफूले गरेको राजनीतिले सार्थकता पाउने जनाए।

‘कांग्रेस पार्टीमा मेरो बुवाभन्दा पनि ३ वर्ष बढी उमेरको पार्टी सभापतिसँग म दल नेताको चुनाव लडेर आएको हुँ। अरू पार्टीमा यस्तो देखाउन सक्नुहुन्छ?,’ उनले प्रश्न गरे।

उनले कोही पनि अलमल नगरी यसपटक गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे। ‘नयाँ आउनुभएका साथीहरूको सबैभन्दा ठूलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्ने मात्र छ। त्यो भन्दा अरू कुनै विषय छैन,’ उनले भने।

प्रकाशित: २० चैत २०७९ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =