भारतीय राजनीति

एक हुने प्रयासमा विपक्षी दल, गठबन्धन निर्माण सम्भव तर अप्ठ्यारो

हिमाल प्रेस १७ चैत २०७९ ९:३१
62
SHARES
एक हुने प्रयासमा विपक्षी दल, गठबन्धन निर्माण सम्भव तर अप्ठ्यारो

काठमाडौँ- वर्षौँदेखि फरकफरक कित्तामा उभिएका भारतका विपक्षी दलहरू अन्ततः एक ठाउँमा उभिने प्रयासमा लागेका छन्। भारतीय कंग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएसँगै विपक्षी दलहरू एकजुट हुनुपर्ने निष्कर्षमा पुगेका हुन्। यसो भएमा सन् २०२४ को आमनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बलियो प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ।

तर भिन्न विचार र चासो बोकेर हिँडेका विपक्षी दल भाजपाविरुद्ध साँच्चै मोर्चाबन्दी गर्न सक्छन् कि सक्दैनन्, अहिल्यै यकिनका साथ भन्न सकिने अवस्था भने छैन।

भाजपा नरेन्द्र मोदीको नेतृत्वमा सन् २०१४ देखि सत्तामा छ। पछिल्ला दुई निर्वाचनमा भाजपाले कंग्रेसलगायतका विपक्षी दलहरूलाई सजिलै पराजित गरेको थियो। अर्को वर्षचाहिँ विपक्षी दलहरू एकजुट भएर निर्वाचन लडे भने भाजपा अप्ठ्यारोमा पर्नेछ।

राहुलमाथि लागेको मानहानिको मुद्दा, अदालतको फैसला र फैसलासँगै सांसद पदबाट निकाल्ने निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन्। उनीहरूको जिकिर छ, राहुलको सांसद पद रद्द गरिनु र उनलाई सम्भवतः जेलचलान गरिनु भारतमा लोकतन्त्र कमजोर भएको प्रमाण हो। विपक्षी दल र तिनका नेतामाथि मुद्दा चलाउने, कानुनी र लम्बेतान छानबिनको झमेलामा पार्ने रणनीतिमा मोदी सरकार र भाजपा लागेको आरोप लगाइँदैछ।

राहुलको सांसद पद रद्द गरिएको भोलिपल्ट १४ विपक्षी दलले सर्वोच्च अदालतमा याचिका दर्ता गराएका थिए। सर्वोच्च अदालतसमक्ष दर्ता गराइएको याचिकामा उनीहरूले भाजपा सरकारले केन्द्रीय सरकारी निकायको दुरुपयोग गरेर आफूहरूलाई दुःख दिने काम गरिरहेको उल्लेख गरेका छन्।

‘भारतमा खराब वातावरणको सिर्जना गरिएको छ। यो वातावरण देशका लागि हानिकारक छ। यसबाट मुक्त हुनुपर्छ,’ कंग्रेस नेता केसी बेणुगोपालले रोयटर्ससँग भनेका छन्। उनले आगामी निर्वाचनका लागि गठबन्धन निर्माण गर्ने सहमति नभइसकेको बताए।

‘तर यसका लागि प्रयास सुरु भएको छ। सत्ताबाहिर रहेका हामी सबै पार्टी सँगसँगै हिँड्ने कोसिसमा छौँ। एकअर्कासँग सहज पनि महसुस गरिरहेका छौँ,’ कंग्रेसमा राहुलसँग नजिक मानिने बेणुगोपालले भने।

गत बुधबार पश्चिम बंगालकी मुख्यमन्त्री तथा त्रिणमूल कंग्रेसकी प्रमुख ममता बेनर्जीले सन् २०२४ को निर्वाचनका लागि सबै विपक्षी दलबीच गठबन्धन निर्माण हुनुपर्ने बताएकी थिइन्। लोकसभामा चौथो ठूलो दल रहेको त्रिणमूलकी बेनर्जीले यसअघि भने आफ्नो पार्टी निर्वाचनमा एक्लै होमिने बताउँदै आएकी थिइन्।

त्रिणमूलका सांसद शुखेन्दु शेखर रोय भाजपाको तानशाही व्यवहारका कारण भारतमा विपक्षी दल एक हुनुपर्ने स्थिति पैदा भएको बताउँछन्। ‘भाजपाले देखाइरहेको क्रियाकलापले सबै विपक्षी दललाई अवसर दिएको छ,’ उनले भनेका छन्।

विपक्षी दलले लगाएको ताजा आरोपबारे भाजापाले औपचारिक रूपमा केही भनेको छैन। तर केही दिनअघि प्रधानमन्त्री मोदीले सरकारी निकाय भ्रष्टाचार नियन्त्रणमा सक्रिय रहेको प्रतिक्रिया दिएका थिए।

‘भ्रष्टाचार गर्नेलाई सरकारी निकायले छानबिन गरिरहेका हुन्छन्। त्यसरी छानबिनको दायरामा पर्नेहरू विभिन्न आरोप लगाइरहेका छन्। अदालतमाथि नै प्रश्न गरिरहेका छन्। केही पार्टीहरू भ्रष्टाचारीहरूलाई बचाउन मोर्चाबन्दी गरिरहेका छन्,’ मोदीले भनेका थिए।

विपक्षी पार्टीहरूले संसद्‌भित्र र बाहिर संयुक्त आन्दोलन गर्ने बताएका छन्। देशभर भाजपाविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे पनि योजना बनिरहेको बताइएको छ।

भारतीय तल्लो सदन लोकसभामा १४ विपक्षी दल छन्। सन् २०१९ को निर्वाचनमा ती दलले कुल मतमध्ये ३९ प्रतिशत मत पाएका थिए। उनीहरूसँग भएको सिट जम्मा १६० हो। कुल ५४२ सिट भएको लोकसभामा भाजपा एक्लैसँग ३०३ सिट छ। मत हिसाब गर्ने हो भने भाजपाले ३८ प्रतिशत मत प्राप्त गरेको थियो।

असाध्यै बलियो भाजपालाई आउँदो निर्वाचनमा पाखा लगाउने हो भने सबै विपक्षी दल मिल्नुको विकल्प छैन। यो असम्भव छैन। तर सजिलो पनि छैन। यसका केही कारण छन्। जस्तै : कंग्रेसको हैसियतलाई लिएर उठिरहेको प्रश्न।

राजधानी नयाँदिल्ली र पञ्जाबमा सरकार चलाइरहेको आम आद्‍मी पार्टी (आप) कंग्रेससँग मुख्य विपक्षी दल बन्न पर्याप्त तागत नरहेको बताउँछ। कंग्रेसले आफूलाई मुख्य विपक्षी दलका रूपमा दाबी गर्नुभन्दा अन्य दलसँग मिलेर अघि बढ्नुपर्ने आपको भनाइ छ। ‘कंग्रेसले अब अन्य साना दललाई पनि सम्मानपूर्वक स्थान दिनुपर्छ। यसो गर्नुको विकल्प छैन,’ आपका एक नेताले नाम नबताउने सर्तमा रोयटर्ससँग भनेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा प्रमुख विपक्षी रहेको समाजवादी पार्टीको धारणा पनि यस्तै छ।

लोकसभामा हाल कुनै पनि दलले प्रमुख विपक्षी दलको मान्यता पाएका छैनन्। यसको कारण हो, सन् २०१९ को निर्वाचनमा कम्तीमा १० प्रतिशत मत पनि नपाउनु। यद्यपि विपक्षी दलमध्ये सबैभन्दा ठूलोचाहिँ कंग्रेस नै हो।

यस्तोमा विपक्षी दलहरूको गठबन्धन बन्ने वा नबन्नेमा कंग्रेसको भूमिका निर्णायक रहने विश्लेषण गरिँदैछ। क्षेत्रीय पार्टीहरूका लागि कंग्रेस कतिवटा निर्वाचन क्षेत्र छाड्न तयार हुन्छ, त्यसले गठबन्धनको सम्भावना बढाउने वा घटाउनेछ।

सत्तामा रहेको दललाई निर्वाचनमा पराजित गर्न विपक्षी दलहरूले बलियो गठबन्धन निर्माण गरेको उदाहरण भारतमा नभएको होइन। सन् १९७७ मा सबै विपक्षी दल मिलेर कंग्रेसलाई पराजित गरेका थिए।

भारतमा अझै पनि प्रधानमन्त्री मोदीलाई सर्वाधिक लोकप्रिय नेता मानिन्छ। विभिन्न सर्वेक्षणका नतिजाअनुसार उनले फेरि एकपटक भाजपालाई निर्वाचन जिताउने अनुमान छ। ‘मोदी वा भाजपाको विरोध गरेर मात्र विपक्षी दलले गठबन्धन निर्माण गर्न सक्दैनन्। किनभने उनीहरू फरकफरक विचार बोक्छन्। यसअघि पनि धेरैपटक विपक्षी गठबन्धन बनाउने प्रयास भएका थियो। तर त्यस्तो गठबन्धन केही साताभन्दा बढी टिकेको देखिएन,’ भाजपाका प्रवक्ता नलिन कोहलीले भनेका छन्।

रोयटर्सको सहयोगमा

प्रकाशित: १७ चैत २०७९ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =