‘घृणा’ को बजारमा राहुलको ‘प्रेम’ दुकान

संगीता श्रेष्ठ २० जेठ २०८० ९:४७
176
SHARES
‘घृणा’ को बजारमा राहुलको ‘प्रेम’ दुकान

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पछिल्लो समय बदलिएका मात्र छैनन् आफूलाई राजनीतिमा अब्बल नेताका रूपमा स्थापित गराउन सक्रिय छन्। विशेषगरी ‘भारत जोडो यात्रा’पछि  राजनीतिक स्वभावमा परिवर्तन देखिएको हो। यसलाई उनी आफैँले पनि स्विकारेका छन्।

अचेल भारतीय जनतासँग गर्ने हरेक सम्बोधनमा पनि उनले यो कुरा दोहोर्‍याउने गरेका छन्। कर्नाटक विधानसभा चुनावी र्‍यालीमा उनले पटकपटक ‘भारत जोडो यात्रा’ लाई सम्झिए। ‘यात्रापछि बोल्नुभन्दा बढी सुन्छु,’ उनले भनेका थिए, ‘यात्राको पाँचसात दिनपछि बुझिसकेको थिएँ, अब मैले आफ्ना कुरा सुनाउनुभन्दा पनि जनताका कुरा सुन्नुपर्छ।’

कर्नाटक राज्यको विधानसभा चुनावमा २ सय २४ सिटमध्ये १ सय ३६ सिटमा कांग्रेस उम्मेदवार निर्वाचित भए। त्यसको जस राहुल र पार्टीले ‘भारत जोडो यात्रा’लाई दिए। राहुलको यात्राको सफलताले भारतमा राष्ट्रिय कांग्रेसका पक्षमा माहोल बढ्दै गएको छ। युवा पुस्तालाई जोड्न र घृणाको राजनीतिलाई किनारा लगाउन राहुल सबल हुँदै गएको भनेर उनको प्रशंसा गर्न थालिएको छ।

कर्नाटकको जितबाट उत्साही राहुलले आगामी नोभेम्बरमा हुने मध्यप्रदेशको विधानसभा चुनावमा १ सय ५० सिटले विजयी हुने दाबी गरेका छन्। यसो भनिरहँदा उनी उत्तिकै आत्मविश्वासी देखिन्छन्। साथै उनले राजस्थानमा पनि जित्ने आकलन उनको छ।

कांग्रेसले कर्नाटक चुनाव भ्रष्टाचार, बेरोजगारीलगायत विभिन्न मुद्दामा लडेकाले जित्न सफल भएको भारतीय पत्रकार अभिसार शर्माले बताएका छन्। ‘भ्रष्टाचार, बजरंग दलजस्ता हिंसक संगठनबारे कुराकानी गरेर कांग्रेसले विभिन्न मुद्दामा कर्नाटक चुनाव लड्यो,’ पत्रकार शर्मा भन्छन्, ‘कांग्रेसको रणनीति सफल रह्यो। अनि पार्टीले चुनाव जित्यो।’

तर भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूको बुझाइमा राहुल अहिले पनि ‘पप्पु’ नै हुन्। उनी कहिले राजनेता बन्न सक्दैनन्। प्रधानमन्त्री त कुनै हालतमा बन्दैनन्। त्यसैले उनीहरू राहुलको खिसीटिउरी गरिरहेका हुन्छन्।

राहुलले ‘मोदी सरनेम’ माथि गरेको टिप्पणीमा सन् २०१९ मा दर्ता भएको मुद्दा ब्युँताउने काम बीजेपीले गरेको कांग्रेसीहरूको भनाइ छ। उनको सांसद पद रद्द गर्ने षड्यन्त्र पनि बीजेपीले नै आरोप कांग्रेसको छ।

‘पप्पु’को छवि बीजेपीको सुनियोजित प्रचार रहेको अम्बेडकर विश्वविद्यालय दिल्लीका प्रोफेसर अभयकुमार दुबेले एक अन्तर्वार्तामा बताएका छन्। ‘बीजेपीको त्यस प्रोपोगन्डालाई आगोमा घिउ थप्ने काम राहुलले पनि गरेका हुन्,’ प्रोफेसर दुबे भन्छन्, ‘बीचबीचमा उनी विदेश घुम्न निस्किन्थे। उनले पार्टटाइम पोलिटिकल लिडरका रूपमा काम गरेको देखिन्थ्यो।’

सन् २०१९ मा कांग्रेसले लोकसभा चुनाव हार्दा राहुलले त्यसको जिम्मेवारी लिँदै पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। साथै उनले एउटा पत्र लेख्दै अब उपरान्त गान्धी परिवारबाट कोही पनि अध्यक्ष पदमा हुनु नपर्ने दबाब पनि दिएका थिए।

उनको त्यो निर्णय अपरिपक्वताको उदाहरण रहेको प्रोफेसर दुबेको भनाइ छ। ‘त्यो निर्णय राहुलले भावावेशमा लिएका थिए,’ उनी भन्छन्, ‘बरु उनले हारको जिम्मेवारी लिँदै संघर्ष जारी राख्ने घोषणा गर्नुपर्दथ्यो।’

त्यसबेलादेखि भारत जोडो यात्राअघिसम्मको समयलाई प्रोफेसर दुबे भारतीय कांग्रेसको ‘अन्धकार युग’को संज्ञा दिन्छन्। ‘आशाको पहिलो किरण भारत जोडो यात्राका रूपमा देखियो,’ उनी भन्छन्, ‘यात्राबाट राहुलले आफ्नो राजनीति करियरलाई पुनर्जीवित गर्न थालेका हुन्।’

दुबेका अनुसार ‘भारत जोडो यात्रा’ पछि राहुल गान्धी परिपक्व देखिएका छन्। कांग्रेसका दृष्टिकोणले यतिखेर उनी सर्वश्रेष्ठ नेता रहेको उनको भनाइ छ। ‘राहुलले पछिल्लो समय आफ्नो छविमा सुधार गरेका छन्,’ उनी भन्छन्, ‘उनको आवाज पहिलेभन्दा प्रभावशाली भएको छ।’

हुन पनि राहुल ‘भारत जोडो यात्रा’ पछि रोकिएका छैनन्। उनी भारतीय जनतासँग निरन्तर भेटघाटमा छन्। संवाद गरिरहेका छन्। कहिले दिल्लीको शकुरबस्तीका महिलासँग कुराकानी गरिरहेका देखिन्छन्। उनीहरूका समस्या सुन्छन्। कहिले विभिन्न विश्वविद्यालयमा पुगेर विद्यार्थीसँग संवाद गरिरहेका देखिन्छन्। उनीहरूका भविष्यका योजनाबारे सोधिरहेका हुन्छन्। अनि कहिले  दिल्लीका सडकमा स्वाद मानीमानी ‘स्ट्रिटफुड’ खाइरहेका हुन्छन्।

‘यो राहुल गान्धी पहिलेजस्ता राहुल गान्धी होइनन्, जसले भावावेशमा कांग्रेसको अध्यक्ष पदबाट राजीनामा दिएका थिए,’ प्रोफेसर दुबे भन्छन्, ‘कांग्रेसको अध्यक्ष पदमा नभए पनि उनले पार्टीको नेतृत्व गरिरहेका छन्। राहुलले आमाको राजनीतिक अनुभवबाट लाभ लिइरहेका छन्। बहिनीको सहयोग पाइरहेका छन्।’

पहिले सचिन पाइलट, ज्योतिरादित्य सिन्धियालगायत कांग्रेसी नेतासँग राहुलको घुलमिल थियो। जसका कारण उनी साँघुरो घेराबाट कहिल्यै बाहिर निस्कन नसकेको र भारतलाई बुझ्न नसकेको भारतीय राजनीतिक विश्लेषकहरू बताउँछन्। कलेजका साथी ज्योतिरादित्य सिन्धिया सन् २०२० मा भाजपामा छिरे, राहुलबाट टाढिए। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतसँग मतभेद भएपछि सचिन पाइलट पनि भाजपातिर लाग्ने समाचार बाहिरिएका थिए। तर सचिन कांग्रेसमै छन्।

डिसेम्बरमा हुने राजस्थान विधानसभा चुनावमा दुवै नेताले मिलेर काम गर्ने सहमति भएको छ। दुई नेताबीच देखिएको विवाद मिलाउन राहुलको मुख्य भूमिका छ। यसबाट पनि राहुलमा वंशाणुगत असल नेताको गुण रहेको प्रस्ट भएको पत्रकार अभिसार शर्माको बुझाइ छ।

‘पछिल्लो समय राहुल त्यो साँघुरो घेरा उछिनेर जनतासम्म पुगेका छन्,’ शर्मा भन्छन्, ‘जनताका कुरा सुनिरहेका छन्। समस्या बुझिरहेका छन्। भाजपा छक्क छ। राहुल कतिखेर के गर्छन् भाजपाका नेताले अनुमान गर्न सकिरहेका छैनन्।’

कर्नाटक चुनाव प्रचारताका राहुलले त्यहाँका फुड डेलिभरी ब्वाईहरूसँग भेटघाट गरे। उनीहरूसँग बसेर खाजा खाए। फुड डेलिभरी ब्वाईको स्कुटर चढेर बस्तीबस्तीमा पुगे। सार्वजनिक बसको यात्रा गरे। महिलाले भोग्नुपरिरहेका समस्याबारे जानकारी लिए।

कांग्रेसले चुनावी घोषणापत्रमा कर्नाटकमा महिलालाई सरकारी बसको भाडा निःशुल्क गर्ने बाचा गरेको थियो। जितपछि सो बाचा पूरा गरेको छ। भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’ का अनुसार कर्नाटकका महिलाले अब सरकारद्वारा सञ्चालित सबै बसमा निःशुल्क यात्रा गर्न पाउनेछन्। कर्नाटकमा दैनिक ४० लाखभन्दा बढी महिला बसमा यात्रा गर्छन्।

त्यस्तै कांग्रेस सरकारले कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध हटाउने तयारी गरिरहेको भारतीय पत्रिका ‘द इकोनोमिक टाइम्स’ले जनाएको छ। कर्नाटकमा चुनाव जितेपछि भारतीय अनलाइन पत्रिका ‘स्क्रोल इन’सँगको अन्तर्वार्तामा कांग्रेस विधायक कनीज फातिमाले कर्नाटकका शैक्षिक संस्थाहरूमा लगाइएको हिजाब प्रतिबन्ध छिट्टै हटाउने बताएकी थिइन्।

‘हामी ती सबै विद्यार्थीलाई कक्षामा फिर्ता ल्याउनेछौँ,’ फातिमाले भनेकी थिइन्, ‘महत्त्वपूर्ण दुई वर्ष गुमाएका उनीहरूले फेरि परीक्षा दिन पाउनेछन्।’सन् २०२२ मा भाजपा शासित कर्नाटक सरकारले विभिन्न शैक्षिक संस्थामा हिजाब लगाउन प्रतिबन्ध लगाएको थियो।

केही दिनअघि राहुल गान्धीले ट्रकयात्रा गरिरहेको तस्बिर भाइरल भएको थियो। यो यात्रा उनले भारतका ट्रक चालकको समस्या बुझ्नका लागि गरेको कांग्रेसका नेताहरू बताउँछन्। राहुलले दिल्लीदेखि चण्डीगढसम्म ६ घण्टाको यात्रामा ट्रक चालकसँग रोचक अन्तरक्रिया गरेका थिए। चालकबारेमात्र नभई उनको परिवारबारे पनि सोधेका थिए। बुझेका थिए।

राजनीतिक विश्लेषकहरू राहुलले भारतका आमजनतामाझ गएर उनीहरूको वास्तविक कुरा बुझिरहेको  बताउँछन्। ‘भारत जोडो यात्रापछि राहुलले जनतासँग जोडिने काम गरिरहेका छन्,’ भारतका वरिष्ठ पत्रकार प्रशान्त टन्डनले भनेका छन्, ‘ट्रकको यात्राले उनी नयाँ राजनीतिक बाटोमा हिँडेका छन्।’

कांग्रेसले उनलाई ‘जनताको नेता’ अर्थात् ‘जननायक’ का रूपमा प्रस्तुत गरिरहेको छ। कर्नाटक चुनावमा कांग्रेसले आफ्नो ट्विटर ह्यान्डलमा राहुल गान्धीलाई ‘जननेता’ भनेर लेखेको थियो।

अहिले राहुल अमेरिका भ्रमणमा छन्। एक साताभन्दा बढीको भ्रमणमा उनले त्यहाँ रहेका भारतीयसँग भेटघाट र अन्तरक्रिया गर्नेछन्। उनीहरूका प्रश्नका जवाफ दिनेछन्। उनले आममानिसप्रति चासो देखाउन थालेपछि भारतसँगै विदेशमा बस्ने भारतीय पनि उनीतिर आकर्षित भइरहेका छन्।

‘विदेशमा बस्ने भारतीयले शिक्षित, अनुभवी र भुइँमान्छेका कुरा गर्ने र सुन्ने राहुल गान्धीलाई मन पराउन थालेका छन्,’ इन्डियन ओभसिज कांग्रेस (आईओसी) सेक्रेटरी वीरेन्द्र वशिष्ठले डीबी लाइभ युट्युब च्यानलमा पत्रकार राजीव श्रीवास्तवसँगको अन्तर्वार्तामा भनेका छन्, ‘भारतीयले राहुललाई माया गर्न थालेका छन्। किनकि उनी मनका होइन, जनका कुरा सुन्छन्।’

वरिष्ठ पत्रकार टन्डनले राहुलको अमेरिका यात्रा भारतका लागि कोसेढुंगा हुनसक्ने बताएका छन्। ‘धार्मिक कट्टरताका कारण केही वर्षयता अमेरिकासामु भारतको छवि बिग्रिएको छ,’ उनी भन्छन्, ‘त्यो छवि सुधार्न आवश्यक छ। भारतको राजनीतिमा गहराइ छ। विविधता छ भन्ने सन्देश राहुलले अमेरिकामा दिइरहेका छन्। त्यसैले उनको यो यात्रा भारतका लागि कोसेढुंगा हुन सक्छ।’

‘तपाईंका लागि राजनीति के हो?’ विद्यार्थीको प्रश्नको जवाफमा राहुलले भनेका छन्, ‘सबैले न्याय पाउनुपर्छ, जुनसुकै धर्म, जात, समुदायको किन नहोस्। दबाइएको, हेपिएको समूहका लागि लड्नु, सहयोग गर्नु मेरा लागि राजनीति हो।’

‘नफरत के बजार में मोहब्बत की दुकान’ अर्थात् ‘घृणाको बजारमा प्रेमको दुकान’ राहुलले हिजोआज हरेक ठाउँमा नबिराई भन्ने वाक्य हो। उनको यो भनाइ चर्चित भएको छ। उनले गर्ने हरेक सम्बोधनमा सहभागीले पनि उनीसँगै दोहोर्‍याउने गरेका छन्, ‘घृणाको बजारमा प्रेमको दुकान।’

सत्तामा आएयता मुस्लिम समुदायप्रति कठोर देखिएको भाजपाले गरिरहेको ‘हिन्दुत्वको राजनीति’मा चल्छ त राहुलको ‘प्रेमको दुकान?’ यस प्रश्नको उत्तर पाउनचाहिँ आगामी  दिनमा हुने चुनाव परिणाम नै कुर्नुपर्नेछ। ‘पछिल्लो समय भएका विभिन्न घटनाका कारण मोदी म्याजिक घट्न थालेको छ,’ पत्रकार टन्डन भन्छन्, ‘धर्मको राजनीति गर्ने भाजपाको गलत नियत भारतीयहरूले बुझिरहेका छन्।’

भारत जोडो यात्राको असर कर्नाटक चुनावमा देखिएको र सन् २०२४को लोकसभा चुनावमा पनि देखिने टन्डनको भनाइ छ। भन्छन्, ‘राहुलको मेहनत र परिपक्वताले आगामी लोकसभा चुनाव साँच्चै नै लोभलाग्दो हुनेछ।’ भारतीय सञ्चारमाध्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =