तीन महिनापछि सात मन्त्रालयसहित सत्तामा फर्किंदै कांग्रेस

हिमाल प्रेस ११ चैत २०७९ २२:१३
102
SHARES
तीन महिनापछि सात मन्त्रालयसहित सत्तामा फर्किंदै कांग्रेस पूर्णबहादुर खड्का। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– नेपाली कांग्रेस सात मन्त्रालय लिएर तीन महिनापछि सत्तामा फर्किने भएको छ। पार्टीले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सबैलाई चित्त बुझाउने गरी सत्तामा पठाउने अनौपचारिक तयारी भएको नेतारहरूले जानकारी दिएका हुन्।

पुस १० सम्म सत्तामा रहेको कांग्रेस त्यति बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नदिँदा प्रतिपक्षीमा पुगेको थियो। तीन महिनापछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वकै सरकारमा कांग्रेस सहभागी हुन लागेको हो।

कांग्रेससँग कुरा नमिलेर नेकपा एमालेसँग सत्ता साझेदारी गर्न पुगेका प्रचण्ड पनि एमालेसँग तीन महिना नटिकी कांग्रेससँग नजिकिन पुगेका छन्। राष्ट्रपति निर्वाचनमा आइपुग्दा प्रचण्डले एमालेसँगको सहकार्यलाई टुटाएका थिए।

खड्काको नेतृत्वमा सरकारमा जाने टुंगो लागे पनि  कुन मन्त्रालय लिने भन्ने निश्चित नभएको नेताहरूले बताएका छन्।  एक नेताका अनुसार अर्थ वा गृह लिएर कांग्रेस सरकारमा दोस्रो वरीयतामा बस्ने तयारी छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरीयतामा खड्का रहनेछन्।

माओवादीले गृहको जिम्मेवारी सम्हाले खड्काले अर्को कुन मन्त्रालय सम्हाल्ने भन्ने  अझै टुंगो लागेको छैन। माओवादीबाट नारायणकाजी श्रेष्ठले अर्थ मन्त्रालय लिएमा कांग्रेसले कुन मन्त्रालय लिने भन्ने निर्णय नगर्दा समस्या भएको हो।

खड्का आफैँले पनि अर्थ मन्त्रालय चलाउन सक्ने सम्भावना छ तर पार्टी सभापति शेरबहादुर देउवा अर्थतन्त्र पढेका र बुझेकालाई अर्थ मन्त्रालय पठाउने चाहनामा छन्।

सत्तामा जानेको नाम टुंगो लागिनसके पनि कांग्रेसभित्र सबै खेमाका नेताहरू मन्त्रिपरिषद्‍मा अटाउने भएका छन्। अब गठन हुने मन्त्रिपरिषद्‍मा नयाँ अनुहारलाई प्राथमिकता दिइनुपर्ने माग रहेको कांग्रेस युवा नेताहरू बताउँछन्।

एमालेसँग माओवादीको गठबन्धन टुटाएर माओवादीसहित कांग्रेससँगको गठबन्धन ब्युँताउने पहल पनि खड्काले नै गरेकाले कांग्रेस नेताहरू उनकै नेतृत्वमा सरकारमा जान सहमत भएका हुन्।

माओवादीसँग सत्ता समीकरण टुटेपछि पुरानै सत्तागठबन्धन ब्युँताउने पहलकदमी खड्काले लिएका थिए। जसकारण राष्ट्रपति पद कांग्रेसको भागमा पर्ने र सत्तामा पुन: कांग्रेस जाने वातावरण बनेको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार खड्काको नेतृत्वमा सरकारमा जाने हो भने मन्त्रिपरिषद्‍का अन्य सबै नयाँ अनुहार हुनुपर्ने पार्टीभित्र माग छ। जसमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, किशोरसिंह राठोर मन्त्री बन्ने दौडमा लागेका छन्।

यद्यपि खड्का सरकारको नेतृत्वसहित सत्तामा जानभन्दा पनि पार्टी भूमिकामा रहन खोजिरहेको उनीनिकट नेताहरूको भनाइ छ। खड्काले गृह मन्त्रालय पाउँदामात्र सरकारमा जाने अडान राखेकाे नेताहरू बताउँछन्।

 छोटो समयका लागि भए पनि  सबैको तर्फबाट सहभागिता हुने गरी सरकारमा जानेको सूची तय हुने खड्कानिकट एक नेताले बताए।

सत्ता गठबन्धनमा रहेका दलहरूबीचको सहमतिअनुसार कांग्रेसले सात मन्त्रालय पाउने भएको छ। यद्यपि कांग्रेसले आठ वटा मन्त्रालयको दाबी गर्दै आएको छ। नेताहरूका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ५  मन्त्रालय लिने लगभग सहमति भइसकेको छ।

एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई दुई/दुई र अन्यलाई एकए मन्त्रालयमा सहमति जुटाउन नेताहरू कसरतमा छन्। मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद् विस्तारको विषय आइतरबार टुंगोमा पुग्ने बालुवाटार निकट स्रोतले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =