गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा

हिमाल प्रेस १० चैत २०७९ १८:३२
6
SHARES
गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा

पोखरा– गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्।

भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष शुक्रबार अपराह्न राजीनामा बुझाएका हुन्।

शुक्रबारै संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र राजीनामा बुझाउने निर्णयसँगै मन्त्री चुमान र जुग्जालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगी राजीनामा बुझाएका हुन्। यो निर्णयसँगै एमाले नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमाले नेतृत्वको गठबन्धन तोडेर कांग्रेससहित १० दलीय गठबन्धन बनाएपछि संघदेखि प्रदेशसम्मको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो। त्यसको बाछिटा गण्डकी प्रदेशमा पनि परेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउन बिहीबार निर्देशन दिएका थिए।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो। दोस्रो एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपा २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश राजीव गुरुङ) सदस्य छन्।

गत २५ पुसमा मुख्यमन्त्री नियुक्त खगराज अधिकारीले ३० पुसमा संसदमा ३१ सदस्यको विश्वासको मत पाएका थिए। उनले नियुक्तको १६ दिनपछि मात्र ७ सदस्यीय मन्त्रालयको पूर्णता दिएका थिए। सरकार टिकाइराख्न बहुमतका लागि ३१ सिट आवश्यक पर्छ। तर त्यो सम्भावना यहाँ छैन।

माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णयसँगै अब गण्डकीमा गठबन्धनका दलहरू माओवादी-कांग्रेसले मिलेर सरकारको नेतृत्व लिने भएका छन्। तीमध्ये कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे वा माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान भावी मुख्यमन्त्री निर्वाचित हुन सक्ने छन्।

प्रकाशित: १० चैत २०७९ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =