भागबन्डा मिलाउन गण्डकीमा ७ मन्त्रालय फुटाएर ९ बनाइयो

हिमाल प्रेस २९ चैत २०८० १३:२४
170
SHARES
भागबन्डा मिलाउन गण्डकीमा ७ मन्त्रालय फुटाएर ९ बनाइयो खगराज अधिकारी

काठमाडौँ- गण्डकी प्रदेश सरकारले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो।

यसअघि अघिल्लाे वर्ष पुस २५ गते मुख्यमन्त्री बन्दा खगराज अधिकारीले नै खर्च कटौती भन्दै १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए। अहिले भागबन्डा मिलाउन उनले फेरि बढाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गराएका हुन्।

गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय भएको जानकारी दिए। सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई फुटाएर अलग्गै मन्त्रालय बनाएको हो।

खगराज यही चैत २५ गते एमाले-माओवादीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको थियो। रिटमाथि बुधबार प्रारम्भीर सुनुवाइ भइसकेको छ। सर्वोच्चले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अधिकारीको नाममा आदेश जारी गरिसकेको छ। खगराज मुख्यमन्त्री हुँदा सभामुखको समेत समर्थन लिएर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। सोहीअनुसार प्रदेश प्रमुखले नियुक्ति दिएपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए।

त्यस्तै गण्डकी सरकारले मुख्यन्यायाधीवक्तामा लम्जुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ।

प्रकाशित: २९ चैत २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =