पहिलो महिला मन्त्री, देश-काल-परिस्थिति

ध्रुवहरि अधिकारी ११ चैत २०७९ ८:३४
174
SHARES
पहिलो महिला मन्त्री, देश-काल-परिस्थिति

स्तरीय अध्ययन र सूक्ष्म अनुसन्धान समाजलाई उपयोगी हुने अनेक ग्रन्थका स्रोत हुने गर्छन्। र, यस्ता हितकारी काम गर्न उच्चशिक्षाका उच्चतम उपाधिका प्रमाणपत्र आवश्यक पनि पर्दैनन्। यस सन्दर्भमा मलाई आदरणीय महेशचन्द्र रेग्मी (वि.सं. १९८६-२०६०) को सम्झना हुन्छ जसको अथक परिश्रमबाट एक दर्जनभन्दा बढी पुस्तक नेपाली वाङ्‌मयले पायो। उहाँले नेपालको आर्थिक इतिहासलाई खोतल्ने र केलाउने काम गर्नुभयो।

रेग्मीको विशिष्ट योगदान झल्काउन यिनै कृति पर्याप्त छन्। काठमाडौंको लाजिम्पाटस्थित् उहाँको अनुसन्धान संस्थाको साप्ताहिक प्रकाशन ‘नेपाल प्रेस डाइजेष्ट’ र रिपोर्टहरूको बेग्लै पाटो छ। ‘र्‍यामोन म्यागासेसे’ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली विद्वान्‌लाई आजका कतिपय अनुसन्धाताले पथप्रदर्शक मान्छन्, मानेका होलान्।

रतन भण्डारीको नूतन कृति ‘द्वारिकादेवी ठकुरानी : नेपालकी पहिलो महिला मन्त्री’ बारेको चर्चामा दुई-चार हरफ लेखौं भनेर थाल्दा महेशचन्द्र रेग्मी र उहाँको सामीप्य पाउँदाका दिन र क्षणहरूको संस्मरण हुन गयो। किनभने प्रसङ्‌ग पहिलो महिला मन्त्रीमा केन्द्रित भए तापनि भण्डारीको पुस्तकको परिवेश फराकिलो छ।

यसमा सिङ्‌गो देशको राजनीति समेटिएको छ- खास गरेर सात सालको ऐतिहासिक परिवर्तनयताको दशकका घटनाक्रमको परिप्रेक्ष्यमा। अनि लामो समय ओझेलमा रहेको सुदूरपश्चिम र त्यहाँबाट राष्ट्रियस्तरमा क्रियाशील रहँदै आएका नर-नारीको योगदानलाई सकेसम्म विस्तारित ढङ्‌गले प्रस्तुत गरिएको छ।

यस क्रममा लेखक भण्डारीले बटुलेका सूचना, जानकारीको भँडार रहरलाग्दो छ। स्रोत खुलाएर दिइएका जानकारीहरू मात्र विश्वसनीय हुन्छन् भन्ने कुरामा लेखकको सजगता प्रशंसनीय स्तरको छ। बरू स्थापित मानिंदै आएका कतिपय स्रोतहरू (खासगरेर दैनिक अखबार,अन्लाइन समाचार) अचेल धमिलिन थालेका छन्। हो, पाठकहरूमा आएको चनाखोपनले गर्दा कसैले तिनलाई चाहेर पनि दिग्भ्रमित भने पारिहाल्न सक्दैनन्।

‘ऐतिहासिक दस्तावेज’

विवेच्य पुस्तक खास मोटो होइन; तर लेखक २३६+ पृष्ठमा राष्ट्रिय दृष्टिकोणबाट नियालिने राजनीति एवं सामाजिक धरातललाई चित्रण गर्न सफल भएको देखिन्छ। नेपाली काँग्रेसबारे सग्लो एक अध्याय छ, २०१५ सालको निर्वाचनलाई केलाउने एक बेग्लै खण्ड छ र त्यस बखतको संविधानको विवेचनाले पनि पर्याप्त ठाउँ पाएको छ। पहिलो जन-निर्वाचित सरकार र २०१७ सालमा भएको त्यसको अवसानका घटनालाई सप्रसङ्‌ग प्रस्तुत गरिएको छ। मन्तव्य खण्डमा पूर्वसचिव कर्णबहादुर चन्दले पुस्तकलाई हलुका हिसाबले ‘ऐतिहासिक दस्तावेज’ मान्नुभएको होइन होला।

त्रुटि,कमजोरी ठानिन सक्ने केही बुँदा पनि पुस्तकमा भेटिन्छन्। जस्तो, ठकुरानीले काँग्रेसको सदस्यता कहिले र कसबाट लिनुभयो भन्ने कुरामा केही बढी मसी खर्च भएको देखिन्छ। हुनसक्छ, लेखकले आफूपछिका अन्वेषकहरू द्विविधामा नपरुन् भनेर लामो व्याख्या आवश्यक ठान्नुभयो।

ठकुरानीको पदचाप पछ्याउँदै नेपालका विशिष्ट नारी हुन पुगेकाहरूको नामावलीको सिरानमा हालै शीतल निवासको जिम्मेवारीबाट अवकाश लिने विद्या भण्डारीको नाम छ। त्यसपछि क्रमशः शैलजा आचार्य, सहाना प्रधान, कमल राणा, ओनसरी घर्ती र लीला श्रेष्ठ सुब्बाको उल्लेख छ। प्रादेशिक संरचनामा पर्ने महिलाहरूको पनि चर्चा छ। राजनीतिबाहिर रहेर देश र समाजका लागि समर्पित महिलाहरूको फेहरिस्त अझ लामो होला, तर यो पुस्तक राजनीतिको सेरोफेरोमा सीमित भएकोले यसमा ती कुराहरूको नपर्नु स्वाभाविक हो।

पुस्तकको केन्द्रविन्दुमा द्वारिकादेवी ठकुरानी (विसं १९७१–२०५९) रहनुभएको हुनाले उहाँको जन्म, बाल्यकाल, विवाह, पारिवारिक जीवन, राजनीतिमा प्रवेश, पहिलो महिला मन्त्री हुने र त्यस हैसियतबाट गरिएका उल्लेख्य कार्यहरूलाई सविस्तार वर्णन गरिएको छ। २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा देशभरिबाट ६ जना महिला उम्मेदवार भए तापनि डडेलधुराकी ठकुरानी मात्र विजयी हुनुभएको थियो।

उहाँ नेपाली काँग्रेसकी प्रतिनिधि, तर अन्य पाँच भने स्वतन्त्र परेछन्। २०१६ साल जेठ १३ गते गठित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको मन्त्रिमण्डलमा उपमन्त्री नियुक्त ठकुरानीलाई स्वास्थ्य र स्वायत्त शासनको जिम्मेवारी दिएको अभिलेखमा भेटिन्छ। कोइरालाले शपथ दिलाएको बखतको तस्बिरले दुबैजनालाई शिष्ट र शालीन व्यक्तित्व देखाउँछ।

राजनीतिक सक्रियता

सुदूर पश्चिमको सन्दर्भमा आउने महिलाको साथसाथै पुरुषहरूको चिनारी र योगदान पनि यस किताबमा पाइन्छ। लेखकले आफ्नो जन्मस्थल बझाङको साथसाथै सुदूर पश्चिमका अन्य जिल्लाका नामचलेका व्यक्तिहरूलाई चर्चायोग्य पात्र बनाउनुभएको छ। ठकुरानीकै जन्मथलो डोटीले नेपाललाई अर्को राजनीतिज्ञ दियो डा. कुँवर इन्द्रजीत सिंह (डा.के आई सिंह) को रूपमा। एकपल्ट प्रधानमन्त्री समेत भएका सिंह नेपालको राजनीतिमा बहुचर्चित नाम हो। जे होस्, लेखकको तारिफयोग्य मेहनतले यस पुस्तकलाई नवपुस्ताका गवेषकहरूको लागि खँदिलो सन्दर्भ-ग्रन्थ बनाएको छ। अनुसूचीमा परेका तस्बिर,स्रोतसूची र अनुक्रमणिकाले किताब झन् गहन बनेको छ।

त्रुटि,कमजोरी ठानिन सक्ने केही बुँदा पनि पुस्तकमा भेटिन्छन्। जस्तो, ठकुरानीले काँग्रेसको सदस्यता कहिले र कसबाट लिनुभयो भन्ने कुरामा केही बढी मसी खर्च भएको देखिन्छ। हुनसक्छ, लेखकले आफूपछिका अन्वेषकहरू द्विविधामा नपरुन् भनेर लामो व्याख्या आवश्यक ठान्नुभयो।

अर्को एक पृष्ठमा, उद्धवदेव भट्ट २०१५ सालमा बैतडीबाट प्रजापरिषद् (घन-कोदालो) को तर्फबाट उम्मेदवार भएको प्रसङ्‌ग छ। चुनावमा काँग्रेसका कृष्णलाल लेखकबाट पराजीत भट्टले पाएको मतसंख्या खुलाइएको छ, तर विजयी उम्मेदवारले कति मत पाए त्यो भने उल्लेख छैन। यो अलिक सुहाएन। एउटा सिङ्‌गै अध्याय छ ‘केशरपुर काण्ड’ शीर्षकमा। प्रहरीको एक अधिकृत सोझै मुछिएको गोलीकाण्डको विषय हो; मीनबहादुर चन्दको ज्यान गएको घटना छ। जनमतसंग्रहमा बहुदल पक्षमा लागेका चन्दसँग थानेदार स.ई.रामबहादुर बस्नेतले वैरभाव राख्दै आएको थियो। विवाद चर्केर काण्ड नै हुन पुगेको रहेछ। तथापि त्यस घटनाले यस पुस्तकका मूल्यवान् १५/१६ पृष्ठ ओगट्नु पर्ने हो वा होइन ? लेखक भण्डारीले अर्को संस्करण प्रकाशित गर्नुअघि पुनर्विचार गर्नु बेश होला।

पढ्दै जाँदा एकाध ठाउँमा हिज्जे र भाषिक प्रचलनमा सुसङ्‌गत नदेखिने कुराहरू पनि फेला पर्दछन्। जस्तो, ठकुरानीले भनेकी ‘छिन्’ लेख्दा उचित हुने ठाउँमा ‘छन्’ भएको छ। (ठकुरानी र अर्की एक महिला गरेर दुई वा दुईभन्दा माथिको समूह जनाउनु परेमा चाहिं ‘छन्’ ठीक हो।) त्यस्तै, ‘चिनियाँ’ को साटो चीनियाँ गरिएको छ। अनि कुनै कुनै पृष्ठमा अङ्‌क र आँकडाको चाप बढी देखिन्छ। आर्थिक विषय पृथक् हो, अघिपछि अङ्‌क कम गरेमा नै पाठकलाई सुविधा हुन्छ। पुछारको पातोमा लेखकको परिचय छ, तस्बिर सहितको। यस सचित्र अंशलाई आवरणपृष्ठकै भित्री रङ्‌गीन पातोमा पार्न पाएको भए झन् राम्रो हुँदो हो।

पुछारमा-

रतन भण्डारीको यसअघिको पुस्तक थियो ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक’ जसको दोस्रो संस्करण (२०७६) यस हरफको लेखकले पनि पढ्न पाएको हो। नक्सा, तस्बिर र प्रामाणिक लेखापढीका प्रतिलिपिहरूको त्यस सँगालोलाई सीमाविद् बुद्धिनारायण श्रेष्ठले “पढ्नै पर्ने सामग्री” भनेर आफ्नो मन्तव्य दिनुभएको देखिन्छ। त्यसअघि, भण्डारीले २०६२ सालमा लेखेको सुस्ता-अतिक्रमणसम्बन्धी पुस्तक पनि श्रेष्ठले पढेकै हुनुपर्छ। उहाँहरू दुबैजना सिमानाबारे जानकार लेखक जसले सर्वसाधारण नेपालीलाई सीमारक्षाबारे सचेत गराउने काम गर्दैआएको वर्षौं भयो।

तर हालैका वर्षमा उहाँहरू बीचको समझदारी केही खज्मजिएको रहेछ। मैले दुबैजनासँग फोन-सम्पर्क गर्दा असमझदारी बढाउने ‘गम्भीर कारण’ केही नभएको बुझियो। खालि एकजनाले प्रयोग गरेका एकाध शब्दावली अर्कोलाई मन नपरेकोसम्म रहेछ।

लिम्पियाधुरा-लिपुलेक-कालापानी भन्ने लामो पदावली नै प्रचलनमा राख्ने अथवा बृहत्तर कालापानीक्षेत्र (ग्रेटर कालापानी) भन्ने,लेख्ने परिपाटी बसाल्ने ? तर नेपाली भू-भाग कतै केही छोड्ने वा लेनदेन गर्ने सोच वा सुझाउ भण्डारी र श्रेष्ठ दुबैको होइन रहेछ। त्यसो हो भने कुनै विश्वासिलो र जानकार व्यक्तिलाई मध्यस्थ राखेर आपसी परामर्शमा पदावली छनोट गरे भैहाल्यो। ठूलो कुरै होइन।

हामी सबै परिचित छौं, दक्षिणतिरै बढी प्रचलित यस उखानसँग : भाइ फुटे,…लुटे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =