अर्थतन्त्र सुधारका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

हिमाल प्रेस ९ चैत २०७९ १८:४२
4
SHARES
अर्थतन्त्र सुधारका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ- नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधार सम्बनधमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योगलगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसँग छलफल गरेको हो।

परिसंघ सचिवालयमा बिहीबार आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरूको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजीक्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए। लगानीयोग्य पूँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तिब्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजीक्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको उनले बताए।

उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सांसद्हरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजीक्षेत्रको लगानी बढाउनुपर्र्ने, ब्याजदर कम गर्नुपर्ने, तरलताको सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

सो अवसरमा संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं नेताहरूलाई अवगत गराइएको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचनाप्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ।

सार्वजनिक निजी साझेदारी मोडलमा औद्योगिक क्षेत्रलगायतका पूर्वाधार अगाडि बढाउनुपर्ने, सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सहुलियतको व्यवस्था गर्नुपर्नेमा परिसंघले जोड दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डिपी अर्यालले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र जनचेतना जगाउनुपर्ने बताए।

प्रकाशित: ९ चैत २०७९ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =