ठूला दलमाथि आरोप लगाउँदै उपराष्ट्रपति चुनावबाट पन्छियो नेमकिपा

हिमाल प्रेस ३ चैत २०७९ १२:०९
4
SHARES
ठूला दलमाथि आरोप लगाउँदै उपराष्ट्रपति चुनावबाट पन्छियो नेमकिपा

काठमाडौँ- मुख्य दलमाथि विभिन्न आरोप लगाउँदै नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने भएको छ। आज बिहान भक्तपुरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी बैठकले उपराष्ट्रपतिका उम्मेदवार दल केन्द्रित भएकाले आफूहरू सहभागी नहुने जनाएको हो।

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी समझदारी, नेपाली सेनालाई भाडाको सिपाही बनाउने गोर्खाली भर्ती खारेजको प्रतिबद्धता नगरेको नेमकिपाले मत नहाल्ने जनाएको हो।

नेमकिपाको विज्ञप्तीमा उपराष्ट्रपतिका उम्मेदवारले नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल भारत सन्धि तथा कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु र जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछीरीलाई ‌वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गर्ने प्रतिबद्धता व्यक्त नगरेकाले उपराष्ट्रपतिमा मत नहाल्ने बताएको छ।

यस्तै भारतले नेपालको ७१ भन्दा बढी भूमि अतिक्रमण गरेकाले त्यसप्रति कुनै उपराष्ट्रपतिका उम्मेदवारको प्रतिबद्धता नआएकाले मत नहाल्ने निर्णय गरेको हो।

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो। निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन्। नेमकिपाले यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि मत हालेको थिएन।

प्रकाशित: ३ चैत २०७९ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =