नेपालको ऋण २० खर्ब ७० अर्बभन्दा बढी

हिमाल प्रेस २७ फागुन २०७९ १९:३३
6
SHARES
नेपालको ऋण २० खर्ब ७० अर्बभन्दा बढी

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ आन्तरिक ऋण तिर्न बाँकी रहेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालू आवको छ महिनामा ५७ अर्ब २४ करोड ऋण थपिएको छ।

गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो। जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो। चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ।

आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोडले घटेको छ। नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ।

अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ। जीडीपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ।

चालू आवको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ। जसमध्ये ३० अर्ब आन्तरिक र १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको छ। यही अवधिमा ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ।

पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

सो अवधिमा आन्तरिक ऋण साँवा १९ अर्ब ५९ करोड २५ लाख रुपैयाँ र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल ३५ अर्ब २५ करोड भुक्तानी भएको छ।

बाह्य ऋणको साँवा आठ अर्ब ७१ करोड र ब्याज एक अर्ब ६५ करोड रुपैयाँ गरी १० अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको छ।

कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ छ। रासस

प्रकाशित: २७ फागुन २०७९ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =