ब्युरो ८१ नेपालको सुझाव : राष्ट्रहितमा ध्यान दिएर सेवा दिन नचुकौँ

हिमाल प्रेस २९ चैत २०८० १:५२
120
SHARES
ब्युरो ८१ नेपालको सुझाव : राष्ट्रहितमा ध्यान दिएर सेवा दिन नचुकौँ

काठमाडौँ- ब्युरो ८१ नेपालले निजामती कर्मचारी मुलुकको स्थायी कर्मचारी भएकाले राष्ट्रहितमा ध्यान दिएर नागरिकलाई सेवा दिन चुक्न नहुनेमा जोड दिएको छ। २०४५ सालमा कूटनीति र प्रशासन सेवामा एकैपटक प्रवेश गरेका ८१ जनाको समूह ब्युरो ८१ हो। यस समूहका अधिकृतहरूले व्यवस्थित रूपमा जमघट र अनुभव आदानप्रदान गर्दै आएका छन्।

ब्युरो ८१ नेपालको १५ औँ वार्षिक साधारणसभा चन्द्रागिरी नगरपालिकाको इन्द्रदह (कालु पाण्डे समाधिस्थल) काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले कर्मचारी प्रशासनको लामो अनुभव भएका पूर्वसचिव, पूर्वराजदूतलगायतका प्रबुद्ध व्यक्तिहरूको जमघटले प्रेरणा मिलेको बताए।

‘तपाईंहरूको ज्ञान, सीप र अनुभवबाट धेरै फाइदा लिन सक्छौँ। कर्मचारी प्रशासन भनेको स्थायी सरकार भएकोले देशलाई सही दिशानिर्देश गर्न अभिभारा तपाईंको रहेको छ,’ गिरीले भने, ‘ब्युरो ८१ नेपालको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अझ प्रभावकारी हुनेछ।’

साधारणसभामा चन्द्रागिरी नगरपालिका-१ का वडाअध्यक्ष हरिश्याम रानामगरले १५औँ वार्षिक साधारणसभाको सफलता शुभकामना दिँदै कर्मचारी प्रशासन‌मा तीन दशक बिताएका व्यक्तिहरूको अनुभव, ज्ञान, सीपले नयाँ पुस्ता लाभान्वित हुने बताए। राजनीति जन सेवा हो भने निजामती देश सेवा भएको रानामगरले बताए।

इन्द्रदह १०० पर्यटकीय गन्तव्यमध्ये एक भएको बताउँदै रानामगरले यसको प्रचारप्रसारमा ब्युरो ८१ नेपालको योगदान अतुलनीय हुने विश्वास व्यक्त गरे। इन्द्रदह पर्यटन विकास समितिका अध्यक्ष हरिद्वार थापाले ब्युरो ८१ नेपालको साधारणसभा इन्द्रदह, कालु पाण्डे समाधिस्थलमा आयोजना गरेकोमा धन्यवाद दिँदै ऐतिहासिक, धार्मिक र सांस्कृति स्थानको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास गरे।

ब्युरो ८१ नेपालका अध्यक्ष यादव खनालको अध्यक्षतामा सम्पन्न साधारणसभामा नयाँ वर्ष २०८१ को क्यालेन्डर प्रकाशन एवं विवरण गरिएको थियो। पर्यटन विकासमा पनि सहयोग हुने भन्दै उनीहरू सहरबाट अलिकति बाहिर निस्केर नै जमघट गर्ने निर्णयमा पुगेका छन्। कतिपय सदस्यहरू पत्निसहित बुधबार नै त्यहाँ पुगेर बसेका थिए। यो राम्रो अभ्यास पनि हो। तर यहाँ त एक बढुवा हुँदा अर्कोले मुद्दा हाल्ने र एककाे सरुवा हुँदा अर्कोले खिन्नता व्यक्त गरेका छन्। नयाँ पुस्तामा यो अभ्यास रहेकाले यसलाई चिर्न परानाहरुको साथसहयाेग लिने जिम्मेवारी राज्यको नै हो।

प्रकाशित: २९ चैत २०८० १:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =