आन्दोलनले त्रसित बैंकिङ क्षेत्र, भयरहीत वातावरण बनाउन सिबिफिनको माग

हिमाल प्रेस २३ फागुन २०७९ १७:१७
4
SHARES
आन्दोलनले त्रसित बैंकिङ क्षेत्र, भयरहीत वातावरण बनाउन सिबिफिनको माग बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध केही दिनअघि काठमाडौँमा गरिएको प्रदर्शन।

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ सेवालाई भयरहीत बनाउन सरकारसँग माग गरेको छ। सिबिफिनले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकिङ सेवालाई भयरहीत भएर काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो।

अहिलेको समस्या बैंकिङ समस्या मात्रै नभएर नेपाल सरकार, उद्यमी, व्यवसायी तथा सर्वसाधारण सबैको समस्या रहेकाले सबै एकजुट भएर समस्या सामाधान गरिनुपर्ने सिबिफिनको भनाइ छ। ‘अनपेक्षितरूपमा भोगिरहेका समस्याको समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै निशाना बनाइएका छ,’ सिबिफिनका सचिव कुशप्रसाद मल्ली हस्ताक्षर गरेको विज्ञप्तिमा उललेख छ।

पछिल्लो समय ब्याजदरको विषयलाई अतिरजित बनाएर ब्याज र साँवा समेत नतिर्ने धम्की बैंकिङ क्षेत्र सम्बद्ध अधिकारीहरूलाई आइरहेको सिबिफिनको भनाइ छ।

‘विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण तथा लुटपाट गर्ने नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।

अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरूले तरलता, ब्याजदर र मुद्रास्फितीलगायत चुनौती भोगिरहने सिबिफिनको भनाइ छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरूले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लंग रहेको सिबिफिनको जिकिर छ।

‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका उच्छृङखल, अव्यावहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरू सधैंका लागि रोक्न कडा निर्देशन जारी गर्न ध्यानाकर्षण गराइन्छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरूलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारबाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।’

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका अवाञ्छित क्रियाकलाप यसरी नै अगाडि बढेमा भविष्यमा राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने भन्दै बेलामै सचेत बन्न सिबिफिनले सरकारलाई आग्रह गरेको छ।

पछिल्लो समय बैंकहरूले ब्याजदरमा जथाभावी गरेको भन्दै केही समूहले बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध आन्दोलन थालेको छ। केही ठाउँमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हातपात समेत गरिएको छ।

प्रकाशित: २३ फागुन २०७९ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =