व्यवस्थाविरोधी  प्रदर्शन : प्रमुख दललाई चुनौती कि पाठ?

रमेश भारती ८ मंसिर २०८० १६:५१
72
SHARES
व्यवस्थाविरोधी  प्रदर्शन : प्रमुख दललाई चुनौती कि पाठ?

काठमाडौँ- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का नाममा मेडिकल व्यवसायीले दुर्गा प्रसाईले मंसिर ७ गते राजधानीनमा प्रदर्शन गरे। प्रसाईले काठमाडौँका तीनकुनेमा शुक्रबार र शनिबार प्रदर्शन गर्ने कार्यक्रम तय गरे पनि प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिईकनै कार्यक्रम गर्न लागेको भन्दै रोक लगाएको हो। यस्तै प्रसाईलाई प्रहरीले उनकै निवास भक्तपुर ठिमीबाट बाहिर निस्कन दिएको छैन।

प्रसाईको आन्दोलनमा हिन्दू राष्ट्र र राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताकार्यकर्ताको पनि उपस्थिति देखिएको छ। तर राप्रपाले औपचारिक रूपमा प्रसाईलाई समर्थन गरेको छैन। मेडिकल व्यवसायी प्रसाईको सांगठनिक कुनै आधार देखिँदैन। प्रसाईले राजतन्त्रको पक्ष र गणतन्त्रको विरोधमा प्रदर्शनमा समर्थकहरूको उल्लेख्य उपस्थितिपछि दलका नेताहरू झस्किएका छन्।

जनतामा दलहरूबाट निकै आशा रहे पनि त्यसलाई पूरा गर्न नसक्दा यस्ता समूहले राजनीतिक व्यवस्था परिवर्तनको आवाज उठाउन थालेकाे दलका नेताहरू बताउँछन्। प्रमुख दलका गतिविधिले जनतामा निराशा मात्रै थपिएकाले त्यसको फाइदा प्रसाईले लिएको उनीहरूको बुझाइ छ।

नेकपा एमालेका सचिव योगेश भट्टराई भन्छन्, ‘अहिलेको अवस्थामा जनतामा निराशा छाएको छ। प्रसाईको समूहले त्यही फाइदा लिएको देखियो। त्यसैले मुख्य राजनीतिक दलले बेलैमा सोच्नुपर्छ।’ यस्तै राजतन्त्र आउने गरी समाजमा भ्रम छर्ने काम भइरहेको उनले बताए। तर यस विषयमा सरकार मौन रहेको आरोप उनको छ। सचिव भट्टराईले भने, ‘अहिले समाजमा राजतन्त्र आउने जसरी भ्रम फैलिरहेको छ। त्यहीअनुसार गतिविधि भइरहे पनि सरकार मौन देखियो।’

प्रमुख राजनीतिक दलले जनताका जल्दाबल्दा समस्यामा छलफल गरी निराशाबाट उन्मुक्ति दिनुपर्ने उनको भनाइ छ।

पछिल्लो समयमा भ्रष्टाचार मौलाउनु, युवाहरू विदेश पलायन हुनु, जनताका दैनिकी थप कष्टकर बन्दै जानु जस्ता कारणले दलहरूमाथि अनेक खालका प्रश्न उठिरहेका छन्। गणतन्त्र आएको १५ वर्ष जनतामा आशाभन्दा आक्रोश र निराशा बढेको छ। २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि मुलुक स्थायित्व र विकासको गतिमा अघि बढ्ने जनताको आशा पूरा गर्न नसक्दा समस्या बल्झिँदै गएको  नेताहरूको स्वीकारोक्ति छ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ प्रसाईका गतिविधिलाई दलहरूले सामान्य रूपमा लिन नहुने बताउँछन्। प्रमुख दल र तिनका शीर्ष नेताहरूका गलत कार्यशैलीका कारण उत्पन्न वितृष्णाले जनतामा आक्रोश, प्रतिशोध र निराशा बढेको उनको भनाइ छ। तामाङले भने, ‘अहिलेको राजनीतिक कारणले राजन्त्रको मुद्दा उठ्दैछ। अब पनि मुख्य राजनीतिक दलले यस्ता विषयलाई सामान्य ठाने ठूलो मूल्य चुकाउनुपर्छ।’

कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएपछि आक्रोश र वितृष्णा पोख्न थालेको  बताउँछन्।  जनताको चाहनाअनुसार विकास नभएका कारण यस्ता समस्या पटकपटक आइरहने उनले बताए। घिमिरेल भने, ‘यस्ता विषयमा सबै राजनीतिक दल बेलैमा सचेत हुनुपर्छ।’

प्रसाईले सहकारी, लघुवित्त र बैंक तथा वित्तीय संस्थाको ऋणको मारमा परेका नागरिकका समस्या उठाउँदै आएका छन्। यस्तै वैदेशिक रोजगारीका समस्याबारे पनि उनले सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित: ८ मंसिर २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =