किसानलाई किवी भण्डारणमा समस्या

हिमाल प्रेस १७ फागुन २०७९ १६:१९
2
SHARE
किसानलाई किवी भण्डारणमा समस्या

डडेल्धुरा- डडेल्धुराका किसानले किवी बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन्। यहाँको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरूपमा किवीखेती गर्न थालिएको छ।

अमरगढी नगरपालिका-१ दहका गणेशबहादुर ऐरले ३० लाख रुपैयाँको लगानीमा १० रोपनीमा किवीखेती गर्दै आएका छन्। वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन्। पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको उनले बताए।

तर उत्पादन भएको किवी भण्डारण गर्न समस्या रहेको यहाँका किसान बताउँछन्। भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन्। जिल्लामा एउटा मात्र शीतभण्डार छ। त्यसमा पनि आलु भण्डारण गरिन्छ।

शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ। डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

डडेल्धुराबाट उत्पादन हुने किवीको बजार खुद्रा मूल्य प्रतिकिलो रू ५ सय रहेको छ। अहिले यहाँ २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए। ‘किवीका उपभोक्ता बढेका छन्’उनले भने, ‘घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरु किसान पनि आकर्षित भएका छन्।’ रासस

प्रकाशित: १७ फागुन २०७९ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =