नेपाली नाटक ‘द कन्फेसन’ दिल्लीमा मञ्चन

हिमाल प्रेस १६ फागुन २०७९ १२:४२
8
SHARES
नेपाली नाटक ‘द कन्फेसन’ दिल्लीमा मञ्चन

काठमाडौँ- जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रेरित नाटक ‘द कन्फेसन’ भारतमा मञ्चन भएको छ। नाटक गत आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा मञ्चन भएको हो।

नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन्।

गरिबलाई केन्द्र राखी शासकमाथि गरेका अनेक प्रश्नको संगालो हो, उपन्यास। त्यसमै आधारित रही सन् २०१३ मा विमल सुवेदीले ‘साविती’ नाटक तयार गरेका थिए।

जगदीश घिमिरेले आफ्नो उपन्यासमाथि नाटक बनेको हेर्न लालसा अभिव्यक्त गरेपछि रोगसँग जुधिरहेका उनै घिमिरेको सम्मानमा यो नाटक तयार भएको थियो। त्यतिबेला एक सो भएर बन्द भएको नाटकलाई निर्देशक विमल सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरूपमा प्रस्तुत गरेका हुन्। भारतमा मात्र यो नाटक चार पटक स्टेज टेकिसकेको छ।

यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। यसको एक वर्षपछि नाटक भारतको जम्मुकश्मिरमा मञ्चन भयो। यही वर्षमात्र दुईपटक मञ्चन भएको नाटक केही दिनअघि आसामको लोर्गी इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन भएको थियो।

अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ। सँगसँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ। तर कथा वाचनका लागि निर्देशक सुवेदीले एक्सरे, नुन, स्लाइन पानी र रगतसहितको सेट बनाएका छन्। जसले संवादको वजनलाई गहिरो गरी दर्शकसँग अन्तरक्रिया गर्छन्।

धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिए। ‘धेरै वर्षअसघ सर्वनाममा नाटक हेरेको थिएँ,’ शर्माले भने, ‘त्यसपछि आज ‘द कन्फेसन’ हेरेँ। नाटकको प्रस्तुति र सन्देश उत्कृष्ट लाग्यो।’

नाटकमार्फत नेपाल-भारतबीच सहकार्य भएकोमा शर्माले खुसी व्यक्त गरे। ‘हरेक कोणबाट यो नाटक सार्थक लागेको छ मलाई,’ उनले भने।

नेसनल स्कुल अफ ड्रामाका पूर्वनिर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरूलाई चुनौती दिएको प्रतिक्रिया दिए। कुनै समय नाटककी मुख्य कलाकार अनुराधा मजुमदारलाई यही विद्यालयमा पढाएका उनले सदा कक्षामा प्रश्न गर्ने अनुराधाले नाटकमार्फत थप सशक्त तरिकाले प्रश्न गरेकोमा उनको प्रशंसा गरे। ‘अनुराधा कक्षामा पनि सदा प्रश्न गर्थिन्,’ उनले भने, ‘तर आज नाटकमार्फत हामीलाई प्रश्नसँगै चुनौती दिएकी छन्। नाटकको विषय एकदमै राम्रो छ। प्रस्तुति झनै सुन्दर।’

यसै गरी नाट्यकर्मी तथा पद्यश्री विजेता रीता गांगुलीले पनि नाटकको तारिफ गरिन्। ‘नाटकका लागि दुई शब्दमात्र भन्छु-वाहवाह,’ उनले भनिन्।

निर्देशक सुवेदीले नाटकलाई प्राप्त प्रतिक्रियासँगै नाटकको माध्यमबाट दुई देशलाई जोड्ने काम पनि भएकाले आफ्ना लागि यो विशेष भएको बताए। सुवेदीले नेसनल स्कुल अफ ड्रामाबाटै पढेका हुन्। ‘जुन स्टेजमा कलाकारको रूपमा यो ठाउँबाट बिदा भएको थिएँ, आज त्यही निर्देशकको रूपमा नाटक लिएर आउन पाउँदा एकदमै खुसी लागेको छ,’ उनले भने। नाटकले आगामी दिनमा सांस्कृतिक रूपमा भारत–नेपाल सम्बन्धलाई दिगो बनाउन थप काम गर्ने बाटो खोलेको उनको भनाइ छ।

नाटकमा अनुराधा मजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथ दिएका थिए। जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन्। चक्र पुलामीले प्राविधिक रूपमा साथ दिएका थिए। नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =