म्यानचेस्टर युनाइटेडमा टेन हाग युगको सुरुवात

हिमाल प्रेस १५ फागुन २०७९ ११:०८
8
SHARES
म्यानचेस्टर युनाइटेडमा टेन हाग युगको सुरुवात फाइनलमा न्युकासल युनाइटेडलाई हराउँदै लिग कप जितेपछि म्यानचेस्टर युनाइटेडका खेलाडी।

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले ६ वर्ष लामो उपाधि खडेरी तोडेको छ। आइतबार राति वेम्ब्लीमा न्युकासल युनाइटेडलाई हराएपछि म्यानचेस्टर युनाइटेड लिग कपको विजेता बन्यो। म्यानचेस्टर युनाइटेडले सन् २०१७ पछि पहिलो पटक कुनै उपाधि जितेको हो।

सन् २०१७ मा म्यानचेस्टर युनाइटेडले जोसे मौउरिन्होको प्रशिक्षणमा लिग कपसँगै युरोपा लिग पनि जितेको थियो। त्यसयता युनाइटेडले कुनै उपाधि जित्न सकेको थिएन।

एरिक टेन हागको प्रशिक्षणमा पहिलो पटक उपाधि जित्दा युनाइटेडका लागि कासिमिरोले ३३ औँ मिनेटमा गोल गरे। अर्को गोल भने युनाइटेडले उपहार पायो। कासिमिरोले युनाइटेडलाई अघि बढाएको ६ मिनेटपछि सेभन बुटमनबाट आत्मघाती गोल भएको थियो। मार्कस रासफोर्डले गरेको प्रहार बुटमनलाई छुँदै न्युकासलको पोस्टभित्र छिर्न पुग्याे।

टेन हागको नेतृत्वमा लिग कप जित्नुलाई सुखद सुरुवात मानिएको छ। ‘पहिलो उपाधि जित्नु थियो। त्यसमा सफल भयौँ। यसले हामीलाई आत्मविश्वास दिएको छ। हामी युनाइटेडलाई पुरानो अवस्थामा फर्काउन चाहन्छौँ। यो उपाधि त्यही अभियानको हिस्सा हो,’ यही सिजन आयाक्सबाट युनाइटेड पुगेका टेन हागले भने।

इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको युनाइटेडले यो सिजन थप तीन उपाधि जित्नसक्छ। एलेक्स फर्गुसनले छाडेपछि लिग जित्न नसकिरहेको युनाइटेड हाल तेस्रो स्थानमा छ। युनाइटेड र शीर्षस्थानको आर्सनलबीच आठ अंकको दूरी भए पनि युनाइटेडले हिम्मत हारेको छैन। लिगमा १४ खेल खेल्न बाँकी रहेकाले सम्भावना अझै बाँकी रहेको युनाइटेड समर्थकको बुझाइ छ।

लिगबाहेक युनाइटेडले अर्को घरेलु प्रतियोगिता एएफए कप पनि जित्न सक्छ। एएफए कपको पाँचौँ चरणमा पुगिसकेको युनाइटेडले त्यहाँ वेस्टह्यामको सामना गर्दैछ। उता युरोपा लिगको अन्तिम १६ मा युनाइटेडको भेट रियल बेटिससँग हुनेछ।

सन् २०१३ मा फर्गुसनले संन्यास लिएपछि युनाइटेड पुरानो लयमा फर्कन नसकिरहेको यथार्थ हो। बारम्बार प्रशिक्षक परिवर्तन गरेको युनाइटेडका लागि टेन हाग फर्गुसनले छाडेपछि नियुक्त गरिएका छैटौँ प्रशिक्षक हुन्। गत सिजन प्रिमियर लिगमा छैटौँ बनेको युनाइटेडलाई पहिलो सिजनमै उपाधि जिताएपछि टेन हागले युनाइटेडमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

रोचक त के छ भने फर्गुसन र टेन हागबीच केही दिनअघि भेटघाट भएको थियो। उनै फर्गुुसन आइतबार राति आफ्नो पूर्वक्लबको खेल हेर्न बेम्ब्ली पुगे।

लिग कप जितेपछि खुसीयाली मनाइरहेको युनाइटेडमाथि यतिबेला प्रश्न पनि छ। त्यो हो, के यसपालि जितेको लिग कपले युनाइटेड भविष्यमा थप सफल बन्छ भन्ने ग्यारेन्टी गर्छ? यसको जवाफ पाउन सजिलो छैन। यद्यपि युनाइटेड यतिबेला आत्मविश्वासले भरिएको छ। यसको मुख्य कारण टेन हाग हुन्।

प्रिमियर लिगको अर्को क्लब लिभरपुल जस्तै बिक्रीमा राखिएको युनाइटेडको भविष्य कता जाला, यकिन छैन। हालसम्म कतारका पूर्वप्रधानमन्त्री र बेलायती अर्बपतिले युनाइटेड खरिदका लागि प्रस्ताव राखेका छन्। पछिल्लो समय के खबर पनि बाहिर आएको छ भने, युनाइटेडको स्वामित्व रहेको ग्लेजर परिवार भित्रै बिक्रीलाई लिएर मतभेद छ। ग्लेजर परिवारका कतिपय सदस्य बिक्रीको विपक्षमा छन्।

सन् २००३ देखि २००५ को बीचमा माल्कोम ग्लेजरले युनाइटेडको स्वामित्व लिएका थिए। सन् २०१४ मा उनको निधन भइसकेको छ। हाल उनका ६ सन्तानका नाममा युनाइटेडको बहुमत सेयर छ। तीमध्ये अब्राम र जोएल युनाइटेड बिक्रीको विपक्षमा रहेको बताइन्छ। क्लबका सह–निर्देशक रहेका उनी लिग कप फाइनल हेर्न इंग्ल्यान्ड पुगेका छन्।

लिग कप फाइनलमा युनाइटेडले सामना गरेको न्युकासलको व्यवस्थापन सन् २०२१ मा मात्रै परिवर्तन भएको थियो। साउदी अरब सरकारको सार्वजनिक कोषले स्वामित्वमा लिएको न्युकासल २४ वर्षपछि घरेलु प्रतियोगिताको फाइनलमा पुगेको हो।

‘प्रदर्शनबाट असन्तुष्ट छैन। हारका बाबजुत खेलाडीको आलोचना गर्ने पक्षमा म छैन। तर युनाइटेडले फ्रिकिक प्रहार गर्दा हाम्रा खेलाडीमा एकग्रताको कमी चाहिँ भएकै हो। नत्र युनाइटेडको पहिलो गोल हुँदैन थियो। यसमा मलाई पछुतो छ,’ न्युकासलका प्रशिक्षक एड्डी हाउले भने।

हाल प्रिमियर लिगको पाँचौँ स्थानमा रहको न्युकासलका समर्थकले आधा वेम्ब्ली कब्जा गरेका थिए। खेल सुरु हुन एक घण्टा बाँकी रहँदै उनीहरूले आफ्ना खेलाडी र प्रशिक्षकमाथि लेखिएको गीत गाउन थाले। तर दुर्भाग्यवश उनीहरूको खुसी धेरै समय टिकेन।

न्युकासल आफ्नो पहिलो रोजाइको गोलरक्षकबिना मैदान उत्रिएको थियो। सन् २०१८ मा लिभरपुल च्याम्पियन्स लिग फाइनलमा पराजित हुँदा आलोचना खेपेका लोरिस करियसले न्युकासलको पोस्ट सम्हालेका थिए। लामो समयपछि मैदान उत्रिएका उनीसँग पर्याप्त आत्मविश्वास छैन कि भन्ने संशय थियो। उसो त उनले युनाइटेडको दोस्रो गोल रोक्नसक्थे कि भन्ने एकथरीको अनुमान छ। तर उनलाई न्युकासलको हारको कारण भने मानिएको छैन।

प्रकाशित: १५ फागुन २०७९ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =