के गर्दैछन् केपी ओली?

हिमाल प्रेस १५ फागुन २०७९ ७:३३
86
SHARES
के गर्दैछन् केपी ओली? नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- पुस १० मा बालकोटको बार्दलीबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हात हल्लाएर अभिवादन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक सहकार्यको सूत्राधारका रूपमा लिइएको थियो।

पाँचदलीय गठबन्धन बनाउने निर्णयसँगै ओली राजनीतिक शक्ति केन्द्रका रूपमा देखिएका थिए। यसबीचमा ओली र प्रचण्डबीच राम्रै सहकार्य हुने लक्षण देखिएको थियो। दुई नेता कहिले बालकोट, कहिले खुमलटार त कहिले बालुवाटारमा सँगै बसेको तस्बिर सार्वजनिक हुँदा बृहत् वाम एकताको लख काट्नेहरू धेरै थिए।

दुई महिनामै उनीहरूबीच फाटो आएपछि हात हल्लाइ र बैठक देखावटी मात्रै रहेछ भन्ने पुष्टि भएको छ। प्रचण्ड र ओली अब फरकफरक कित्तामा उभिइसकेका छन्। उनीहरूका पछिल्ला अभिव्यक्तिले पनि तत्काल सहकार्यको सम्भावना नरहेको संकेत मिल्दछ।

प्रचण्डले फागुन १२ मा राष्ट्रपति निर्वाचन लक्षित ८ दलीय नयाँ गठबन्धन बनाएपछि ओलीसँगको सम्बन्ध औपचारिक रुपमै टुटेको हो। फागुन १३ मा ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।

यता पुस १० को सहमतिअनुसार भन्दै एमालेले पनि उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई उम्मेदवार बनाएको छ। फागुन २५ मा हुने राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनको निहुँमा प्रचण्डले एमालेसहित पाँचदलीय गठबन्धनसँगको सहकार्य एकपक्षीय रूपमा टुंगिएको सन्देश दिएका हुन्।

सत्ता साझेदार दल राप्रपाले त शनिबार सरकारबाट बाहिरिने निर्णय गरेर मन्त्रीहरूलाई राजीनामा दिन लगाइसकेको छ। एमालेले भने राष्ट्रपति चुनावअघिसम्म सरकारबारे कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ। तर प्रधानमन्त्री प्रचण्डले एमाले सरकारबाट बाहिरिनेमा मानसिक रूपमा आफू तयार रहेको बताएका छन्।

विकसित राजनीतिक परिदृश्यसँगै सत्ता साझेदर एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको हो। प्रचण्डले शनिबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूलाई समर्थन गरेको निहुँमा २ महिना अप्ठ्यारो र सकसमा राखेको टिप्पणी गरे।

‘ओलीजीसँगको दुईमहिने सहकार्यमा मैले तीतो मात्र अनुभव गरेको छु,’ प्रचण्डको भनाइ थियो। ओलीले आफूलाई राजनीतिक घेराबन्दीमा राखेको भन्दै प्रचण्डले पछिल्लो गठबन्धनलाई राजनीतिक विद्रोहको नाम अप्रत्यक्ष रूपमा दिएका छन्।

तर राष्ट्रपतिमा सर्वसम्मत भए धेरै राम्रो हुने र त्यसका लागि कोसिस गरिरहेको प्रचण्डको भनाइ छ। आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभामा सम्बोधन गर्दै उनले भने, ‘आठ राजनीतिक दल एक ठाउँमा भयौँ। नेकपा एमालेसँग पनि कुरा भइरहेको छ। २५ गतेसम्म राष्ट्रपतिमा सर्वसम्मतको कोसिस रहन्छ।’

प्रचण्डको आरोपको जवाफ ओलीले सार्वजनिक रुपमै दिएका छन्। सहिद तथा घाइते परिवारको सम्मानमा आयोजित कार्यक्रममा उनले प्रचण्डलाई रूखको पातको संज्ञा दिए। प्रचण्डको पछिल्लो निर्णयले उनको राजनीतिक साख धुलोमा मिसिएको ओलीको दाबी छ।

‘झरेको पात मलमा परिणत हुन्छ। म टुप्पाको पात हुँ भनेर धाक लगाए पनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहन्नँ। तपार्इँहरूले देखिरहनुभएको छ, कसरी हल्लिँदै-हल्लिँदै भुइँतिर झर्याे।’

पुस १० मा दलहरुलाई जोड्न आफूले निकै कसरत गरे पनि नजोडिएको ओलीको भनाइ छ। ‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीका माध्यमबाट जोड्दा हुन्छ कि भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मलम लगाएँ, तर हुँदोरहेनछ। फत्रक्क झर्यो फेरि’, उनले भने। यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ।

एमाले अध्यक्ष ओलीले ८० सिट हुँदाहुँदै पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर प्रचण्डले राजनीतिक घात गरेको आरोप लगाए।

पुस १० को सहमति तोडिएलगत्तै ओली र नेकपा एकीकृत समाजवादीबीचको दुरी भने छोटिने संकेत देखिएको छ। शनिबार ओलीले माधवकुमार नेपाललाई औपचारिक पत्र लेखी राष्ट्रपतिमा आफ्ना उम्मेदवार नेम्बाङलाई मत दिन आग्रह गरेका छन्।

यसअघि पार्टीका रूपमा स्वीकार्नसमेत तयार नरहेका ओलीले औपचारिक पत्र पठाएपछि दुई पार्टीबीच आइसब्रेक भएको छ। एमाले सचिव योगेश भट्टराई भन्छन्, ‘अहिले पहिलेको जस्तो अवस्था छैन। निर्वाचनमार्फत जनताले स्वीकार गरिसकेको जुनसुकै दलसँग राजनीतिक व्यवहार हुन्छ।’

प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ओलीले लगाए पाँच आरोप

ओलीले एकीकृत समाजवादीलाई डेढ वर्षपछि राजनीतिक पार्टीका रूपमा सम्बोधन गरेका हुन्। नेता माधव नेपालले २ भदौ २०७८ मा एमालेबाट औपचारिक रूपमा छुट्टिँदै आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए।

त्यसयता एमालेले नेता नेपाल नेतृत्वको पार्टीलाई राजनीतिक पार्टीका रूपमा स्वीकार गर्नुको साटो सर्वोच्च पुगेर रिट निवेदन दिने र लामो समय सदन अवरुद्ध गरेको थियो। एमालेले नेता नेपाल नेतृत्वको पार्टीलाई पार्टीको हैसियत नदिन माग गर्दै सर्वोच्चमा दिएको निवेदन हालसम्म यथावत् छ।

एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा १० जना सांसद छन्। प्रदेशमा समेत सो पार्टीको उपस्थिति छ। मंसिरमा सम्पन्न आमनिर्वाचनपछि दोस्रो ठूलो दलमा खुम्चिएको एमालेले पछिल्ला दिनमा एकीकृत समाजवादीसँग सहकार्य गर्ने चाहना गरेको छ।

राष्ट्रपतिमा ओलीले नेपालसँग गरेको प्रस्तावप्रति एकीकृत समाजवादीले औपचारिक पत्र वा जवाफ भने पठाइसकेको छैन। तर उसका नेताहरुले यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खुलेको टिप्पणी गरेका छन्।

पार्टी महासचिव डा. बेदुराम भुसालले ओलीको पत्रको कुनै अर्थ र महत्व नरहेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘भोट माग्न पत्र लेख्दैमा सहकार्यको आधार बन्दैन। उम्मेदवार भएपछि भोट माग्नु एउटा कुरा भयो, त्यसरी भोट एमालेले अरू पार्टीसँग पनि मागेको छ। फेरि पत्रमा पुस १० को सहमतिअनुसार भनिएको छ, पुस १० को सहमतिमा हामी कतै जोडिएकै छैनौँ।’

एमाले अध्यक्ष ओलीले वाम एकताको कार्ड घुमाउरो रूपमा फ्याँकेका छन्। विगतमा वाम एकता गरेर पनि जोगाउन नसकेको आरोप खेप्दै आएका अध्यक्ष ओलीले सुवास नेम्बाङलाई राष्ट्रपतिमा निर्वाचित गर्न यसबेला आफैँले वाम एकताको कार्ड फ्याँकेका हुन्।

नेम्बाङ तिनै नेता हुन् जो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगियोस् भन्नेमा थिए। तर नेकपा एकता नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले भंग गरिदिएको थियो।

एमाले योगेश भट्टराई पनि नेपालका सबै वामपन्थी कम्युनिस्टहरूबीच ढिलोचाँडो एकताको विकल्प नरहेको बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनमा देखिएको जनादेश कम्युनिस्टहरूबीच एकताको आवश्यकता हो। वामपन्थी शक्तिहरू नेकपा एमालेमा आबद्ध हुने हो। त्यसबाहेक अर्को बाटो छैन। अब माओवादी पनि बाहिर रहन सक्दैन।’

ओली र प्रचण्डको अविश्वासमा देउवा खेल्दा…

प्रकाशित: १५ फागुन २०७९ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =