प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ओलीले लगाए पाँच आरोप

हिमाल प्रेस १४ फागुन २०७९ १८:३५
156
SHARES
प्रचण्डलाई बिरालोसँग तुलना गर्दै ओलीले लगाए पाँच आरोप फाइल तस्बिर।

काठमाडौँ– सँगै रहँदा ‘चाटचाट’ गर्ने र अलग हुँदा ‘काटकाट’ गर्ने नेपालका राजनीतिक दलका नेताहरूको रोग नै हो। यस्तो प्रवृत्ति कम्युनिस्ट दलमा बढी देखिन्छ। यस्तै चरित्र आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाएका छन्।

एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकोटको बार्दलीमा उभिएर हात हल्लाएको दुई महिना बितेको छ। पुस १० गते सँगै हात हल्लाएर सहकार्य थालनी गरेका नेताहरू अहिले आइपुग्दा तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन्।

अध्यक्ष ओली राजधानीमा आइतबार सहिद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएका योद्धाहरूको सम्मानमा आयोजित कार्यक्रममा प्रचण्डविरुद्ध यसरी नै उत्रिए। ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाएका छन्।

बिरालोसँग तुलना

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई बिरालोसँग तुलना गरेका छन्। ओलीले ठूलो कचौरामा दूध-भात दिएपछि बिरालो छिमेकीको घरमा गएजस्तै प्रचण्ड अन्यत्रै गएको बताए।

आफूले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ नगरीकन प्रचण्डलाई अघि सारेको ओलीको भनाइ थियो। उनले भने, ‘जसको पद नै सर्वोपरि छ। त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो। त्यसकारण ठूलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकहाँ जानु अनौठो होइन।’

प्रचण्डमा शान्तिप्रक्रियामा आएपछि जता जोसँग मिलेर भए पनि सत्तामा रहने प्रवृत्ति रहेको ओलीले आरोप लगाए। उनले भने, ‘दूध र भारत कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ। कसले कचौरामा कति दूधभात दिन्छ। त्यसअनुसार फुत्रुक्क छिमेकीका घरतिर सर्ने।’

त्यस प्रवृत्तिले प्रचण्डको सरकारमा हुने र सरकारको नेतृत्व गर्ने क्रम जारी रहेको उनको भनाइ छ।

हरियो देख्नै नहुने, दाम्लो छिनाल्ने…

अध्यक्ष ओलीले प्रचण्डमा हरियो देख्नै नहुने दाम्लो चुडाँएर जाने खोज्ने प्रवृत्ति रहेको आरोप पनि लगाए।

उनले भने, ‘मैले रोकौँ दिने। गाह्रो त गाह्रो परेको थियो उहाँलाई। दाम्लो छिनालेर जान खोज्ने। झ्याप्पै मुख लगाउन खोज्ने। मलाई थाहा थियो- उहाँ टिक्न सक्नु हुन्न।’

धोकेबाज

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई छक्याएर धोका दिएको आरोप लगाए। उनले प्रधानमन्त्री प्रचण्डले सहिद, घाइते परिवारसमेतलाई धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताए। प्रचण्डले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप ओलीको छ।

उनले भने, ‘दाहालजीको बेग्लै छ। उहाँ बोल्नुहुन्छ भाषा, बेग्लै गर्नुहुन्छ। काम अर्कै। उहाँ हेर्नु देब्रेपटि हुन्छ, निसाना दाहिनेपटि हुन्छ।’ यद्यपि आफूले प्रचण्डको स्वभाव पहिल्यै चिनेको बताए। ओलीले भने, ‘उहाँले मलाई छकाइरहनुभयो।’

प्रचण्डले जनतालाई धोका दिएकाले आफूलाई धोका दिनु अनौठा नभएको ओलीको भनाइ छ। ओलीले भने, ‘सहयोद्धाहरूलाई धोका दिनुभयो। आफूलाई त्यस ठाउँमा पुर्‍याउने योद्धाहरूलाई धोका दिनुभयो। आफूलाई त्यस ठाउँमा पुर्‍याउन जीवन दिने सहिदहरूलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरो भो र?’

हतमा चक्कु लिएर फूल भन्ने!

ओलीले प्रचण्डले हातमा चक्कु लिएर फूल देखाएको आरोप लगाए। ओलीले भने, ‘मलाई भन्नुभयो-फूल लिएर बसेको छु। यो चक्कुजस्तो देख्नुभयो होला तपाइँले। भ्रम हो यो। यो चक्कु होइन, फूल हो भन्नुभयो।’ आफूले फूल नै भनेर पत्याए पनि धोका पाएको ओलीको भनाइ छ।

हिंसाको अभियन्ता

२०५२ सालमा ‘जनयुद्ध’ का नाममा प्रचण्डले हिंसाको अभियान चलाएको ओलीको आरोप छ। ‘म सँगसँगै काम गरिरहेका साथीहरूलाई जेलबाट निकालेर जनयुद्धका नाममा पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नुभयो।’

त्यस क्रममा थुप्रै मानिसको हत्या भएको ओलीले बताए। ‘महिनौँसम्म अपहरण गरेर अत्यन्तै अमानवीय निर्मम ढंगले हत्या गर्ने जस्ता काम भए। जो नेपालका लागि कसैलाई दुख्ला, कसैलाई नदुख्ला। तर नेपाललाई दुख्छ। नेपाली जनतालाई दुख्छ। नेपाल देशलाई दुख्छ।’

ओलीले ‘जनयुद्ध’ कसका विरुद्ध चलाएको थियो भनेर प्रश्न पनि गरे। उनले भने, ‘प्रचण्डले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन? कसका विरुद्ध किन जनयुद्ध चलाउनुभएको थियो?’

परिवारका मान्छे राम्रै ठाउँमा पुगे होलान्!

ओलीले २०६२/६३ को आन्दोलनपछि लामो समय निरन्तर सत्तामा रहेर प्रचण्डले परिवारका मान्छे धनी बनाएको आरोप लगाए। उनले भने, ‘भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान्। भाइभतिजा पनि राम्रै ठाउँमा पुगेका होलान्। छोरी-ज्वाइँ पनि राम्रै ठाउँमा पुगेका होलान्।’ ओलीले प्रश्न गरे, ‘तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनुभएको छ कि छैन? सहिदका परिवार सम्झनु भएको छ कि छैन?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =