ओली र प्रचण्डको अविश्वासमा देउवा खेल्दा…

चन्द्रशेखर अधिकारी १४ फागुन २०७९ २०:०६
158
SHARES
ओली र प्रचण्डको अविश्वासमा देउवा खेल्दा…

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर स्वभाव, एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र कांग्रेस सभापति शेरबहादुर देउवाको भित्री प्रयासले सत्ता समीकरण फेरिएको छ। छोटो अवधिमा सत्तालाई केन्द्रमा बनाएर फेरिएको समीकरण कति दिगो हुन्छ भन्नेचाहिँ अन्योल छ।

पुस १० मा नेकपा माओवादी केन्द्र कांग्रेस गठबन्धन छाडेर एमालेतिर ढल्किएपछि कांग्रेस नेताहरू अत्तालिएका थिए। पाँच दलीय गठबन्धन भत्किएपछि सत्तारोहणका लागि तयार भएका केन्द्र र प्रदेशका नेताहरू निराश हुनु स्वाभाविकै थियो।

त्यस घटनापछि कांग्रेस सभापति शेरबहादुर देउवाको ‘किचेन’ का केही नेताबीच चर्काचर्की भएको चर्चा थियो। यद्यपि उनीहरूबीच के कुरामा विवाद भयो र कसरी टुंगियो? सार्वजनिक भएन।

कांग्रेस नेताहरूले एमालेले आफूहरूलाई झुक्याएको स्वीकार गरेका छन्। त्यसपछि नेतृत्वको निरन्तरको प्रयासले नै सत्ता गठबन्धन भत्काउन सफल भएको कांग्रेस महामन्त्री गगन थापा बताउँछन्।

संसदीय राजनीतिका अनुभवी खेलाडी कांग्रेस सभापति देउवाले पार्टीको भूमिकालाई बिस्तारै लयमा फर्काउन कोसिस गरेको थापाको भनाइ छ।

उनले भने, ‘त्यसको पहिलो प्रयास थियो, भर्खरै ‘धोका’ दिएको माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनु।’ त्यतिबेला कांग्रेस प्रतिपक्षमा बसेन भनेर तीव्र आलोचना भएको थियो।

तर अहिले अवस्था बदलिएको छ। कांग्रेस बिस्तारै सत्ताको बागडोर नजिक पुगेको छ। यसको सुरुवात सुदूरपश्चिम प्रदेशबाट भइसकेको छ। यसो हुनुमा कांग्रेसको भूमिका थियो वा प्रधानमन्त्री प्रचण्डको अस्थिर चरित्र वा विदेशी प्रभाव भन्नेचाहिँ बिस्तारै खुल्दै जाला।

स्पष्टचाहिँ के हो भने तत्कालीन प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादीलाई चुनावपछि प्रधानमन्त्री दिएको भए कांग्रेसले यत्रो रस्साकस्सी गर्नुपर्ने थिएन। साथै सभामुखलगायतका पद पनि एमालेको पोल्टामा जाने थिएन।

कांग्रेस नेताहरूको कसरत

कांग्रेसले सत्ता आफूतिर सोझ्याउन जारी राखेको प्रयास एक दिनअघिसम्म पनि बाहिर ल्याएन। यद्यपि महामन्त्री थापाले एक साताअघि १० वा ११ गते सत्ता गठबन्धन भत्कने घोषणा गरेका थिए। उनको अभिव्यक्तिपछि कतिपयले ‘गगन बोलिरहन्छ केही गर्दैन’ पनि भने। महामन्त्री थापाकै प्रयासमा माओवादीलाई पुनः नयाँ गठबन्धनमा ल्याउने प्रयास सफल भएको कांग्रेस नेताहरूको दाबी छ।

कांग्रेसका एक नेता भन्छन्, ‘जसरी माओवादीबाट कृष्णबहादुर महराको कुरा कांग्रेस सभापति देउवाले सुन्छन्, त्यसैगरी कांग्रेसबाट गगनको कुरा माओवादी अध्यक्ष प्रचण्डले पत्याउँछन्।’  २०७३ सालमा आफू नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएदेखि थापा उनका विश्वास पात्र हुन थालेको ती नेताको बुझाइ छ। उनी भन्छन्, ‘त्यसै बेलादेखिको सूत्रले अहिले काम गरेको हो।’

कांग्रेस नेताहरू माओवादी अध्यक्ष प्रचण्डलाई एमाले गठबन्धनबाट अलग गराउन निकै मिहेनत गर्नुपरेको बताउँछन्।  एक नेता भन्छन्, ‘कांग्रेसले निकै मेहनत गरेर अर्को गठबन्धन तयार गरेको हो।’ उनको बुझाइमा प्रचण्डले एमालेको साथ छाड्नुको मुख्य कारण ओलीसँग भन्दा देउवासँग काम गर्न सजिलो मान्नु हो।

उनी भन्छन्, ‘प्रचण्डले प्रधानमन्त्रीका रूपमा काम गर्न ओलीसँग भन्दा देउवासँग सहज हुने बुझेको हुनुपर्छ।’

धेरैपटक बैठक भएपछि मात्र प्रचण्ड नयाँ गठबन्धनमा आउन मानेको कांग्रेसका ती नेताले बताए। प्रचण्डले आफूले नेपाली कांग्रेसलाई धोका नदिएको तर कांग्रेसले धोका दिएपछि अन्यत्रबाट बहुमत पु¥याउन बाध्य भएको बताउँदै आएका छन्।

नारायणकाजीको मलीन अनुहारको अर्थ

नयाँ गठबन्धनप्रति माओवादी वृत्तमा भने सन्तुष्टि छैन। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका केही नेता सकेसम्म कांग्रेससँग गठबन्धन नबनाउने प्रयासमा थिए।

राष्ट्रपति निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेताको उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठ त्यति खुसी नदेखिनुले पनि यसको संकेत गर्दछ। श्रेष्ठ निकट एक नेता भन्छन्, ‘उपाध्यक्षज्यू असन्तुष्ट भएर नै मलीन देखिनुभएको हो।’

श्रेष्ठलगायतका नेताहरू कम्युनिस्ट एकताका पक्षमा रहेकाले असन्तुष्ट देखिएका हुन्। यही गठबन्धनलाई आधार बनाएर समाजवादी केन्द्र बनाउने र मुलुकका सबै वामपन्थी दललाई एकजुट बनाउने अभियानमा उनीहरू छन्। सत्ता समीकरण परिवर्तन भएपछि त्यही अभियान अवरुद्ध भएको श्रेष्ठलगायतका नेताहरूको बुझाइ छ।

प्रचण्डले दुई महिनामै अनुभव गरेको तितो

प्रचण्ड आफैँले पनि केपी शर्मा ओलीसँग दुई महिनामा निकै तितो र अमिलो भएर काम गर्नुपरेको अभिव्यक्ति दिइसकेका छन्।  उनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय, भ्रम मात्रै पैदा गर्छ। मैले दुई महिनाभित्रै तितो अनुभूति गरेँ।’ कतिपयले यसलाई प्रचण्डको अस्थिर चरित्रका रूपमा व्याख्या गरेका छन्।

ओलीले सरकारमा समेत आफूलाई एउटा शक्तिका रूपमा राख्दा प्रचण्ड सन्तुष्ट थिएनन्। सत्ता सञ्चालनका क्रममा संविधान मिच्ने काम हुन थालेपछि आफूले गठबन्धन तोड्नुपरेकोे प्रचण्डको अभिव्यक्ति छ।
प्रचण्डले शनिबार आयोजित उक्त कार्यक्रममा भने, ‘मैले के महसुस गरेँ भने जुन गठबन्धनमा छु सायद यो संविधान र राष्ट्रको हितमा छैन। यसबारे म अहिले धेरै त भन्न चाहन्नँ।

प्रचण्ड नेतृत्वमा सरकार बनेपछि ओली पटकपटक बालुवाटार पुगेर आफूले भनेअनुसार गर्न दबाब दिने गरेको प्रधानमन्त्री निकट नेताहरू बताउँछन्। त्यसले गर्दा प्रधानमन्त्री आफ्नो योजनाअनुसार अघि बढ्न सकिरहेका थिएनन्।

माओवादीका ती नेताले भने, ‘देउवा ओलीजसरी दिनहुँ बालुवाटार पुग्दैनन्। अरूलाई यो वा त्यो गर भन्ने स्वभाव पनि देउवाको छैन। केही गर्नु छ भने आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् बनाउँदा गर्छन्।’ जानकारहरू चाहिँ ओलीसँग काम गर्दा दाहाल सधैँ पछि पर्ने तर केही राम्रो काम भए जस जति सबै ओलीले लिने हुनाले आफ्नो वर्चस्व राख्न देउवाको छायामा गएको हुन सक्ने आकलन गर्छन्।

ओलीसँग सधैँ मनोबल घटाएर काम गर्नुभन्दा त शेरबहादुरसँग गफिँदै काम गर्न सहज भन्ने विश्वास प्रचण्डको छ। ओलीमा गणतन्त्रप्रतिको भाव खासै नभएकाले पनि काम गर्न असहज हुँदै गएको माओवादी नेताहरू बताउँछन्।

ओलीले प्रचण्डसँगको वार्तामा पटकपटक नामै नसुनेको व्यक्ति राष्ट्रपतिमा प्रस्ताव गरेपछि दाहाल देउवाको खेमामा आएका हुन्।  राजनीतिक विश्लेषक हरि शर्मा भन्छन्, ‘आन्तरिक राजनीतिमा दाहाललाई खड्ग ओलीसँग भन्दा देउवासँग सहज हुनेछ।’

प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा जाने दाबी गरिसकेका छन्। उनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘एमाले अब कतै जान सक्ने स्थिति छैन। प्रतिपक्षमा जान सक्नुहुन्छ उहाँहरू। करिबकरिब जानुभयो।’

भ्रममा कांग्रेस

प्रचण्डलाई प्रधानमन्त्री नमान्दा कांग्रेसले प्रदेशदेखि सबै स्थानमा आफ्नो वर्चस्व गुमाएको थियो। कांग्रेस वृत्तमा अब त्यो सबै फिर्ता हुने आस बढेको देखिएको छ। यसको अभ्यास सुदूरपश्चिम प्रदेशबाट भइसकेको नेताहरूको बुझाइ छ।

लुम्बिनी र गण्डकीमा पनि सरकार धरमराउन थालेपछि कांग्रेस नेताहरू थप उत्साहित भएका हुन्। तर एमाले अध्यक्ष केपी शर्मा ओली पनि राजनीतिका माहिर खेलाडी हुन् भन्नेचाहिँ यति बेला कांग्रेस नेताहरूले भुलेका छन्। देउवा निकटका नेताहरू त अब शक्ति आफ्नै दलमा आयो भनेर ढुक्क हुन थालेका छन्।

प्रचण्डले राष्ट्रपतिमा प्रस्ताव गर्दा देउवा सहमत भएका थिएनन्। पार्टीभित्र पनि देउवालाई राष्ट्रपतिमा लैजाने बहस नचलेको होइन। तर देउवा एकपटक फेरि कार्यकारी तहमा बस्ने चाहनामा रहेको उनी निकट नेताहरू बताउँछन्। त्यसैले त देउवाले अन्तिम समयमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका हुन्। पौडेललाई अघि सार्दा पार्टीभित्र र बाहिर दुवैतिर राम्रो सन्देश गएको बुझाइ देउवा निकट नेताहरूको छ।

देउवाले आफू मातहतका नेतालाई अगाडि बढाउन पाएका छैनन्। कसलाई उत्तराधिकारी बनाउने भन्ने निर्णय पनि उनले गर्न सकेका छैनन्। आफ्नालाई व्यवस्थापन गर्न पनि देउवाले अझै केही समय कार्यकारी भूमिका खोजिरहेको कांग्रेस नेताहरू बताउँछन्।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको राष्ट्रपतिमा जित सुनिश्चित रहेको महामन्त्री थापा बताउँछन्। उनी भन्छन्, ‘सबै रामचन्द्र वनवासी हुँदैनन्। यसपटक उहाँले जित्ने निश्चित छ।’

हिन्दू र हिन्दू इतर विदेशी प्रभावको शंका

कतिपयले राजनीतिक समीकरण परिवर्तन हुनुमा भारतीय प्रभाव पनि हुन सक्ने शंका गरेका छन्। हिन्दुत्वमा विश्वास गर्ने व्यक्ति राष्ट्रपति हुँदा भारतीय संस्थापनसँग स्वार्थ मिल्ने अनुमान उनीहरूको छ।
एक कूटनीतिज्ञ भन्छन्, ‘विदेशीहरूले कम्युनिस्ट राष्ट्र प्रमुखसँग खासै सहज मानेका थिएनन्। त्यही विषय सहज बनाउन पनि कांग्रेसबाट पहल भएको हुन सक्छ।’ राष्ट्र प्रमुखमा कम्युनिस्टभन्दा अन्य दलका नेतालाई उभ्याउनुमा भूराजनीतिको केही गन्ध रहेको ती कूटनीतिज्ञको भनाइ छ।

यसमा ओलीले पनि राम्रै अस्त्र फालेका छन्। पश्चिमाले सहयोग गर्ने आसमा नेम्बाङलाई उठाएको तर्क कतिपयको छ। ती कूटनीतिज्ञ भन्छन्, ‘युरोपेली युनियन होस् वा अन्य लोकतान्त्रिक मुलुकले सकेसम्म आफूले भन्ने मानिसलाई उपयोग गरिरहेको हुन्छ।’

भारतीय परराष्ट्र सचिवले नेपाल भ्रमण गरेपछि सत्ता समीकरणमा परिवर्तनको संकेत देखिएको भन्नेहरू पनि छन्। अर्का एकथरीचाहिँ अमेरिकाबाट लगातार भएको भ्रमणको नतिजाका कारण गठबन्धन भत्किएको भनेर टिप्पणी गर्छन्।

ती कूटनीतिज्ञ भन्छन्, ‘भारतीय परराष्ट्र सचिव विनयमोहान क्वात्राको भ्रमणले त देखिने गरी परिणाम दिएको छ।’ सचिवस्तरीय बैठक भनेर आएका क्वात्राले समकक्षीसँग दुई घण्टा मात्र वार्ता गरेका थिए। उनले बढी समय उच्च नेताहरूसँग भेटवार्तामा बिताएका थिए।

ओलीले विशेष गरी चीन र युरोपको सहयोग लिन खोजेको भन्नेहरू पनि छन्। तर युरोप आफैँ संकटमा छ। युरोप विश्व राजनीतिमा सहज रूपमा आउन सक्ने अवस्थामा छैन।

चीन आउने कुरामा भने दम छ। चिनियाँहरू अहिले जसरी पनि नेपालमा प्रभाव पार्ने कसरतमा छन्। तर यसमा छिमेकी वा विदेशी प्रभाव नदेखिएको पूर्वराजदूत डा. सुरेश चालिसे बताउँछन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय परिवेश एक स्थानमा होला तर यहाँ देखिएको घटनाक्रमचाहिँ माओवादी अध्यक्ष प्रचण्डको अस्थिर चरित्रको कारण हो।’

कम्युनिस्ट राष्ट्र प्रमुख हुँदा डिल गर्न असहज भएको भनेर अन्तर्राष्ट्रिय समुदायले भन्ने कुरा छैन। यसलाई अर्कै पक्षबाट विश्लेषण गर्न सकिने तर्क गर्दै चालिसे भन्छन्, ‘त्यसलाई केलाइरहनुभन्दा पनि दाहालको अस्थिर छविको कारण कांग्रेस फेरि सरकारमा जाने वातावरण बन्दैछ।’

नेम्बाङ नै किन?

प्रचण्डले राष्ट्रपतिका लागि नेम्बाङको नाम मागेका थिए। नेम्बाङ आफैँ प्रचण्डकहाँ पुगेर राष्ट्रपतिको आकांक्षा देखाएका थिए। तर त्यतिबेला ओलीले नेम्बाङको समर्थन नगरेको माओवादी नेताहरू बताउँछन्। अहिले एकाएक नेम्बाङको नाम अघि सारेर बिस्तारै पार्टीको नेतृत्वमा ल्याउने अभ्यास गरेको पनि कतिपयको बुझाइ छ। तर यसबारे एमालेमा छलफल हुन नसकेको नेताहरू बताउँछन्।

एमालेले २५ गतेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरिसकेको छ। यसबीचमा अर्को समीकरण बन्न सक्ने एमाले नेताहरूको विश्वास छ।

राष्ट्रपतिको मनोनयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँ निर्वाचन कार्यालय पुगेका थिए भने एमालेले राष्ट्रपतिमा सघाउन कांग्रेसबाहेक सबै दललाई पत्राचार गर्ने निर्णय गरेको छ।

एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बदलिएको राजनीतिक परिदृश्यलाई सामान्य रुपमा लिन नहुने बताउँछन्। उनी भन्छन्, ‘प्रचण्डका अस्थिर स्वभावको फाइदा कांग्रेसले उठाएको हो। यसअघि कम्युनिस्टले उठाउन पहलकदमी गरेको हो।’

उनी विभिन्न कारण र सत्ता स्वार्थले जोडिएको संयन्त्र भागबन्डा मिलाउन सकेन भने समस्यामा पर्ने बताउँछन्। ज्ञवाली भन्छन्, ‘गठबन्धन नतोडीकन पनि ठूलो दलबाट राष्ट्रप्रमुख र प्रमुख प्रतिपक्ष दिने अनि दुई वर्षपछि कार्यकारी प्रमुख लिँदा सन्तुलित हुन सक्छ भन्ने हाम्रो धारण हो।’

प्रचण्ड सरकारको भविष्य के होला?

राष्ट्रपतिको उम्मेदवारमा आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेललाई अघि सारेपछि राप्रपाका मन्त्रीहरूले राजीनामा दिएका छन्। साथै राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
सरकारमा कांग्रेस आउँदा एमालेले प्रमुख प्रतिपक्षको भूमिकामा रहने छ। यसले तत्काल सरकारलाई खासै असर नगर्ला।

यसका लागि सहकार्यको वातावरण अझ कसिलो बनाउनुपर्ने विश्लेषक शर्मा बताउँछन्। उनी भन्छन्, ‘कांग्रेसलाई काम गर्ने अवसर मिलेको छ। त्यो अवसर मिल्नुको कारण सहकार्य हो। त्यसमा अडिग भएर नमात्तीकन र नआत्तीकन जिम्मेवारी पूरा गर्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =