आठ दलको बैठक : खड्का संयोजकत्वमा कार्यदल गठन

हिमाल प्रेस १४ फागुन २०७९ २२:१४
28
SHARES
आठ दलको बैठक : खड्का संयोजकत्वमा कार्यदल गठन प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलहरुसँगको बैठकमा आइतबार सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ। बैठकले यही फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ। सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गर्ने बैठकको निर्णय छ। आठवटै दलका शीर्षनेताहरूको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्तासाझेदारी लगायतका विषयमा पनि छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव देव गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एस)का नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेत्री एलिजा गौतमलगायत सहभागी थिए।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्तासँगै फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय गरेको छ। शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेस उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदरवार बनाउने निर्णय गरेअनुसार उनको उम्मेदवारी दर्ता भइसकेको छ। रासस

प्रकाशित: १४ फागुन २०७९ २२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =