लामाे समयपछि वर्षा हुँदा इलामका किसान खुसी

हिमाल प्रेस ११ फागुन २०७९ १४:३६
8
SHARES
लामाे समयपछि वर्षा हुँदा इलामका किसान खुसी चिया टिप्दै श्रमिकहरू। फाइल तस्बिर

इलाम- लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन्। असोज पहिलो सातादेखि पानी नपरेपछि चिन्तित बनेका यहाँका किसान बुधबार साँझदेखि पानी परेपछि खुसी भएका हुन्। बुधबार साँझदेखि मध्यरातीसम्म यहाँ पानी परेको थियो। पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेको बताएका छन्। आलु, तोरी तथा तरकारी किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेको बताएका छन्।

किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए। अहिले पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिने अपेक्षा किसानको छ। लामो समयसम्म वर्षा नहुँदा जमीन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन्। अब भने सहजरूपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ छ। पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए। खोला खोल्सामा पानी नहुँदा सिँचाइमा समेत समस्या हुँदै आएको थियो।

अब सिँचाइका लागि खटिनु नपर्ने किसानहरूको भनाइ छ। पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसान पनि उत्साहित भएका छन्। तराईबाट सुख्खा पराल ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने किसानको अपेक्षा छ। सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइनेमा किसान आशावादी छन्। रासस

प्रकाशित: ११ फागुन २०७९ १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =