शीतल निवासमा भण्डारी : ७ वर्ष, ११ ‘विवाद’

हिमाल प्रेस ४ फागुन २०७९ १८:२५
96
SHARES
शीतल निवासमा भण्डारी : ७ वर्ष, ११ ‘विवाद’

काठमाडौँ-  शीतल निवासमा बसेर शक्तिको अभ्यास गर्न खोजेको, आफ्नो पूर्वदलप्रति चलक बनेको, राजसी शैली अनुकरण गरेको, सुविधाभोगी बन्न खोजेको लगायतका आरोपसहित विद्यादेवी भण्डारी यसै महिनाको अन्तिममा राष्ट्रप्रमुखको जिम्मेवारीबाट मुक्त हुँदैछिन्। केही विषयमा राष्ट्रप्रमुखसँग सम्बन्धित कानुनी संयन्त्र फितलो हुँदा उनको आलोचना भयो। यद्यपि त्यस्ता कानुन संशोधनमा उनको भूमिका देखिएन। सेरेमोनियल राष्ट्रपति भण्डारी आफैँले पदीय मर्यादा भुल्दा पनि आलोचित हुनुपरेको छ।

दुई कार्यकाल निरन्तर राष्ट्रपति बनेकी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ। भण्डारीकै पालामा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको दुईदुईवटा निर्वाचन सम्पन्न भए।

उनी पहिलोपटक २०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएकी थिइन्। दोस्रो पटक उनी २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। सात वर्ष चार महिना १८ दिन राष्ट्रप्रमुखको जिम्मेवारीमा रहेकी भण्डारी आधुनिक नेपालको पहिलो महिला राष्ट्रप्रमुख हुन्। त्यति मात्रै होइन उनी दुईदुई कार्यकालसम्म निरन्तर राष्ट्रपति बन्ने भाग्यमानी नेत्री पनि हुन्।

राष्ट्रपति भण्डारीको कार्यकालमा तीन जना नेता दुईदुई पटक प्रधानमन्त्री नियुक्त भए। उनी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए। प्रचण्डपछि प्रधानमन्त्री बनेका देउवाले २०७४ सालको संसदीय चुनाव गराए। जनमतअनुसार केपी शर्मा ओली प्रधानमन्त्री बने। झण्डै दुई तिहाइ नेतृत्वको ओली सरकार विघटनपछि देउवा प्रधानमन्त्री भए। २०७९ मंसिरमा भएको चुनावपछि प्रचण्ड प्रधानमन्त्री बनेका छन्।

राष्ट्रप्रमुखको जिम्मेवारीमा रहँदा भण्डारी विवादमा तानिएका केही घटना :-

१. सवारीमा सुरक्षाकर्मीको ज्यादती

सवारीका क्रममा सडक अवरुद्ध गरिँदा सुरुदेखि नै राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ। गणतन्त्र लागू भएको झन्डै १५ वर्षसम्म राष्ट्र प्रमुखको सवारीसम्बन्धी कानुन बन्न सकेको छैन। त्यसैले अघिपछि सुरक्षाकर्मीका गाडीको लर्को लिएर हिँडेपछि राजसी शैली अपनाएको आरोप भण्डारीमाथि लाग्ने गरेको छ।

सवारीका बेला सुरक्षाकर्मीले बटुवामाथि गर्ने दुर्व्यवहारका कारण उनी आलोचित बनिन्। पछिल्लोपटक २७ माघमा राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि सुरक्षाकर्मीले बल प्रयोग गरे। त्यसपछि राष्ट्रपतिको झन् आलोचना हुन थालेको छ।

२. सुरक्षाकर्मीलाई जुत्ता बोकाएको आरोप

२०७३ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारी छिन्नमस्ता भगवतीको पूजा गर्न सप्तरी पुगेकी थिइन्। मन्दिरमा जाँदा सुरक्षाका लागि खटिएका सैनिकलाई जुत्ता बोकाएको विषयमा उनको आलोचना भएको थियो।

३. सरकारको सिफारिस स्वीकृत र अस्वीकृत

२०७४ सालमा प्रधानमन्त्री थिए शेरबहादुर देउवा। संघीय संसद् र प्रदेशसभा सदस्य निर्वाचन भइसकेपछि तत्कालीन मन्त्रिपरिषद्ले सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत गरिने तीन सदस्यका बारेमा राष्ट्रपति कार्यालयमा पेस गरेको थियो। तर उक्त सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएन। केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भने उनले सिफारिसलाई प्रमाणीकरण गरिदिएकी थिइन्। त्यति बेला भण्डारीको आलोचना भएको थियो।

४. शीतल निवासमा हेलिप्याड बनाउने निर्णय

२०७५ सालमा राष्ट्रपति कार्यालय हातामा हेलिप्याड बनाउने निर्णय भएको थियो। राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेमा सारेर त्यहाँ हेलिप्याड बनाउने सरकारी निर्णयको सर्वत्र विरोध भयो। तर त्यो निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन। यसले पनि राष्ट्रपतिको आलोचना भएको थियो।

५. विन्ध्यवासिनी मन्दिरमा लिफ्ट उद्घाटन

राष्ट्रपति भण्डारीले २०७५ सालमा पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा निर्मित लिफ्टको उद्घाटन गरेकी थिइन्। राष्ट्रप्रमुख जस्तो व्यक्तित्वले सामान्य खाले कार्यक्रममा सहभागिता जनाएको भन्दै उनको आलोचना भएको थियो।

६. कतार भ्रमण

राष्ट्रपति भण्डारीले २०७५ कात्तिक १२ गतेदेखि १५ गतेसम्म चार दिने कतार भ्रमण गरेकी थिइन्। त्यति बेला विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएका थिए। दोस्रो पटक राष्ट्रपति बनेपछि पहिलो विदेश भ्रमणमा निस्किएकी भण्डारीले कूटनीतिक परिपक्वता देखाउन नसकेको भन्दै आलोचना भएको थियो।

७. दसैँको टीकामा घुँडा टेकाएको तस्बिर

२०७५ सालको दसैँमा राष्ट्रपति भण्डारी टीकाका कारण आलोचित बन्न पुगेकी थिइन्। केही बहालवाला र पूर्वविशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टीका लगाउँदा उनको अगाडि घुँडा टेकेका थिए। त्यसरी टीका लगाएको तस्बिर सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो।

८. हेलिकप्ट र गाडी खरिद

सरकारले २०७५ सालमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गर्ने निर्णय थियो। मन्त्रपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेपछि राष्ट्रपति भण्डारीमाथि सुविधाभोगी बन्न खोजेको आरोप लागेको थियो। त्यसअघि राष्ट्रपतिका लागि १४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णय भएको थियो।

९. पार्टी विवाद मिलाउने प्रयास

२०७५ मा केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको केही महिनापछि नेकपाभित्र विवाद बढ्न थाल्यो। विवाद बढ्दै जाँदा राष्ट्रपति भण्डारीले नेताहरूलाई शीतल निवासमै डाकेर भेट गर्ने गर्थिन्। २०७७ असारमा नेकपाका तत्कालीन नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई राष्ट्रपति कार्यालयमै भेटेकी थिइन्। राष्ट्रप्रमुख नै पार्टी विवाद साम्य पार्न सक्रिय रहेको भन्दै उनको आलोचना भएको थियो। यद्यपि भण्डारीको प्रयासले नेकपा एक हुन सकेन।

१०. संसद्‌ विघटन सदर

पार्टीभित्रको विवाद समाधान गर्न नसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटनका लागि सिफारिस गरेका थिए। ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको घोषणा गर्न गरेको सिफारिस सदर गरिदिएपछि भण्डारीको आलोचना भएको थियो। त्यस्तै ओलीले दोस्रो पटक २०७८ जेठ ८ गते मध्यरातमा संसद् विघटन गरे। राष्ट्रपति भण्डारीले त्यसको एक घण्टाभित्रै त्यसलाई सदर गरेपछि धेरैतिरबाट आलोचना भएको थियो।

११. नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

२०७९ असोजमा संसद्‌बाट दोहोर्‍याएर पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारी विवादमा तानिएकी थिइन्। संवैधानिक समय सीमाभित्र विधेयकबारे कुनै निर्णय नगरी राष्ट्रपतिले नयाँ कानुन बन्ने बाटो तत्कालका लागि रोकिदिएकी छन्। त्यसलाई लिएर नेपाली कांग्रेसका नेताकार्यकर्तादेखि कतिपय नागरिक समाजका व्यक्तिले पनि उनको आलोचना गरे। त्यस क्रममा उनको राजीनामासमेत माग गरियो।

२०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिएकी भण्डारीको राजनीतिक जीवनको थालनी नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताका रूपमा भएको थियो। राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष र वातावरण तथा जनसंख्या र रक्षा मन्त्रालयको पनि नेतृत्व सम्हालेकी थिइन्।

विद्या भण्डारीले राजनीतिक उचाइ प्राप्त गर्न थालेको चाहिँ २०५० सालमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएपछि हो।

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका, मतदान काठमाडौँमै

राष्ट्रपति भण्डारीको सातवर्षे अनुभव र सुझाव [पूर्ण पाठसहित]

राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै चिकित्सक सिंहमाथि लाठी चार्ज

यस्ता छन् राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =