एर्लिङ हालान्ड
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष २ मा उक्लिएको छ। गएराति ओल्ड ट्राफोर्डमा भएको म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई १–० गोल अन्तरले हराएको छ। जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।
सिटी २३औँ मिनेटमै १० खेलाडीमा खुम्चिएको थियो। सिटीका मिडफिल्डर फिल फोडेनले सिधै रातो कार्ड पाएपछि करिब ७० मिनेट १० खेलाडीमा खेलेको थियो।
यद्यपी युनाइटेडले दबाब भने दिन सकेन। खेलको ६०औँ मिनेटमा हालान्डको गोलमा सिटीले अग्रता बनाएको थियो। हालान्डलाई सुरुमा अफसाइड दिइएपछि भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) को लामो जाँचपछि उनलाई अनसाइड नै दिइयो।
जितसँगै सिटीले ४ खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ। ४ खेलबाट ४ अंक बटुलेको युनाइटेड १३औँ स्थानमा छ।


