सरकारी अस्पताल भवन एउटै मोडेलमा बनाउँछौं : मुख्यमन्त्री यादव

हिमाल प्रेस २९ माघ २०७९ १९:१३
8
SHARES
सरकारी अस्पताल भवन एउटै मोडेलमा बनाउँछौं : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य सेवामा सुधारलाई आफू नेतृत्वको सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सामाजिक विकास मन्त्रालयले आइतबार प्रदेश राजधानी जनकपुरधाममा आयोजना गरेको समीक्षात्मक कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादव यस्तो बताएका हुन्।

मधेस प्रदेशको विकासका लागि स्वास्थ्य सेवा सुधारतर्फ विशेष ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ। यसअघिको सरकार सामाजिक विकास मन्त्रालयकै कारण बदनामी खेपेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारले सो बदनामीलाई मेट्ने जिकिर गरे।

‘यसअघि सरकारको कार्यकाल सामाजिक विकास मन्त्रालयकै कारण बदनाम भयो,’ उनले भने,’‘हामीले पनि सुन्यौँ, जनताको पनि यही गुनासो थियो अब त्यस्तो हुन दिन्नौँ।’

यहाँका जनताले सरकारी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको गुनासो आफूले सुनेको भन्दै उनले अब त्यस्तो समस्या नरहने बताए। ‘सरकारी अस्पतालहरूले दिने स्वास्थ्य सेवामा सुधार ल्याउनु नै हाम्रो पहिलो प्राथमिकता रहने छ,’ उनले भने।

प्रदेश सरकारमातहतका अस्पतालहरूको भवन एकै मोडेलको बनाइने, अपुग सामग्री पूर्तिका लागि बजेटमै व्यवस्था गरिने उनको भनाइ छ। उनले सेवाग्राहीलाई अनावश्यक दु:ख दिने निजी अस्पतालहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

स्वास्थ्य सेवाको विस्तार गर्न ५ वर्षभित्र प्रादेशिक अस्पतालहरूको संख्या ६ बाट २० पुर्‍याउने आफ्नो सरकारको योजना रहेको उनले जानकारी दिए।

यसअघिका सरकारले स्थानीय तहहरूमा पठाएका स्वस्थ्यकर्मीहरूको तलब सुविधा स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री यादवले बताए। ‘यसले प्रदेश सरकारको आर्थिक बोझलाई केही हदसम्म कम गर्छ,’ उनले भने।

कार्यक्रममा सामाजिक विकासमन्त्री सुरिता साह, अर्थमन्त्री संजय यादव र सरकारी कर्मचारीहरू उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =