इंग्लिस प्रिमियर लिग : सम्हालिन चाहन्छ आर्सनल, डर्बी परीक्षामा लिभरपुल

हिमाल प्रेस २७ माघ २०७९ ११:४५
4
SHARES
इंग्लिस प्रिमियर लिग : सम्हालिन चाहन्छ आर्सनल, डर्बी परीक्षामा लिभरपुल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्ष दुईमा रहेका आर्सनल र म्यानचेस्टर सिटी यसपालि जित लयमा फर्कने प्रयासमा रहँदा योर्गन क्पलको ध्यान लिभरपुलको समस्या समाधानमा हुनेछ। संघर्षरत अर्को ठूलो क्लब चेल्सीले लन्डन डर्बीमा वेस्पटह्यामको सामना गर्नेछ। उता म्यानचेस्टर युनाइटेड भने फेरि एकपल्ट लिड्स युनाइटेडसँग प्रतिस्पर्धामा उत्रदैछ। यी दुई टिम पाँच दिनभित्र दोस्रो पटक भिड्न लागेका हुन्।

सम्हालिन चाहन्छ आर्सनल
गएको साता गुडिसन पार्क पुग्दा आर्सनललाई सम्भावित विजयी मानिएको थियो। जित दर्ता गर्दै सिटीसँगको अग्रता बढाउने अवसर आर्सनलसामु थियो। तर नयाँ प्रशिक्षक सन डाइचको प्रशिक्षणमा पहिलो खेल खेल्दै गरेको एभरटनले आर्सनललाई स्तब्ध बनायो। आर्सनलका लागि त्यो हार जारी सिजनको दोस्रो हार थियो।

मिकेल आर्टेटाको नेतृत्वमा रहेका आर्सनल १९ वर्षपछि प्रिमियर लिग उपाधि इमिरेट्स फर्काउने अभियानमा छ। लिगका सुरुवाती पाँच खेल जिते पनि आर्सनल उपाधि दौडमा सामेल हुननसक्ने धेरैको अनुमान थियो। सुरुवातमा जस्तै खेल जित्दै गए पनि आर्सनलमाथिको प्रश्न हटेको थिएन।

तर टोटनहम र युनाइटेडमाथिको जितले आर्सनलको क्षमता देखिइसकेको छ। बीचमा व्यहोरेको हारले आर्सनललाई धक्का लागेको भए पनि ब्रेन्टफोर्डलाई पन्छाउँदै आर्सनल आफ्ना आलोचकलाई शान्त बनाउन चाहन्छ।

उसो त ब्रेन्टफोर्डसँगको खेल आर्सनलका लागि सजिलो हुनेछैन। किनभने ब्रेन्टफोर्डले यो सिजन गत सिजनका शीर्ष दुई टिम सिटी र लिभरपुललाई पराजित गरिसकेको छ। आगामी साता हुने सिटीविरुद्धको खेल पनि आर्सनलका लागि कठिन हुनेछ। यसको कारण विगतका नतिजा हुन्। पछिल्लो १० भेटमा आर्सनलले सिटीमाथि विजय प्राप्त गर्न सकेको छै्रन।

लिभरपुलसामु डर्बी परीक्षा
प्रिमियर लिगमा लिभरपुलका पछिल्ला चार विपक्षी ब्रेन्टफोर्ड, ब्राइटन, चेल्सी र उल्भरह्याम्पटन थिए। चेल्सीबाहेक सबैसँग पराजित भयो, लिभरपुल। त्यो पनि प्रत्येक खेलमा तीन–तीन गोल खाएर। तुलनात्मक रुपमा कमजोर टिमसँग हारिरहेपछि लिभरपुल हाल १० औँ स्थानमा छ।

गत सिजन लिग उपविजेता बनेकाे लिभरपुललाई अहिलेको स्थितिबाट बाहिर ल्याउन योर्गन क्लप प्रयासरत छन्। उनको प्रयासको हिस्सा हुनेछ एभरटनसँगको खेल। तर यही बेला एभरटन तात्तिएको छ। कारण, आर्सनलमाथिको जित।

सोमबार राति एनफिल्डमा हुने ‘मर्सिसाइड’ डर्बी एभरटन प्रशिक्षक डाइचका लागि पहिलो ‘अवे’ खेल मात्र होइन पहिलो डर्बी नै हुनेछ। एनफिल्डमा एभरटन सन् २०२१ मा विजयी भएको थियो। जुन एभरटनले सहरी प्रतिद्वन्द्वीमाथि २० वर्षमा हासिल गरेको पहिलो जित थियो। डाइच त्यही सफलता फर्काउने कोसिसमा हुनेछन्।

हुनसक्छ त्यस्तो सफलता हासिल गर्न डाइचका लागि यो सही समय हो। किनभने लिभरपुलमा हाल आत्मविश्वासको खडेरी देखिएको छ। कुनैबेला ‘मेन्टालिटी मोन्सटर्स (बलियो मानसिकता भएको टिम)’ मानिने लिभरपुल यतिबेला हरेक पक्षमा कमजोर देखिन्छ।

जाओ फिलिक्सको भरमा चेल्सी
शनिबार साँझ चेल्सी लन्डनकै अर्को क्लब वेस्टह्यामसँग भिड्दैछ। यो खेलमार्फत जाओ फिलिक्सले चेल्सीको टिममा पुनरागमन गर्दैछन्। एट्लेटिको म्यड्रिडबाट गत महिना चेल्सी पुगेका फिलिक्सले डेब्यु खेलमै रातो कार्ड पाएका थिए। जसकारण उनी तीन खेलका लागि मैदानबाहिर रहे।

उनले मैदान छाडेको खेलमा चेल्सी २–१ ले पराजित भएको थियो। फुलहमसँगको त्यो पराजयपछि चेल्सीले त्यसपछिका तीनमध्ये दुई खेलमा बराबरी गरेको छ। जसमा फुलहमसँगको दोस्रो भेट पनि सम्मिलित छ।

गत महिना आठ नयाँ खेलाडी अनुबन्ध गरेको चेल्सीले १७ औँ स्थानको वेस्टह्यामविरुद्ध आफ्ना सबैजसो स्टारलाई मैदान उतार्नेछ। मिखाइलो मुड्रिक, इन्जो फर्नान्डेज जस्ता महँगा खेलाडी ग्राहम पोर्टरको पहिलो एघारमा सुरक्षित रहेका खेलाडी हुन्। यी दुईसँगै फिलिक्सको काँधमा आएको जिम्मेवारी हो, चेल्सीलाई शीर्षचारतिर अघि बढाउने।

प्रिमियर लिगमा यो साताः

शनिबार
वेस्टह्याम युनाइटेडविरुद्ध चेल्सी, ६ः१५ बजे
आर्सनलविरुद्ध ब्रेन्टफोर्ड, ८ः४५ बजे
क्रिस्टल प्यालेसविरुद्ध ब्राइटन, ८ः४५ बजे
फुलहमविरुद्ध नटिङहम फरेस्ट, ८ः४५ बजे
लेस्टरसिटीविरुद्ध टोटनहम, ८ः४५ बजे
साउथह्याम्पटनविरुद्ध उल्भरह्याम्पटन, ८ः४५ बजे
बर्नमाउथविरुद्ध न्युसकासल युनाइटेड, ११ः१५ बजे

आइतबार
लिड्स युनाइटेडविरुद्ध म्यानचेस्टर युनाइटेड, ७ः४५ बजे
म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला, १०ः१५ बजे

सोमबार राति
लिभरपुलविरुद्ध एभरटन, १ः४५ बजे

प्रकाशित: २७ माघ २०७९ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =