राष्ट्रपतिले ३ बजे संसद्‌मा सम्बोधन गर्ने, त्यसपछि सांसदलाई चियापान गराउने

हिमाल प्रेस २७ माघ २०७९ ७:०४
6
SHARES
राष्ट्रपतिले ३ बजे संसद्‌मा सम्बोधन गर्ने, त्यसपछि सांसदलाई चियापान गराउने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ। आज अपराह्न ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।

यस्तै राष्ट्रपति भण्डारीले भोलि अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानको आयोजना गरेकी छन्।

प्रकाशित: २७ माघ २०७९ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =