मदन भण्डारीलाई सम्झिँदा भावुक बनिन् विद्यादेवी

हिमाल प्रेस १० वैशाख २०८१ १४:४९
20
SHARES
मदन भण्डारीलाई सम्झिँदा भावुक बनिन् विद्यादेवी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी छन्।

सोमबार एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पति मदनको सवारी दुर्घटनामा निधन भएपछि उनका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी हुन्।

‘एमाले महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा कार दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्रा सुरु भएको हो। मदनका अधुरा सपना पूरा गर्न राजनीतिमा सक्रिय भएकी हुँ,’ उनले भनिन्।

उनले कम्युनिस्ट फुटको समीक्षा नगरे भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुने बताइन्। ‘नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षा गरिनुपर्छ भन्ने मलाई लागेको छ। सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टी किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नुपर्‍यो,’ उनले भनिन्,’नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ।’

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका सबै राजनीतिक दलले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भन्ने बेला–बेलामा समीक्षा गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई सम्झने क्रममा उनी भावुक बनिन्। ‘एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,’ उनले भनिन्।

प्रकाशित: १० वैशाख २०८१ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =