१९ दिन मन्त्रालयमा बस्दा के गरे शिक्षामन्त्रीले?

हिमाल प्रेस २३ माघ २०७९ १६:१४
298
SHARES
१९ दिन मन्त्रालयमा बस्दा के गरे शिक्षामन्त्रीले?

काठमाडौँ– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सरकारमा सहभागी भएको १९ दिनमा शिक्षाका मुलभूत समस्या समाधानमा केन्द्रित भएको दाबी गरेका छन्।

मन्त्रालयको भागबन्डामा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको शिक्षा मन्त्रालयको नेतृत्वदायी जिम्मेवारी सम्हालेका खनालले १९ दिनमा पाठ्यपुस्तकका समस्या, विदेश अध्ययन अनुमति पत्र(एनओसी)का लागि विद्यार्थीले भोग्नुपरेका समस्या, त्रिभुवन विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्नेलगायतका विषयमा काम गरेको बताए।

‘म शिक्षा मन्त्रालयको जिम्मेवारीमा त्यति लामो समय बसिनँ। तै पनि मैले शिक्षाका सरोकारवालासँग शैक्षिक समस्या समाधान गर्ने विषयमा छलफल गरेको छु। नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव हुन नदिन सरकारी स्तरबाटै कागज खरिद गर्ने निर्णय गरेको छु। नो अव्जेक्सन लेटर विद्यार्थीलाई सहज रूपमा उपलब्ध गराउने खाका तयार गरेका छौँ,’ हिमाल प्रेससँग कुरा गर्दै उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक क्यालेन्डरअनुसार परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने विषयमा छलफल गर्ने काम भएको तर यस विषयमा काम गर्न थप समय आवश्यक पर्ने बताए।

‘कक्षा १२ को परीक्षापछि तीनवटा परीक्षाको विषयमा नितीगत काम गर्ने, शिक्षा ऐनलाई प्रक्रियागत रूपमा अघि बढाउने तयारी भइरहँदा मैले पदबाट राजीनामा दिनुपर्ने परिस्थति बन्न पुग्यो। अब यस मन्त्रालय सम्हाल्न आउनुहुने नयाँ मन्त्रीले मेरो कार्यकालमा भएका कामहरूलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

निवर्तमान मन्त्री खनालले आफूलाई मन्त्रालयको अनुभव नयाँ भए पनि केही गर्न खोज्दा पनि धेरै व्यक्तिसँग भेट्नुपर्ने र समस्या सुन्दा सुन्दै समय गएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय भने नेतृत्वविहीन बनेको छ। सरकारबाट रास्वपा बाहिरिने निर्णय गरेसँगै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री खनालले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाइसकेका छन्।

मन्त्रालयको भागबन्डामा गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार पाएको शिक्षा मन्त्रालयको जिम्मेवारीबाट खनालले पदसम्हालेको १९ दिनमै राजीनामा दिए पनि आवश्यक पर्दा शिक्षा सुधारमा मुद्दामा आफूले समन्वय गर्दै अघि बढ्ने स्पष्ट पारेका छन्।

खनालले माघ ३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए।

प्रकाशित: २३ माघ २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =