घरमा काम नभएमात्र स्कुल जान्छन् केटाकेटी

हिमाल प्रेस १८ माघ २०७९ १८:३६
112
SHARES
घरमा काम नभएमात्र स्कुल जान्छन् केटाकेटी प्रतिनिधिमूलक तस्बिर। तस्बिर स्रोत : युनिसेफ नेपाल

काठमाडौँ- विराटनगर महानगरभित्रका विद्यार्थीलाई नै कामधन्दा सकेर विद्यालय जानुपर्ने बाध्यता छ। छात्रा मात्र अध्ययन गर्ने आदर्श बालिका विद्यालयका छात्राहरू घरको काम नभएको दिनमात्र विद्यालय जाने गरेका छन्।

विद्यालयमा विद्यार्थीले पढाइसँगै घरको काम गर्नुपर्ने भएकाले विद्यालयको गृहकार्य पनि गर्न नसक्ने गुनासो गर्ने गरेका छन्।

पिंकी राजवंशी आदर्श माविको कक्षा ७ मा अध्ययनरत छात्रा हुन्। १३ वर्षीय उनलाई विद्यालय आउनुअघि र विद्यालयबाट घर पुगेपछि कामको नै चटारोले सताउने गरेको छ।

विराटनगर-८ को अशोकचोक बस्ने राजवंशीको घरमा हजुरबुबा, हजुरआमा, बुबा, आमा र ६ वर्षको भाइ पनि छ। राजवंशीको बुबा रमेश राजवंशी र आमा सन्तोषी राजवंशी कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलमा काम गर्छन्।

राजवंशीका बुबाआमा बिहानै काममा जाने र अबेर राति घर फकर्ने भए पनि पिंकीले सबै घरको काम गर्दै आएकी छिन्। बिहान उठेर घरआँगन बढार्ने, लिपपोत गर्ने, पूजा गर्ने, चिया खाजा बनाउने, भाइको हेरचाह गर्ने र भात पकाएर हजुरबुबा हजुरआमालाई खुवाएर राजवंशी विद्यालय जाने गर्छिन्।

विद्यालयबाट फर्केपछि पनि भात पकाएर बुबाआमालाई उनले पर्खने गरेको बताउछिन्। सुत्ने बेलामा विद्यालयको गृहकार्य गर्नुपर्ने बाध्यता छ। उनले दाउरामा भात पकाउने गरेको र चिसो दाउरा नबलेर भात ढिलो पाक्दा विद्यालय छुट्ने गरेको गुनासो गरिन्।

उनी जस्तै कक्षा ८ मा अध्ययरत १४ वर्षीया निर्विषा दुलालको व्यथा पनि उस्तै छ।  उनको आमा नभएकाले ठूलो बुबाको घरमा बस्दै आएकी छिन्। उनी घरको कामधन्दा सकेर विद्यालय जाने गरेकी छिन्। घरमा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने सबै काम उनले गर्दै आएकी छिन्।

उनी कामबाट फुर्सदको समयमा मात्र विद्यालय जाने गरेकी छिन्। विद्यालयमा ३२५ जना बालिका अध्ययनरत छन्।आदर्श माविमा अध्ययनरत बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाह जस्ता घटना हुने गरेको छ।

विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका अध्ययनरत छन्। घरको कामधन्दा सकेर विद्यालय आउनुपर्ने भएकाले दैनिक २० देखि २५ बालिका कक्षामा अनुपस्थित हुने गरेको विद्यालयका प्रधानाध्यापक रमेश नेपालले बताए।

उनले भने, ‘आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक छन्। सबेरै उठेर काममा अभिभावक हिँड्नुपर्ने भएकाले कलिलो उमेरमा नै बालिकाले घरको कामधन्दा सम्हाल्नुपर्ने अवस्था छ।’

यस्तै विराटनगर-४ स्थित बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले भर्ना भएपछि पनि बालबालिका विद्यालयमा नियमित हुन नसकेको बताए। उनले भने, ‘अनुपस्थित हुनेमा बालकभन्दा धेरै बालिका छन्। गरिबी, सचेतना अभावका कारण अभिभावकले पनि आफ्ना सन्तानलाई काममा लगाउँदै आएका छन्।’

विराटनगर-२ स्थित शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा पोखरेलले विद्यार्थीलाई विद्यालयमा नियमित गराउनु भनेको फलामको च्युरा चपाए झैँ रहेको बताए। उनले भने, ‘विद्यालयमा अध्ययन गर्ने कतिपय बालबालिका महिनौँसम्म विद्यालयमा अनुपस्थित हुन्छन्। एक त आधारभूत विद्यालय पढ्ने बालबालिका आफैँ शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन्। त्यसमाथि पनि घरमा भात पकाउनेदेखि भाइबहिनी हेर्नुपर्ने जिम्मेवारीका कारण उनीहरूले पढ्ने वातावरण पाउन सकेका हुँदैनन्।’

प्राधानाध्यापक पोखरेलले भाडामा लिएको सिटी रिक्सा लिएर आफैँ अनुपस्थित रहने विद्यार्थीको घर पुग्ने गरेको बताए। उनले भने, ‘अभिभावकलाई सम्झाइबुझाइ गरेर बहुसंख्यक अनुपस्थित रहने विद्यार्थीलाई विद्यालयमा फर्काएका छौँ।’

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले नगरक्षेत्रका सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीले कक्षालाई निरन्तरता दिन नसकेको स्वीकार गरे। गरिबी र पछौटेपनका कारण अभिभावकले पनि विद्यार्थीलाई विद्यालय पठाउन नचाहेर घर वा बाहिरको काममा लगाउने गरेको बताए।

उनले भने, ‘विद्यार्थीको अनियमित पठनपाठनका कारण सिकाइ क्षमतामा पनि गहिरो असर पर्ने गरेको छ। अभिभावकमा जागरुकता जारी छ।’ विद्यार्थीको शतप्रतिशत भर्ना अनि नियमित पठनपाठनका लागि महाशाखाले विभिन्न कार्यक्रम ल्याउने गरेको उनको भनाइ छ।

महाशाखाको तथ्यांकअनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्रका आधारभूत तहको भर्ना दर ९०.१६ प्रतिशत, सामुदायिक विद्यालयमा कक्षा ६ देखि ८ मा ८३.४९, कक्षा ९ र १० मा ८१.२१ र कक्षा ११ र १२ को भर्ना दर ३४.६२ प्रतिशत छ।

विराटनगर महानगरपालिकाभित्र आधारभूत र सामुदायिक ५६ विद्यालय छन्। यी विद्यालयमा १२ हजार एक सय ६८ बालिका र १२ हजार पाँच सय ८८ बालकसहित २४ हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन्। नगरक्षेत्रका १९ धार्मिक विद्यालयमा एक हजार ३६ बालिका र एक हजार एक सय ७३ बालक अध्ययनरत छन्।

विराटनगर नगरक्षेत्रमा ८४ संस्थागत विद्यालय छन्। यी संस्थागत विद्यालयमा १५ हजार एक सय ४५ बालिका र २० हजार तीन सय १३ बालक गरी कूल ३५ हजार चार सय ५८ विद्यार्थी अध्ययनरत छन्। राससको सहयोगमा

प्रकाशित: १८ माघ २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =