मधेश प्रदेशसभाका सभामुख र उपसभामुखले लिए शपथ

हिमाल प्रेस ४ माघ २०७९ १३:२६
8
SHARES
मधेश प्रदेशसभाका सभामुख र उपसभामुखले लिए शपथ

जनकपुरधाम- मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र उपसभामुख ईशरलाई शपथ गराएका हुन्।

उपसभामुख इशरले हिन्दी भाषामा शपथ लिइन्। शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरूसहितको सहभागिता थियो।

गत मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो।

कुल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए।

मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरूको समर्थन थियो।

प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरू निर्वाचित भएका छन्।

प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो। उनको विपक्षमा २९ मत खसेको थियो।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो। उनको विपक्षमा २९ मत खसेको थियो। उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए।

प्रकाशित: ४ माघ २०७९ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =