राष्ट्रपतिमा सहमति भए सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निष्कर्ष

हिमाल प्रेस ४ माघ २०७९ ११:३५
6
SHARES
राष्ट्रपतिमा सहमति भए सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निष्कर्ष

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिमा सहमति भए सभामुखमा उम्मेदवारी नदिने जनाएको छ। धुम्बाराहीस्थित शेरबहादुर देउवाको अस्थायी निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्याकेजमा सहमति भए समझदारीअनुसार र नभए सभामुखमा उम्मेदवारी दिने जानकारी दिएका हुन्।

‘राष्ट्रपति र सभामुख साझा संस्था हो। यसको कार्यसम्पादन संविधान, कानुनको रक्षामा केन्द्रित हुनुपर्ने भएकाले समझदारीबाट निष्कर्ष निस्कियोस् भन्ने हो,’ उनले भने, ‘सबै दलहरूसँग सल्लाह र सुझाव मागेका छौँ, प्रधानमन्त्रीले पनि अन्तिम कुरा गर्छु भन्नु भएको छ।’ सभामुखका विषयमा केही समय पर्खिने उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको उनको भनाइ छ।
बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले जानकारी गराएका थिए।

उनले व्यक्ति टुंगो लगाउने कुरामा आन्तरिक सहमति भइसकेको जानकारी पनि दिए। प्रवक्ता महतले भने, ‘अहिले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि यो बीचको समय उपयोग गर्नेछौँ। हामी जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौंँ, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौँ। अन्तिम कुरा पनि बाँकी छ।’

कांग्रेस समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने पक्षमा रहेको उनले बताए। उनले भने, ‘किनभने यी संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीले केही समय माग्नुभएको छ। त्यसलाई पनि हामी पर्खिनेछौँ।’

प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। प्रकाशित कार्यतालिकाअनुसार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ।

प्रकाशित: ४ माघ २०७९ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =