अस्ट्रेलियन ओपनमा अघि बढ्दै एन्डी मरी र एरिना साबालेङ्का

हिमाल प्रेस ३ माघ २०७९ १६:५९
10
SHARES
अस्ट्रेलियन ओपनमा अघि बढ्दै एन्डी मरी र एरिना साबालेङ्का

काठमाडौँ- एन्डी मरीले अस्ट्रेलियन ओपनको पहिलो चरणमा मंगलबार माट्यिो बेरेटिनीलाई पराजित गरेका छन्। ३५ वर्षीय बेलायती स्टार मरीले पुरुष एकलतर्फ इटालीका बेरेटिनीलाई पन्छाउन ६–३, ६–३, ४–६, ६–७ (७/९), ७–६ (१०/६) को नतिजा निकाले। रोड लेभर ऐरिनामा जित दर्ता गर्न मरीले चार घण्टाभन्दा बढी समय प्रतिस्पर्धा गर्नु परेको थियो।

‘भोलि बिहानसम्म यो खेलको थकान रहनेछ। तर जे होस् नतिजाले प्रशन्न छु। आफूप्रति गर्व पनि महसुस गरिरहेको छु। विगत केही महिनादेखि मेहनत गरिरहेको थिए। मेहनतको फल यस्तो ठूलो मञ्चमा पाउँदा आनन्द लागेको छ,’ पूर्वविश्व नम्बर एक मरीले भने। अब उनले फाबियो फोगनिनी वा थानासी कोक्किनाकिसबीचको विजेताको सामना गर्नेछन्।

अस्ट्रेलियन ओपनको दोस्रो दिनका सबै खेल अत्यधिक गर्मीका कारण प्रभावित बने। लेभर ऐरिना, मार्गारेट कोर्ट ऐरिना र जोन केइन ऐरिनामा भएका खेलमा तीन घण्टासम्मको विश्राम दिइएको थियो। यो ग्रान्डस्लाम आयोजना गरिरहेको मेलबर्न पार्कमा रुस र बेलारुसका झण्डामाथि प्रतिबन्ध लगाइएपछि विवाद सिर्जना पनि भयो।

मंगलबार नै भएको अर्को खेलमा रुसका आन्द्रे रुब्लेभले डोमिनिलाई पराजित गरे। सन् २०२० का उपविजेता थिममाथि रुसी स्टार रुब्लेभले ६–३, ६–४, ६–२ को विजय हासिल गरेका हुन्। यूएस ओपनका पूर्वविजेता थिम लामो समयपछि कोर्टमा फर्किएका हुन्। उनी सन् २०२१ देखि २०२२ को बीचमा नौ महिना कोर्टबाहिर थिए।

पुरुष एकलका अरु भिडन्तमा बेलायतका डान इभान्स, स्पेनका पाब्लो कारेनो बुस्टा, बुल्गेरियाका ग्रिगोर डिमिट्रोभ र अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान पनि जित हासिल गर्दै दोस्रो चरणमा पुगे।

रुसी झण्डामाथि प्रतिबन्ध

अस्ट्रेलियाका लागि युक्रेनी राजदूतको विरोधपछि अस्ट्रेलियाली टेनिस संघ (टेनिस अस्ट्रेलिया) ले मेलबर्नमा जारी ग्रान्डस्लाममा रुस र बेलबरुसको भण्डामाथि प्रतिबन्ध लगाएको हो। पहिलो दिनका दुई खेलमा दर्शकले रुसको झण्डा फहराएका थिए। रुसी झण्डा देख्नासाथ त्यहाँ उपस्थित युक्रेनी समर्थकले प्रतियोगिता सुरक्षार्थ खटिएका प्रहरीसमक्ष उजुरी गरेका थिए।

‘रुस र युक्रेनका झण्डा अस्ट्रेलियन ओपन भइरहेका ऐरिनाभित्र लग्न पाइने छैन,’ टेनिस अस्ट्रे्लियाले भनेको छ।

रुसले युक्रेनमाथि हमला सुरु गरेपछि विश्व खेलकुदका धेरैजसो नियामक निकायले रुसी टिममाथि प्रतिबन्ध लगाएका छन्। रुस र युद्धमा उसलाई सघाइरहेको बेलारुसका खेलाडीलाई तटस्थ रुपमा सहभागिता जनाउन भने दिने गरिएको छ। अस्ट्रेलियन ओपनमा पनि ती दुई देशका खेलाडी आआफ्ना देशको प्रतिनिधि नबनी खेलिरहेका छन्।

टेनिस अस्ट्रेलियाको निर्णयलाई रुसले खेलकुदमाथिको राजनीतिकरण भनेको छ।

अस्ट्रेलियन ओपनको महिलातर्फको वरीयतामा चौथो र पाँचौँ स्थानमा रहेका क्यारोलिन गार्सिया र एरिना साबालेङ्का पनि दोस्रो चरणमा पुगेका छन्। फ्रान्सकी गार्सियाले क्यानडेली विपक्षी क्याथरिन सेबोभमाथि ६–३, ६–० को सजिलो जित दर्ता गरिन्। साबालेङ्काले भने चेक गणतन्त्रकी टेरेजा मार्टिनकोभालाई ६–१, ६–४ को अन्तरले पाखा लगाइन्।

‘म मानसिक रुपमा बलियो हुने प्रयासमा छु। मैले धैर्यपूर्वक खेल्न आवश्यक छ। गल्ती हुँदा निराश हुनु हुँदैन। यी कुराहरू ममा कमी छन्,’ बेलारुसकी साबालेङ्काले भनिन्।

२६ औँ वरीयताकी एलिस मर्टिन्सले पनि आफ्नो खेल जितिन्। बेल्जियमकी मर्टिन्सले स्पेनकी गार्बिन मुगुरुजालाई ३–६, ७–६ (७÷३), ६–१ ले स्तब्ध बनाएकी हुन्। अस्ट्रेलियन ओपनको फाइनल खेलेको अनुभव बोकेकी मुगुरुजा मंगलबारको खेलमा पूर्णरुपमा फिट थिइनन्।

गत वर्ष विम्बल्डन र यूएस ओपनको फाइनलमा पुगेकी ओन्स जाबेउरले स्लोभेनियाकी टामारा जिडान्सेकलाई पन्छाउँदै अस्ट्रेलियन ओपनको सुरुवात गरिन्। ट्युनिसियाकी जाबेउर पहिलो पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छिन्।

प्रकाशित: ३ माघ २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =