इटहरीमा विद्युतीय शवदाह गृह बनाइने

हिमाल प्रेस ३० पुष २०७९ ९:४८
6
SHARES
इटहरीमा विद्युतीय शवदाह गृह बनाइने

इटहरी- इटहरीमा रहेको बूढीगंगा-जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने विषयमा छलफल भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रतिनिधि, बृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति, स्थानीय सरोकारवाला निकाय र लामो समयदेखि बेवारिसे शवहरूको दाहसंस्कार गर्दै आएका विनयजङ्ग बस्नेतसहित शुक्रबार उक्त छलफल गरिएको हो ।
छलफलमा बूढीगंगा–जमुना मुक्तिघाट व्यवस्थापन समिति, नागरिक समाज इटहरी, सुरक्षा निकाय र सरोकारवालाहरू सहभागी थिए । नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले विद्युतीय शवदाह गृह बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

‘इटहरीमा अहिले चारवटा मात्रै शव अन्त्यष्टि गर्ने ठाउँ रहेकाले अझै अपुग छ,’ केसीले भने, ‘अहिलेको समयमा इटहरीलाई विद्युतीय शवदाह गृह आवश्यकता छ ।’
इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

बेवारिसे शव व्यवस्थापन तथा पुनःर्जीवन केन्द्रका विनयजङ्ग बस्नेतले भने वतावरणीय प्रदुषण नहुने र इटहरीमा विद्युतीय शवदाह गृह आवश्यक रहेको बताए ।
‘विद्युतीय शवदाह गृह भएको अवस्थामा बेवारिसे लास जलाउन पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘कुनै शुल्क बिना नै गरीब, विपन्न मानिसहरूको शव जलाउनका लागि सहज हुने भएकाले इटहरीमा अहिलेको अवस्थामा यो आवश्यकता छ ।’
उनले आँफूले लामो समयदेखि काठमाडौँमा विद्युतीय शवदाह गृहमा बेवारिसे शवहरू जलाउँदै आएको स्मरण गर्दै भने, ‘म पटक–पटक मन्त्रालयमा जाँदा कुनै सुनुवाई भएन । कहिले बजेट हुँदैन भनेर फर्काइन्छ, कहिले के भनिन्छ, काम नै हुँदैन, मन दुखेको छ ।’

नेदरलयान्डको हेम्स फाउण्डेशनको आर्थिक सहयोगमा आँफूले इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने उनले बताए ।
विदेशी सहयोगमा निर्माण हुने भएकाले आवश्यक स्थान उपमहानगरपालिका र अहिलेको घाट व्यवस्थापन समितिले उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

‘पशुपति आर्यघाटमा अहिले दाउरामा जलाएको १४ हजार रुपैयाँ तिर्नुपर्छ भने विद्युतीय शवदाह गृहबाट जलाउँदा ४ हजार मात्र तिर्दा हुन्छ,’ उनले भने, ‘दाउराको प्रयोग गरेर शव जलाउँदाभन्दा विद्युतीय माध्यमको प्रयोग गर्दा सस्तो र वातावरणलाई पनि राम्रो हुन्छ ।’
बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेका अनुसार शवदाह गृह निर्माणका लागि उपयुक्त ठाउँको विषयमा अवलोकन गरिएको छ । कार्यालय पछाडि रहेको जग्गा उपलब्ध गराउने गरी तयारी भएको उनले बताए । शवदाह गृह निर्माणका लागि १० दिनभित्र प्राविधिकहरूलाई अध्ययन गर्न लगाएर डीपीआर तयार गरिने घिमिरेले बताए ।

प्रकाशित: ३० पुष २०७९ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =