विकासका नाममा भइरहेको डोजर आतंक बन्द गरौँ : डा. तुलाधर

हिमाल प्रेस २७ पुष २०७९ १३:०३
6
SHARES
विकासका नाममा भइरहेको डोजर आतंक बन्द गरौँ : डा. तुलाधर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताएका छन्। बुधबार काठमाडौँमा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नवनिर्वाचित सांसदहरूले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसद्मा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘विज्ञानमा आधारित जोखिम संवेदनशील विकासका क्रियाकलाप गर्नुपर्छ। कमसेकम डोजर आतंक तत्काल बन्द हुनुपर्छ,’ उनले भने, ‘पश्चिमतिर जाँदा अहिले छपक्कै पहेँले कीरा देख्छु म । पहेँलो कीरा भनेको अरू केही होइन, त्यो डोजर हो। पाखैभरि डोजर कुदेका हुन्छन्।’

उनले डोजर चालकसँग वैज्ञानिकहरू पनि सँगै हुनुपर्ने बताए। ‘डोजर ड्राइभरसँग वैज्ञानिकहरू पनि हुनुपर्छ । भूगर्भविद्, समाजशास्त्री, विपद् व्यवस्थापन विज्ञहरू हुनुपर्छ,’ उनी भन्छन्, ‘कुन ठाउँमा कसरी बाटो लैजाने भन्ने उहाँहरूको सल्लाह अनुसार लैजानुपर्छ। विकासको नाममा जुन गरिएको छ, त्यसले हजारौँ मानिस मारिएको छ।’

उपमहासचिव तुलाधरले विकास निर्माणसँगै विपद् न्यूनीकरण गर्ने कुरामा कसैले पनि बहानाबाजी गरेर उम्किन नपाउने बताए। उनले जलवायु परिवर्तनका कारण अपत्यारिलो घटनाहरू बढ्दै गएका र यसमा तीन तहकै सरकारले आवश्यक चासो दिनुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: २७ पुष २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =