झोलुंगे पुल निर्माण सरकारको प्राथमिकतामा

हिमाल प्रेस ३१ जेठ २०८० ९:४५
8
SHARES
झोलुंगे पुल निर्माण सरकारको प्राथमिकतामा सांकेतिक तस्बिर।

काठमाडौँ–  सरकारले पुरातात्त्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुंगे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ।

अत्यावश्यक स्थानमा पुल बनेकाले अहिले स्थानीय पूर्वाधार विभाग विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण सुरु गरेको हो। पर्यटनका लागि र पुरातत्त्वका लागि हेर्दा आकर्षक किसिमको पुल निर्माणमा जोड दिइने विभागका उपमहानिर्देशक असोक साहले जानकारी दिए।

विभागले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५ सय ६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। पुलबीच पिलर नहुने (सस्पेन्डेड) पुल बनाइएको उनको भनाइ छ। यो किसिमको पुल एसियाको पहिलो भएको उनको भनाइ छ।  ‘अब हामी ५/छ सय मिटरमा बीचमा पिलर नहाली अरु ठाउँमा पनि बनाउँदै जानेछौं,’ उनले भने।

कञ्चनपुरको दोधारा चाँदनीमा धेरै स्पान हालिएको लामो पुलको निर्माण गरिएको उनको भनाइ छ। एउटै पुलजस्तो देखिने गरी बनाइएको पुलले धेरै पर्यटकलाई आकर्षित गरिरहेको छ।

आगामी वर्ष बागलुङलगायतका पहाडी जिल्लाका खोच रहेका ठाउँमा झोलुंगे पुलको निर्माण गरिने साहको भनाइ छ। खोला हेर्दा सानो भए पनि बीचमा गहिरो खोच भएको र हिँडेर ओहोरदोहोर गर्न एक घण्टा लाग्ने भएमा त्यस्ता ठाउँमा पुल निर्माणको योजना विभागको छ।

‘२ डाँडा जोड्ने ५/छ सय मिटरको पुलको माग रहेको छ। आगामी वर्षको बजेटबाट निर्माण सुरु हुनेछ,’ उनले भने।

गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङगमस्थल रिडीमा तीनमुखे पुल निर्माण भएको छ। ३ जिल्लालाई एउटै पुलले जोड्नेसँगै यहाँको पर्यटक प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको उनको भनाइ छ।

सरकारको नागरिक १ घण्टाभन्दा बढी हिँड्न नपर्ने गरी पुल वा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य पूरा हुने क्रममा रहेको छ। नयाँ रणनीतिले आधा घन्टाको अवधि राखेमा सोहीअनुसार नयाँ स्थान छनोट भएर पुल निर्माण हुने उनले बताए।

झोलुंगे पुलको निर्माण ३ तहको समन्वयमा हुँदै आएको छ। स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले २ सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण संघले गर्दै आएका छन्। विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ।

प्रकाशित: ३१ जेठ २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =