विपद् पूर्वतयारी र प्रतिकार्यका लागि कर्णाली प्रदेशद्वारा ड्रोन तालिम

हिमाल प्रेस २२ पुष २०७९ २०:३९
10
SHARES
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि कर्णाली प्रदेशद्वारा ड्रोन तालिम प्रतीकात्मक तस्बिर।

सुर्खेत– प्राकृतिक प्रकोपले निम्तिने विभिन्न किसिमका विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र (ड्रोन) को प्रयोगसम्बन्धी तालिम दिइएको छ। शुक्रबार वीरेन्द्रनगरमा आयोजित तालिममा विपद्सँग सम्बन्धित काम गर्ने कर्मचारीलाई सहभागी गराइएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा युरोपियन युनियनको आर्थिक, यूएनडिपी, युएन, ओमन र स्याक नेपालको प्राविधिक सहयोगमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले तालिमको आयोजना गरेको हो।

विभिन्न मन्त्रालयका विपद् शाखा प्रमुख, सुरक्षा निकायका अधिकारी, आपत्कालीन कार्यसञ्चालन केन्द्रका अधिकारी, नागरिक उड्डयन प्राविधिकीकरण, जल तथा मौसम विज्ञान कार्यालय, भूकम्प मापन केन्द्र, नापी कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो।

विपद्पछिको जोखिम कम गर्न प्रविधि आवश्यक रहेको सुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। कर्णालीका सबै जिल्लासहित सुर्खेत पनि विपद्को उच्च जोखिममा रहेको उनले बताए। ‘विपद्को प्रतिकार्यका लागि प्रविधिको प्रयोग अतिआवश्यक हुन्छ, हवाई यन्त्रको प्रयोगमार्फत विपद्को समयमा उद्धार छिटोछरितो हुन्छ। त्यसैले प्रविधिको प्रयोग आवश्यक छ,’ उनले भने।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले विपद्को उद्धार तथा राहतमा प्रविधिको प्रयोग गरिने बताए। ‘विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र ड्रोनको प्रयोग गर्नका लागि १५ जनशक्ति तयार भएको छ। थप जनशक्ति तयार पारी प्रविधिमार्फत उद्धारको कार्य हुन्छ,’ उनले भने।

प्रकाशित: २२ पुष २०७९ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =