नेपाली सेनाद्वारा सुर्खेतमा युद्धकौशलका सामग्री प्रदर्शन

हिमाल प्रेस १२ फागुन २०८० १९:५८
16
SHARES
नेपाली सेनाद्वारा सुर्खेतमा युद्धकौशलका सामग्री प्रदर्शन

सुर्खेत- नेपाली सेनाको उत्तर पश्चिम पृतना मुख्यालयले आफ्ना युद्धकौशलका उपकरण तथा सामग्री प्रदर्शन गरेको छ। शनिबार रन फर युनिटी (एकताका लागि दौड) प्रतियोगिताको आयोजना साथै सेनाले युद्धकौशलका सामग्री प्रदर्शन गरेको हो।

सेनाले विगतमा द्वन्द्वमा प्रयोग गरेका हतियार, बम डिस्फोज उपकरणका साथै विपद्मा प्रयोग हुने सामग्री  प्रदर्शनीमा राखेको छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्ट, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाललगायतले प्रदर्शनी अवलोकन गरेका छन्।

पृतना मुख्यालका प्रवक्ता सेनानी रेणु शाह पालले विगत तीन वर्षदेखि नेपाली सेनाले रनफर युनिटीका साथै आफ्ना युद्ध सामग्रीको प्रदर्शन गर्ने गरेको बताइन्। सर्वसाधारणले पनि सेनाका युद्ध सामग्री, विपद्का उपकरणलगायतको अवलोकन गर्न पाउन् भनेर प्रदर्शनीमा राखिएको उनले बताइन्।

यसैबीच रन फर युनिटीका विजेतालाई पनि सो अवसरमा नगद पुरस्कारसहित मेडल प्रदान गरिएको छ। महिला र पुरुषको पाँच किलोमीटर दौड, १० किमी दौड र २१ किलोमीटर दौडको आयोजना गरिएको थियो। जसमा पाँच किमी दौडमा महिलातर्फ प्रथम कल्पना बुढा, द्वितीय विमला कार्की र तृर्तीय उर्मिला खनाल भए।

यस्तै पाँच किमी दौड पुरुषतर्फ प्रथम अजय विक, द्वितीय दिपेन्द्र बोहरा र तृतीय सुज विक भए। १० किमी दौडको महिलातर्फ प्रथम आशा रावत, द्वितीय समीता बुढा र तृतीय राज्यलक्ष्मी रावल तथा पुरुषतर्फ प्रथम धीरबहादुर बुढा, द्वितीय सन्दीप नेपाली र तृतीय अक्कल बुढा भए।

२१ किमी दौडमा प्रथम दलबहादुर कुँवर, द्वितीय सन्तोषनाथ योगी र तृतीय आशीष गुरुङ भए। कर्णालीमा दौडलाई पहिचान गराउन, स्वास्थ्य र विकासका लागि नेपाली सेनाले विगत तीन वर्षदेखि रन फर युनिटीको आयोजना गर्दै आएको उत्तर पश्चिम पृतना मुख्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =