यी हुन् उपराष्ट्रपतिका लागि ‘च्याँखे दाउ’ मा पारिएका नेता

हिमाल प्रेस २२ पुष २०७९ १२:४२
88
SHARES
यी हुन् उपराष्ट्रपतिका लागि ‘च्याँखे दाउ’ मा पारिएका नेता

काठमाडौँ– नेकपा माओवादी केन्द्र र एमालेबीच संवैधानिक पदमा कसलाई पठाउने बहस चलिरहेको छ। एमाले-माओवादीमा प्रधानमन्त्री नियुक्त हुनुअघि नै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा बाँडफाँट भएको छ।

राष्ट्रपति र सभामुख एमालेले लिने सहमति छ भने उपराष्ट्रपति र उपसभामुख माओवादी केन्द्रसँग छ। तर सत्ता मिलाउन प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यिनै पदलाई दाउमा राखेका छन्।

संवैधानिक रूपमा मर्यादाक्रमको दोस्रो ठूलो पद उपराष्ट्रपति अहिले सबैभन्दा बढी बार्गेनिङ पद बनेको छ। माओवादीले उपराष्ट्रपति पद आफूले राख्ने/नराख्ने नभनेकाले माओवादीभित्रै र बाहिरका दलमा पनि यो पदलाई लिएर च्याँखे थाप्ने काम भइरहेको छ। उपराष्ट्रपति पदलाई लिएर अहिले माओवादीभित्र धेरै व्यक्तिको नाम आइरहेको छ।

माओवादीबाट उपराष्ट्रपतिमा पूर्वसभामुख ओनसरी घर्ती, हरिबोल गजुरेल, जयपुरी घर्ती र रेखा शर्माको नाम चर्चामा छ। कतिले आफैँ पदका लागि लबिङ गर्दैछन् भने कतिलाई पद थमाइदिन खोजिँदैछ। यस्तै जसपाले रामसहायप्रसाद यादवलाई अघि सार्ने चर्चा छ।

हरिबोल गजुरेल

एक साताअघि माओवादी उपमहासचिव गजुरेललाई प्रचण्डले उपराष्ट्रपति प्रस्ताव गरेका थिए। तर उनले आफू सक्रिय राजनीति गर्ने भन्दै पन्छिए। उनलाई अहिले प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी दिन प्रयास भइरहेको छ।

रेखा शर्मा

माओवादी उच्च स्रोतका अनुसार माओवादी नेत्रृ रेखा शर्मालाई पनि उपराष्ट्रपतिको प्रस्ताव गरिएको थियो। सत्ता साझेदार दल एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएर उपसभामुख बन्न शर्मालाई अनुरोध गरेका थिए।

दाङ-२ मा जितेकी शर्माबाट एमाले महासचिव शंकर पोखरेललाई हराएकी थिइन्। उनले पोखरेललाई १९७ मतान्तरले पराजित गरेकी हुन्।

निर्वाचित शर्माले २६८७७ मत प्राप्त गरिन् भने पोखरेलले २६६८० मत प्राप्त गरेका थिए। झिनो मतले हारेका कारण पोखरेल संसद् प्रवेश गर्न पाएनन्।

पोखरेलले ओली-प्रचण्डमार्फत शर्मालाई उपराष्ट्रपति बनाउन अनुरोध गरेका थिए। शर्मा उपराष्ट्रपति बने दाङ-२ मा उपनिर्वाचन गर्ने र त्यहाँ आफू उठ्ने पोखरेलको दाउ छ। तर शर्माले प्रस्ताव अस्वीकार गरेकी छन्।

ओनसरी घर्ती

अर्का उपमहासचिव वर्षमान पुनले वरीयता विवाद निकाल्दै मन्त्री नबन्ने बताएका छन्। उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको मर्यादाक्रमभन्दा पछि आफू मन्त्री नबन्ने बताइरहेका छन्।
माओवादीका एक नेता उपराष्ट्रपतिमा श्रीमती ओनसरी घर्तीलाई अघि सार्न पुनले यस्तो घुर्की देखाएका हुन्।

ओनसरीले यसपटक काठमाडौँ २ बाट निर्वाचन हारेकी छन्। ओनसरीलाई ‘जसरी पनि शक्तिमा लैजाने’ वर्षमानको दाउ छ। उनी मन्त्रालयको मर्यादाक्रमको ‘बार्गेनिङ’ बनाएर ओनसरीलाई उपराष्ट्रपति बनाउन चाहन्छन्।

रामसहायप्रसाद यादव

सोही उपराष्ट्रपति पदलाई लिएर जनता समाजवादी पार्टी (जसपा)मा पनि ‘च्याँखे दाउ’ थाप्ने काम भएको छ। जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले नेता रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन लबिङ गरिरहेका छन्।

उनी उपराष्ट्रपतिसहित तीन मन्त्रालयको माग गरेका छन्। उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाएर सोही ठाउँमा आफू निर्वाचन लड्न चाहन्छन्। पटकपटक चुनाव जितेका उपेन्द्रलाई यसपटक नराम्रो हार खानुपर्‍यो।

सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत ल्याए। अब उनी सांसद बन्न बारा २ मा जाँदैछन्। बारा २ रामसहायको क्षेत्र हो।

रामसहायलाई उपराष्ट्रपति बनाउन पाए आफू बाराबाट निर्वाचन जित्ने उपेन्द्रको योजना छ। रामसहायलाई शक्तिमा ल्याउन उपेन्द्रले संसदीय दलको नेतामा निर्वाचित गराएका छन्। रामसहाय उपेन्द्रका विश्वासिला सहकर्मी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =