ओलीलाई ‘नायक’ मान्‍न तयार छैनन् खनाल

किरण पौडेल २० पुष २०७९ १४:५८
102
SHARES
ओलीलाई ‘नायक’ मान्‍न तयार छैनन् खनाल

काठमाडौँ- नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरणको बहस चलिरहेका बेला एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल यथास्थितिमा एमालेसँग ‘कुनै पनि हालतमा’ मिल्न नहुने अडानमा देखिएका छन्।

एमाले नेतृत्वले एकताका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग विभिन्न स्तरबाट वार्ता जारी राखेको छ। तर अध्यक्ष नेपाल र एमाले अध्यक्षबीच भने भेटवार्ता हुन सकेको छैन।

एमाले नेतृत्वले दक्षिणपन्थी अवसरवादी र सामन्तवादको अंश बोकेको भन्दै खनाल एकता गर्नै नहुने अडानमा छन्। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा खनालले आफू बृहत् वाम एकताका पक्षमा रहे पनि एमाले एकताका पक्षमा नरहेको बताएका थिए। बैठकमा खनालले बृहत् वाम एकताको पक्षमा प्रस्ताव पेस गरेका थिए।

उनको प्रस्तावमा उल्लेख छ, ‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ। कम्युनिस्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आजको आवश्यकता हो। हामी सधैँ कम्युनिस्ट एकताका पक्षमा छौँ। तर कम्युनिस्टहरूबीच एकता टाउको जोडेर हुँदैन। अंकमाल गरेर पनि हुँदैन। हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरूले चाहेर मात्र पनि हुँदैन।’

केही महिनाअघिसम्म खनाल ‘तत्काल एमाले-समाजवादी’ एकता गर्नुपर्ने पक्षमा थिए। समाजवादीका अधिकांश नेताहरू माओवादी केन्द्रसँग एकता गर्न तयार रहँदा खनाल एमालेको पक्षमा उभिएका थिए।

खनालले एमालेसँगको एकताबारे पार्टी बैठकमै प्रस्ताव राखेका थिए। एकताका लागि एमालेका कतिपय नेतासँग खनाल वार्तामा रहेको समाचार पनि आएका थिए। तर त्यसमा ओलीले चासो नदिएपछि एकताका कुरा थाती रह्यो।

अहिले खनाल संगठनात्मक रूपमा मात्र नभई विचारका हिसाबले पनि एमालेभन्दा आफूहरू पृथक रहेको दाबी गर्न थालेका छन्।

वैचारिक भिन्नता

खनाल एमालेसँग समाजवादीको विचार नमिल्ने बताउँदै आएका छन्। आफूहरू मार्क्सवाद, लेनिनवाद मात्र मार्गदर्शक सिद्धान्त मान्ने भएकाले एमालेसँग वैचारिक एकता नहुने उनको अडान छ।

‘एमालेमा अझै पनि मार्क्सवाद, लेनिनवाद र जबज (जनताको बहुदलीय जनवाद) लाई आदर्श मानिन्छ। हामी त्यसलाई मान्न तयार छैनौँ,’ खनाल भन्छन्, ‘एमालेले नसुहाउँदो गरी जबजलाई केन्द्रमा राख्छ। तर त्यसको औचित्य सकिएको छ।’

‘एमालेसँग एकताका लागि माधव नेपाललाई प्रस्ताव आइरहेको छ। तर खनालजी मान्न तयार हुनुभएको छैन। नेताको मात्र नभई सबै कार्यकर्ताको सक्रिय भूमिका हुनुपर्छ। तर अहिलेको एमाले नेतृत्वबाट त्यसो होला भन्ने लाग्दैन।’

एमालेले देशमा ‘सामन्तवादको अंश’ रहेको दाबी गरे पनि आफूहरूले छाडिसकेको खनाल बताउँछन्। २०६२/२०६३ को जनआन्दोलनपछि सामन्तवाद सकिएको खनालको भनाइ छ। ‘एमालेका साथीहरूले भन्दिनुहोला। अब जबज कति सान्दर्भिक छ?’

समाजवादी अहिले खनालकै ‘नीति’ अनुसार चलिरहेको छ। जबजलाई आदर्श नमानेकै कारण माधव नेपाल निकट कतिपय नेता समाजवादीमा जोडिएका छैनन्। यस्ता केही पात्र वामदेव गौतम र प्रदीप नेपाल हुन्।

खनाल विगतदेखि जबजप्रति फरक मत राख्दै आएका छन्। एमालेको पाँचौँ (२०४९) महाधिवेशनपछि तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विकास गरेका हुन्। खनालले त्यति बेलादेखि यसको विरोध गर्दै आएका थिए।

उनले जबजले नेपाली जनताको भावना पूरा गर्न नसक्ने भन्दै ‘जनताको नौलो जनवाद’को विकास गरे। सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ र मोहनचन्द्र अधिकारीले ‘नौलो जनवाद’ प्रस्तुत गरेका थिए। रघुजी पन्तले ‘सामाजिक जनवाद’ नामक प्रतिवेदन प्रस्तुत गरे। तर मदनको जबजले ५४१ मत पाउँदा सीपीको प्रस्तावका पक्षमा १०१ र अधिकारीका पक्षमा ५५ मत परेको थियो। रघुजी पन्त मतदानको बेला आफैँ अनुपस्थित भएका कारण उनको प्रस्तावले शून्य मत पायो।

भण्डारीको ‘जबज’लाई खनालले ‘दक्ष प्रजापतिको टाउको’ जस्तो भनेर टिप्पणी गरेका थिए। त्यसबेलाबाटै जबजको विरोध गरेका खनालले समाजवादी गठनपछि आफैँ हटाए।

अहिले एमाले-समाजवादीबीच यही विषयमा विवाद रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘जबज मान्दासम्म एमालेसँग एकता हुन सक्दैन।’

भूमिका नपाइने भय

एकीकृत समाजवादीभित्र खनालको वर्चस्व छ। उनी सैद्धान्तिक मात्र नभई सांगठनिक रूपमा पनि दरिलो छन्। भ्रातृ संगठनमा पनि खनालको पकड छ। एमालेसँग एकता गर्दा अध्यक्षसमेत रहेका माधवकुमार नेपालले बढी भूमिका पाउने भय खनाललाई छ।

‘एमालेसँग एकताका लागि माधव नेपाललाई प्रस्ताव आइरहेको छ। तर खनालजी मान्न तयार हुनुभएको छैन,’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘नेताको मात्र नभई सबै कार्यकर्ताको सक्रिय भूमिका हुनुपर्छ। तर अहिलेको एमालेको नेतृत्वबाट त्यसो होला भन्ने लाग्दैन।’

एमाले उच्च स्रोतका अनुसार नेपाल राष्ट्रपति बन्न पाएमा एकीकरण गर्ने पक्षमा छन्। राष्ट्रपति बनेर पार्टी संगठनबाट पनि सुरक्षित अवतरण हुने नेपालको चाहना देखिएको छ। नेपालले यो सन्देश ओलीसमक्ष पुर्‍याइसकेका छन्। तर सम्मानित नेता खनाल भने यसमा सहमत देखिँदैनन्। चुनाव हारेका कारण संसदीय भूमिकामा आफू कमजोर हुने भय खनाललाई छ।

एमालेको ८०, (एमाले प्रवेश गरेका एक स्वतन्त्र सांसदसमेत) र समाजवादीको १० गरी ९० सांसद एमालेका हुन्छन्। यता संसद्को हालको सबैभन्दा ठूलो दल कांग्रेसको ८९ सिट छ। यही कारण ओली समाजवादीसँग एकता गर्न चाहन्छन्। तर खनाल पार्टी एकता गरेर ओलीलाई नायक बनाउने पक्षमा देखिँदैनन्।

पराजयको धङधङी

प्रतिनिधिसभा निर्वाचनमा खनाल इलाम १ बाट पराजित भए। सातपल्ट चुनाव लडेका उनले २०५१ सालको बाहेक सबै निर्वाचन जितेका थिए। २०७९ मा आइपुग्दा उनको दोस्रो हार हो।

गठबन्धनको साथ रहँदा जितिने आसले चुनाव लडेका खनाल झन्डै तीन हजार मतले आफ्नै पुराना कार्यकर्तासँग पराजित भए। तर उनले अझै पराजय स्वीकार्न सकेका छैनन्। निर्वाचनमा धाँधली भएको भन्दै ‘पुन: मतदान वा मतगणना’को माग गर्दै आएका छन्।

जित्ने उम्मेदवारलाई बधाई नै नदिई काठमाडौँ आएका खनाल पुनः गृहजिल्ला फर्केका छैनन्। खनालले तत्कालीन सत्ता गठबन्धनसँग राष्ट्रपति माग गरेका थिए। सोही दाबेदारीसहित उनी चुनाव लड्न पुगे। चुनाव हारे र राष्ट्रपतिमा दाबेदारी पनि कमजोर भयो। कांग्रेस-माओवादी गठबन्धन टुट्यो। समाजवादी एक्लियो।

‘अब नयाँ पार्टीमा जाँदा उहाँ (खनाल) को हैसियत के हुने भन्ने पनि हुन्छ नि,’ विश्लेषक झलक सुवेदी भन्छन्, ‘माधव नेपाललाई मात्र नेता स्वीकारेर खनाललाई नस्वीकार्दा के हुन्छ?’

ओलीको चाहनामा बाधक

नेता खनाल एमाले-माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वीकार्न तयार छन्। तर दाहालको गठबन्धनलाई स्वीकार्न तयार छैनन्। दाहालप्रति कुनै नकारात्मक धारणा नभएको उनी बताउँछन्।

पाँच दलीय गठबन्धन पनि कांग्रेसकै कारण टुटेको भन्दै खनालले प्रचण्डको बचाउ गरेका छन्। तर प्रचण्ड प्रधानमन्त्री बनेकै सात दलीय गठबन्धनलाई भने उनी स्वीकार्न तयार छैनन्।

‘अहिलेको गठबन्धन वामपन्थीहरूको गठबन्धन होइन। अनेक खिचडी पार्टीहरू छन्,’ खनाल भन्छन्, ‘यहाँ राजा चाहियो भन्नेदेखि मधेश देश चाहियो सम्म र संघीयता खारेज गर भन्नेदेखि संसद् विघटन गर्नेसम्म छन्।’ वामपन्थी सरकारलाई मात्र समर्थन गर्ने खनालको चाहना छ।

एमाले अध्यक्ष केपी शर्मा ओली एमाले र एकीकृत समाजवादी मिलाएर संसद्को सबैभन्दा ठूलो दल बन्ने ध्याउन्नमा छन्। यसैकारण ओली समाजवादीप्रति लचक रहेको समाजवादीकै नेताहरू बताउँछन्। खनाल एमालेसँग एकता गर्नैपरे आफूलाई बृहत् ‘स्पेस’ चाहिने पक्षमा छन्।

एमालेको ८०, (एमाले प्रवेश गरेका एक स्वतन्त्र सांसदसमेत) र समाजवादीको १० गरी ९० सांसद एमालेका हुन्छन्। यता संसद्को हालको सबैभन्दा ठूलो दल कांग्रेसको ८९ सिट छ। यही कारण ओली समाजवादीसँग एकता गर्न चाहन्छन्। तर खनाल पार्टी एकता गरेर ओलीलाई नायक बनाउने पक्षमा देखिँदैनन्।

‘एक नेतालाई सत्तामा पुर्‍याउन मात्रै हामी कुनै दलसँग एकता गर्दैनौँ। हामी पनि हिजो विद्रोहबाट आएका हौँ,’ खनाल भन्छन्। खनाल पछिल्लो समय माओवादीप्रति लचक देखिन्छन्। सके माओवादीसँग एकता गर्ने नभए अन्य दलसँग नगर्ने भन्ने खनालको चाहना रहेको उनी निकट एक नेताले बताए।

खनालले भनेका छन्, ‘हाम्रो पार्टी सधैँ वामपन्थी एकताका पक्षमा छ र रहनेछ। तर वर्तमान सरकारको स्थिति हेर्दा नीति, निष्ठता र सिद्धान्तनिष्ठतामाथि आधारित एकता देखिँदैन।’

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषय पनि खनालकै फरक मतका कारण निर्णय लिन समाजवादीमा सकस परेको हो। नेकपा एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने विषय सचिवालय, स्थायी कमिटी हुँदै पोलिट्ब्युरोसम्म पुग्दा पनि अनिर्णित भयो।

विश्वासको मत दिएपछि मात्र सरकारमा जाने वा विश्वासकै मत नदिने भन्ने विषयमा अहिलेसम्म समाजवादीले निर्णय लिन सकेको छैन। पदीय कारणले खनाल एमालेप्रति सकरात्मक नभएको अनुमान विश्लेषक सुवेदीको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =