प्रतिगमनकारीहरूको सरकारमा गइँदैन : माधव नेपाल

हिमाल प्रेस १८ पुष २०७९ २०:५९
14
SHARES
प्रतिगमनकारीहरूको सरकारमा गइँदैन : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक मंगलबार (भोलि) ११ बजे बस्ने गरी स्थगित भएको छ। पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले भोलिसम्मका लागि स्थगित गरिएको उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिताका विषयमा केन्द्रित गरिएको छलफलमा ३० नेताले धारणा राखेको खतिवडाले जानकारी दिए।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)लगायत वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको पनि खतिवडाको भनाइ छ।

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रतिगमनकारी र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव पेस गरे। उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिए।

शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुंगो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो। भोलि बस्ने बैठकले सो विषयमा निर्णय गर्ने उनले जानकारी दिए।

प्रकाशित: १८ पुष २०७९ २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =