काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूसँग प्रचण्डले आग्रह गरेका हुन्।
‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरूबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौँला,’ उनले भने।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवादसमेत दिएका थिए।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूले निर्वाचन आयोगको काम कारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए।