नुवाकोट- गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय ५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो । बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार विदुर नगरपालिकामा सबैभन्दा बढी एक हजार ६ सय ७८ परिवारको आवासमा क्षति पुगेको छ । त्यस्तै बेलकोटगढी नगरपालिकामा एक सय ९५, तारकेश्वर गाउँपालिकामा ४८ र किस्पाङ गाउँपालिकामा ३४ परिवारको आवासमा क्षति पुगेको छ ।
बाढीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्णरूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, कागजपत्रलगायतका सामग्रीसमेत नष्ट भएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बताए ।
उनका अनुसार बाढीबाट घरमा क्षति पुगेका तथा बाढी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ । जोखिमयुक्त घर तथा बाढीको बहाव पुगेका स्थानमा बस्दा थप क्षति हुनसक्ने भएकाले सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
‘बाढीमा परेर पुरिएका तथा क्षति भएका घरको उत्खननमा सहयोग पु्याउँदै जोखिमयुक्त घर तथा बाढीको बहाव आइपुगेका स्थानमा नबस्न भनेका छौँ ।’ नगरप्रमुख श्रेष्ठले भने, ‘बाढीपछि सुरक्षित स्थानमा व्यवस्थापन गरी राखिएका प्रभावितलाई होल्डिङ सेन्टरबाट क्रमशः कोठामा बस्ने व्यवस्था मिलाउँदै आएका छौँ । कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउनुका साथै भान्सा, सरसफाइ तथा बन्दोबस्तीका सामग्रीसमेत उपलब्ध गराउँदै आएका छौँ ।’
कोठा भाडामा लिएर बस्न नचाहने वा उपयुक्त कोठा पाउन नसकेका प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण गर्ने तयारीसमेत अघि बढाएको छ । त्यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रभावित परिवारको लगत संकलन गरिरहेको छ । आयोजनाले प्रभावित परिवार बसोबास गरिरहेका स्थानमै पुगेर लगत संकलनका क्रममा चार सय ८६ परिवारले अस्थायी आवास निर्माण भएमा आफूहरूलाई सहज हुने बताएका छन् ।
संकलित विवरणका आधारमा प्रभावितको आवश्यकता पहिचान गरी अस्थायी आवास निर्माणको प्रक्रिया अघि बढाइएको आयोजनाका प्रमुख शशिन्द्र घिमिरेले जानकारी दिए । ‘अस्थायी आवास आवश्यक पर्ने परिवारको विवरण संकलन गरेका छौँ । प्रभावित परिवारको माग र आवश्यकताका आधारमा सरकारले अस्थायी आवास निर्माणका लागि पहल अघि बढाइसकेको छ ।’ आयोजना प्रमुख घिमिरेले भने ।
भोटेकोशी बाढीपछि नुवाकोटमा क्षतिग्रस्त घर तथा संरचनाको विस्तृत विवरण संकलन, प्रभावित परिवारको व्यवस्थापन र पुनःस्थापनाका लागि विभिन्न निकायसंगको सहकार्यमा सरकारले प्रभावितलाई सहजिकरण सहित पुर्नउत्थानका विभिन्न कार्य तिव्र गतिमा अघि बढाइरहेको छ ।
बाढीले आवासमा पुगेको क्षतिको तथ्याङ्कमा प्रारम्भिक लगतमा थप परिवार समावेश हुनसक्ने भएकाले क्षतिको अन्तिम विवरण तयार भएपछि प्रभावितको लागी अस्थायी आवास सहित स्थायी आवास निर्माण सम्बन्धिका प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ ।


