काठमाडौँ- काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरुले काठमाडौँ तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन्।
बैठकमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुतमार्ग कहिले बन्छ भन्ने कुरा अझै टुंगो लाग्न नसकेको बताए।
सरकारले चार वर्षभित्र सम्पन्न हुने बताए पनि निर्माण स्थलको अनुगमन र प्राविधिकहरूसँगको छलफलपछि चार वर्षभित्र पनि सकिने लक्षण नदेखिएको उनको भनाइ छ।
त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले द्रुतमार्ग निर्माणका क्रममा देखिएको समस्या समयमा नै समाधान गर्न नसक्दा ढिलाई भएको बताए। उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा भएको ढिलाई र बजेट व्यवस्थापनका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।
समितिले केही समय अघिकाठमाडौँ–तराई÷मधेश द्रुतमार्ग, नागढुंगा सुरुङमार्ग, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रमलगायतको स्थलगत अनुगमन गरेको थियो। आगामी बैठकमा अनुगमन प्रतिवेदनमाथि विस्तृत छलफल हुने समिति सभापति पुजा चौधरीले जानकारी दिइन्।

