‘अशोभनीय’ अर्जेन्टिना

हिमाल प्रेस २७ मंसिर २०७९ १६:१५
180
SHARES
‘अशोभनीय’ अर्जेन्टिना

यो विश्वकपमा लियोनल मेस्सीले पत्याउनै नसकिने व्यवहार देखाइरहेका छन्। भलाद्मी खेलाडीको छवि बनाएका मेस्सीको कतारी मैदानमा क्रियाकलाप हेर्दा यस्तो लाग्छ, यी फरक व्यक्ति हुन्। मेस्सी त हुँदै होइनन्। रेफ्रीसँग अनावश्यक विवाद गरिरहने, पेनाल्टीमा गोल गरेपछि उग्र खुसीयाली मनाउने खेलाडी पनि मेस्सी हुन सक्छन् र? हाल उठिरहेको प्रश्न यही हो।

मेस्सी अन्तिम पटक विश्वकप खेलिरहेका छन्। उनीसामु पहिलो पटक विश्वकप जित्ने अवसर छ। जसरी हुन्छ विश्वकप जितेर राष्ट्रिय टिमबाट बिदा लिने अभियानमा छन् उनी। यो लक्ष्यमा सफल हुन उनी हतारिएका छन्।

मेस्सीको फरकपना उनको खेल शैलीमा पनि देखिएको छ। उनी प्रत्येक खेल जित्न चाहन्छन्, चाहे उनको टिमले बेढंगको फुटबल नै किन नखेलोस्। गत साता उनीमाथि इंग्ल्यान्डका पूर्वरक्षक रियो फर्डिनान्डले रोचक टिप्पणी गरे। ‘अस्ट्रेलियाविरुद्ध मेस्सीको प्रदर्शन कुनै पनि खेलाडीले जारी विश्वकपमा गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो,’ फर्डिनान्डले भने।

तर फर्डिनान्डले दाबी गरे जस्तो मेस्सीले प्रभावशाली प्रदर्शन गरेका थिएनन्। उनले ३५ औँ मिनेटमा गोल त गरे तर न त त्यसअघि न त त्यसपछि उनको खेल उम्दा रह्यो। क्वार्टरफाइनलमा पनि मेस्सीको शैली उही थियो, जसरी हुन्छ जित्ने। लामो समयदेखि सुन्दर फुटबलको पर्याय बनेका मेस्सी विश्वकप उपाधिका लागि आफ्नो परिचय दाउमा राख्ने मनस्थितिमा छन्।

मेस्सी र क्रिस्टियानो राेनाल्डो विश्व फुटबलले यो युगमा पाएका दुई सुन्दर उपहार हुन्। हुनसक्छ मेस्सीको मोल बढी होला। कारण उही, खेल शैली। त्यसैले त ब्युनोस आयर्स र विभिन्न अर्जेन्टाइन सहरबाट कतार पुगेका ९० हजार समर्थकका लागि मात्र नभई विश्वभरका करोडौँ समर्थकका लागि पनि मेस्सी र अर्जेन्टिना प्यारा छन्।

तर नेदरल्यान्ड्ससँगको खेलबाट भने अर्जेन्टिनासँग तटस्थ फुटबल प्रेमी रिसाएका हुनसक्छन्। किनभने त्यस दिन अर्जेन्टाइन खेलाडीहरूको व्यवहार अशोभनीय थियो। फलतः उनीहरूलाई आठवटा कार्ड देखाइयो। फिफाले त दुवै टिम र तिनका फुटबल संघलाई छानबिनको दायरामा ल्याउने नै बताइसकेको छ।

अरु त अरु मेस्सीले समेत अशोभनिय व्यवहार देखाए। डच प्रशिक्षक लुई भान हालका एक सहायकलाई मैदानभित्रबाटै गाली गरे। अर्जेन्टिनाकै निकोलस ओटामेन्डी, लियान्द्रो पाराडेस, इमिलियानो मार्टिनेज पनि अनुशासित थिएनन्। खेलमा विपक्षीका व्यवहारका कारण रिस उठ्नु स्वाभाविक हो। तर प्रतिक्रिया दिँदा संयमित हुन आवश्यक छ। अर्जेन्टिनाको प्रतिक्रियामा संयमता थिएन।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी उमेरले ५० पनि पुगेका छैनन्। पहिलो पटक कुनै पनि टिमको जिम्मेवारी लिएका यी युवा प्रशिक्षक आफ्ना खेलाडी संयमित र अनुशासित रहेको जिकिर गर्छन्। ‘अर्जेन्टिना खराब विजेता वा हरुवा हो भन्ने आरोप सही होइन। यो आरोप हाम्रो टिम र देशको चरित्रसँग मेल खाँदैन। हामी अनुशासित टिम हौँ,’ स्कालोनीले भनेका छन्।

के अर्जेन्टाइन टिमको परिचय स्कालोनीले दाबी गरे जस्तो छ त? यसमा लामो बहस गर्न सकिएला। तर केही यस्ता घटना छन् जसले अर्जेन्टिनामाथि प्रश्न उठाउँछन्। जस्तै, म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोल। सन् १९९८ को विश्वकप प्रिक्वार्टरफाइनलमा डेभिड बेकहमलाई रातो कार्ड खुवाउन डिएगो सिमओनेले गरेको झेल। तर अब अर्जेन्टिना फेरिएको छ, स्कालोनी यसै भन्छन्। कम्तीमा आफ्नो प्रशिक्षणकालमा अर्जेन्टिनाले अनुशासन नगुमाएको उनको जिकिर छ।

‘फुटबल खेल नै यस्तै हो। कहिलेकाहिँ मैदानमा सानातिना घम्साघम्सी हुन्छन्। खेलाडी विवादमा उत्रन्छन्। यी चिजलाई नियन्त्रण गर्न रेफ्री हुन्छन् नि। खेलाडी र टिमलाई न्याय दिने जिम्मेवारी उनको हो,’ स्कालोनीले नेदरल्यान्ड्ससँगको खेलबारे टिप्पणी गरे, ‘कसैले अर्जेन्टिनाका खेलाडी अनुशासित छैनन्, अर्जेन्टाइन फुटबलमा सधैँ झैझगडा हुन्छ भनेर सोच्छ भने त्यो गलत हो।’

स्कालोनीले कोपा अमेरिकाको फाइनल खेलको सम्झना गरे। त्यसबेला मेस्सी र पाराडेसले पराजित टिम ब्राजिलका नेयमारसँग देखाएको हार्दिकतालाई नभुल्न उनको आग्रह थियो। ‘खेल सकिएपछि मारकानामा मेस्सी, पाराडेस र नेयमारले लामो समय बात मारे। मेरा खेलाडीको व्यक्तिव कस्तो छ भन्ने उदाहरण हो यो। हामी सबै विपक्षीलाई सम्मान गर्छौँ। मैदानमा विवाद हुनसक्छ। तर सबै विवाद र आक्रोश रेफ्रीको अन्तिम सिठ्ठीसँगै अन्त्य हुन्छन्,’ स्कालोनीले भने।

प्रशिक्षकले जे जस्तो जिकिर गरे पनि अर्जेन्टाइन खेलाडीको ‘अनस्पोर्टिङ’ व्यवहार छोपिँदैन। लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्नसाथ अर्जेन्टाइन खेलाडीले नेदरल्यान्ड्सका खेलाडी र प्रशिक्षकलाई गिज्याइएको दृश्य सजिलै बिर्सने खालको छैन। यो मेस्सीले देखाउँदै आएको चरित्रभन्दा विपरित व्यवहार थियो।

मेस्सीको शैली फेरिएको भान भइरहे पनि उनका साथीहरुले उनीप्रति देखाउने प्रतिबद्धता भने उस्तै छ। यसको उदाहरण फ्रेन्च क्लब लियोनबाट युरोपियन फुटबल खेल्ने लेफ्टब्याक निकोलस टाग्लियाफियाकोको पछिल्लो अभिव्यक्ति हो। ‘हामीले मेस्सीलाई सधैँ यही रुपमा देखेका छौँ। उनी हाम्रा कप्तान र लिडर हुन्। पूरै टिमले उनीबाट प्रेरणा लिन्छ। यो टिमको लक्ष्य एउटै छ, विश्वकप जित्ने। यसका लागि हामी प्रतिबद्ध छौँ। उत्साहित पनि छौँ। उत्साहको कारण मेस्सी हुन्,’ टाग्लियाफियाकोले भनेका छन्।

लिभरपुलका प्रशिक्षक योर्गन क्लप आफ्ना खेलाडीलाई ‘मेन्टालिटी मोन्स्टर्स’ भन्ने गर्छन्। यसको सामान्य अर्थ हो, बलियो मानसिकता। अर्जेन्टाइन खेलाडी पनि आफूलाई ‘मेन्टालिटी मोन्स्टर्स’ ठान्दा हुन्। नकआउट चरणका दुई खेलमा संघर्षपूर्ण जित हात पारेकाले यस्तो सोच्नु गलत होइन। तर उनीहरुले मंगलबार राति सामना गर्न लागेको क्रोएसिया पनि मानसिक रुपमा बलिया खेलाडीले भरिएको टिम हो।

ब्राजिल जत्तिको बलियो टिमलाई पन्छाएर सेमिफाइनलमा आइपुगेको क्रोएसिया अर्जेन्टिना जस्तो दबाबमा नरहेको बताउँछन् प्रशिक्षक ज्लाट्को डालिच। ‘लुसेल रंगशालामा हाम्राभन्दा बढी अर्जेन्टिनाका समर्थक हुनेछन्। तर यसले हामीलाई भन्दा अर्जेन्टिनालाई नै दबाबमा पार्नेछ,’ डालिचले भनेका छन्।

विश्वकपमा लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेको क्रोएसिया जनसंख्याका आधारमा युरोपकै साना देशमध्येको हो। जम्मा ३८ लाख जनसंख्या भएको देशले यो स्तरको सफलता हासिल गर्नु अरु साना देशका लागि प्रेरणा भएको मान्छन् डालिच। ‘सपना देख्ने अधिकार सबैसँग छ। क्रोएसियाले सपनालाई यथार्थमा बदल्न सकेको छ। यो विश्वभरका साना देशका लागि प्रेरणा हो,’ डालिचको भनाइ छ।

द टेलिग्राफबाट

प्रकाशित: २७ मंसिर २०७९ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =