लिम्बू जातिको महान पर्व चासोक तङ्नाम : यस्तो छ सांस्कृतिक महत्त्व

हिमाल प्रेस २२ मंसिर २०७९ १५:३०
10
SHARES
लिम्बू जातिको महान पर्व चासोक तङ्नाम : यस्तो छ सांस्कृतिक महत्त्व

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंगा गाउँपालिका ५ मामांखेका सुने लिम्बू निकै व्यस्तता बढेको छ। उनी येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुन्। किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो।

किराँत समुदायले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूल देवतालाई चडाउने परम्पार रहिआएको छ।

किराँत समुदायले अन्नबाली मंसिर पूर्णीमाअगाडि नै घर भित्र्याइसकेको हुन्छ। फक्ताल्ङग गाउँपालिका ६ का नेत्र लिम्बूले गत साता खेतबारीमा लगाएको अन्नबाली घर भित्र्ययाई सके। खेतबारीमा पाकेको अन्न बाली घर भित्र्याउन एक महिना लाग्यो।

कूल देवतालाई न्वागी चडाउनको लागि भने मंसिरको पहिलो सातामा सब्रेका (ठूला-ठूला कोदो बाला) टिपेर चोखो परी जाँड बनाए। उनी बिजुवा(पुजारी) घर बोलाएर कूल देवतालाई चडाउने तयारीमा छन्।

वर्षमा पाकेको कोदोलाई जाँड बनाएर देवतालाई न्वागी चडाउनलाई लिम्बू समुदायमा थिसोक भनिन्छ।

नेत्र लिम्बू एक प्रतिनिधि मात्र हुन्। किराँत समुदायका प्रत्येक घरमा एक वर्ष पहिलो पाकेको अन्नलाई कुल देवतालाई चडाएर मात्र आफ्लाई अन्नको उपभोग गर्दै आएको मेरिङदेन गाउँपालिका ४ का विमना लिम्बूले बताइन्।

मंसिर पूर्णीमाको दिनदेखि पहिलो पाकेको बालीको विभिन्न परिकार बनाएर कूल देवतालाई चडाउने परम्परालाई चासेका तङ्नामको रूपमा लिएको फक्ताङलुङ गाउँपालिका ६ का सन्त लिम्बूको भनाइ छ।

पर्वहरू सामाजिक सद्भाव र रीतिथिति, संस्कार, संस्कृतिका निरन्तरता हुन्। सबै चाड समय, मौसम परिवर्तन, ऋतु परिवर्तनअनुसार आफ्नै रीतिथितिबाट मान्ने प्रचलन रहिआएको छ।

लिम्बू समुदाय बसोबास गर्ने पूर्वी क्षेत्र र हाल आएर विभिन्न क्षेत्रमा बसोबास गर्ने लिम्बू जातिले सामूहिक रूपमा चाडपर्व मान्दै आएका छन्।

मौलिक जाति लिम्बू

लिम्बू जाति आफ्नै मौलिक संस्कृति र संस्कार विविधताले रहेका एक जाति हो। विभिन्न पेसा र जीवनशैली अपनाए पनि कृषिमा आधारित जीवनशैली अपनाउने लिम्बू जाति प्राकृतिक पूजक हुन्।

लिम्बू समुदायका चाडपर्व कृषिमा आधारित छन्। ऋतु परिवर्तन सँगसँगै खेतीपाती र जीवनयापनमा पर्ने असर र फेरबदलमा लिम्बू चाडपर्वका अर्थ जोडिएको किराँत धर्मगुरु ज्ञानु फुरुम्बो (चरपे) बताउँछन्।

यस्तो छ चासोक तङ्नामको सांस्कृतिक महत्त्व

लिम्बू समुदायले महान चाडको रूपमा मान्दै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी) पूजा उद्यौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ।

चासोक तङ्नाम (न्वागी) पूजा उद्यौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ।

चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व(चाड) हो।

मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्बन्धमा सविस्तार वर्णन पाइन्छ। किराँत याक्थुङ चुम्लुङले ०५९ सालमा प्रकाशन गरेको किराँत चाड एक परिचय पुस्तकका अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूहरूका आदिम पूर्खा (सावा येत्हाङ)ले कन्दमूल काँचै खाएर जीवनयापन गर्थे।

उनीहरू कुपोषण र अनेक रोगब्याधीको सिकार बने। यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङ (कुल देवता)सँग प्राथना गरे।

यही प्राथनाले गर्दा नै उहाँहरूले पेना/माङदःक(कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैँया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिए।

यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पूर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अंकुसे आदिको प्रयोग गरी भस्मे फाँडेर(घोरीया) बीउबिजन रोपी छरी अन्न फलाउन सुरु गरे।

यसरी छरपोख गरी उब्जाएर खानुअगाडि माङहरू(देवीदेवता)लाई चडाउने प्रचलन बसाले। मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भन्ने लिम्बू जातिको विश्वास छ।

यी नै कथनअनुसार माङ (देवता)हरूलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको मामाङ्खेका लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ छ।

आफूले लगाएको बालीनाली पाकेपछि कूल देवतालाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नाम पर्वलाई लिने गरेका लिम्बूले बताए।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा बौलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने(अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता रोगव्याधीले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको पुजारी लिम्बूले बताए। पहाडी क्षेत्रको बारीभरि पैंयू फुलेको छ। पैँयू फुलेको समयलाई किराँत लिम्बूहरूले उद्यौली याम (दक्षिणायन) सुरु भएको संकेतको रूपमा मान्छन्।

उद्यौली सुरु भएपछि माछा, चराचुरुंगी दक्षिणतिर लाग्दछ। खासगरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ।

यसै समयमा हिमाली भागमा हिँउपर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिन्छ।

यसलाई उद्यौली झारिएको भन्ने गरिन्छ। यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिन्छ, जसलाई उभौली भन्ने परम्परा रहिआएको लिम्बू समुदायका विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्रा अमर तुम्याङहाङको भनाइ छ। देवीदेवताको आर्शीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरेको तुम्याङहाङले बताए।

सामूहिक रूपमा मनाइने चाड

पहिला घरघरमा चासोक थिसोक (न्वागी) पूजा गरी रमाउने लिम्बूहरूले हाल आएर सामूहिक रूपमा यसलाई महान उत्सवको रूपमा मान्न थालेको छ।

यो पर्वमा खुसियाली साटासाट गर्ने तथा वर्षभरि भेट नभएको आफन्तजन तथा साथीभाइसँगको भेटघाटको अवसरका रूपमा लिने गरेका लिम्बू समुदायको भनाइ छ।

चासोक तङनामको अवसरमा ताप्लेजङका किराँत याक्थुङ चुम्लुङको आयोजनामा शुभकामना आदानप्रदान तथा मौलिक गीतसांगीतिकसहितको सांस्कृतिक कार्यक्रम (यालाङ, केलाङ) धान तथा च्याब्रुङ नाच गरी मनाउँदै गरेको लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङचुल जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष इन्दियार मेन्याङबोले बताए।

उद्यौली पूजालाई किराँत समुदायको मुख्य पर्वको रूपमा मान्दै आइरहेका छन्। लिम्बू, राई, याक्खा र सुनवार गरी किराँती चार वंश रहेको मान्याङवोको भनाइ रहेको छ।

मेन्याङबोका अनुसार किराँतहरूको महान चाड तथा राष्ट्रिय पर्व लिम्बूहरूले उद्यौलीलाई चासोक तङ्नामको रूपमा मान्छन् भने अन्य किराँत वंशका शाखामध्ये राईले उद्यौली साकेला, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदरको रूपमा मान्दै आएका छन्।

नेपाल सरकारले ०५८ सालदेखि यस राष्ट्रिय चाड चासोक तङ्नाम अर्थात् मंसिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिँदै आएको छ।

चासोक पूजा तथा पुजिन्ने देवीदेवताहरू

मुख्यतः युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भए पनि पूजा प्रार्थनामा बाधा नहोस, प्रार्थना गरेअनुरूप सफलता प्राप्त होस् भनी चासोक थिसोक पूजा गरिने लिम्बू समुदायका पुजारी सुने लिम्बूको भनाइ छ।

पूजारी लिम्बूका अनुसार मिसेक (सम्पन्न गरिन लागेको पूजाकार्य विध्नबाधारहित सम्पन्न होस् भनी सर्वप्रथम मिसेक्पा पूजा) कुइकुदाप वा ताक्फेङमा वा ताम्भूङना (गृहस्थी जीवनमा विध्नबाधा आइनपरोस् भनी मनाइने सिकारी पूजा) निम्न सिकारी वनदेवता, वनदेवी मान्ने गरिन्छ।

युमा, थेबा तथा थङदाङबाको पूजा गरिने भए पनि पूजा प्रार्थनामा बाधा नहोस, प्रार्थना गरेअनुरूप सफलता प्राप्त होस् भनी चासोक थिसोक पूजा गरिने प्रचलन छ।

तक्सङबा (विध्नवाधा नाशक सिकारी देवता) सिरिङमा वा मुदेनहाङमा साया मुदेन, तेन्छामा (दक्षिणबाट लिम्बू भूमिमा प्रवेश गरेकी वनदेवी,(घ) खञ्जमा वा खजुमा (कहिले उत्तर कहिले दक्षिण घुमी हिँड्ने वनदेवी,(ङ) वजमा (बिजुवा, येवा, येमा आदि तान्त्रिकहरूले पनि गुरु मानी उहाँहरूमा शक्ति गर्ने वनदेवीको पूजा गरिन्छ।

काप्पोबा हिम्साम्याङ (घरको रक्षा गर्ने बुढा देवता) काशीहाङमा (युमा साम्याङसँग साथ लागि आएकी उनको सहयोगी देवी)।

युमा साम्याङ (तागेरानिङवाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरी इष्टदेवी।

थबा साम्याङ (तागेरानिङवाफुमाङ पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता अथात् अग्रज देवता (बाजे)।

थुङदाङबा (अन्नबाली उत्पादनमा घामपानी मिलाई उब्जाउ गराइदिने, राखनधरन, खानपिन, कलाकौशलसमेत सिकाउने चासोक पूजामा अनिवार्य रूपमा पुजिने इष्टदेवता। सँगसँगै सिवेरा, चखोबालाई पनि पूजा गर्ने गरिन्छ।

चासोक पूजाको सामग्री र पूजाविधि

नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मूली आइमाईले चोखो गरी धान र कोदोको बाला टिपी ल्याउँछन्।

धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडीमा भुटी ओखलीमा कुटेर चिउरा बनाइन्छ भने नङले छोडाएको नयाँ धानको अक्षता चामल बनाइन्छ। कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ।

कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ। नरकट वा मालिंगो वा निगालो आदिको तल्लोपट्टि भूइँमा गाड्न सजिलो हुनेगरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुंगो ५/६ इन्च लामो बनाइ त्यसभित्र साप्तोक हाली थिः तङ्बा बनाइन्छ।

तंबा बनाउने वस्तुबाटै सिन्का बनाई पिचिङ (पाइप) तङ्बामा हाल्ने र तंबालाई केराको पातले छोपी पिछिङले छेडेपछि पूजाको लागि तंबा तयार हुन्छ।

वासो फुङ्वेत् (चिण्डो) वा लोहोटा/डबकामा वादुम्पक्वा (चोखो पानी) हाली वासांना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ।

विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धूपीको धूलो धूप, सालधूप, अन्य सुगन्धित धूपहरू, भेटी, च्युरा, अक्षता तयार गर्नुपर्छ।

तीन देखि छ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ। सम्याइएको जमिनमा पूजा गरिने विभिन्न देवीदेवताको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो पात ओछ्याई लासो (पूजाथान) बनाइन्छ।

लासो थाप्ने तरिका कहीँकहीँ फरकफरक पनि हुन्छ। युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दियो जलाई पूजा गर्नुपर्छ।

चासोक तङनामले धार्मिक महत्त्व तथा सामाजिक महत्त्व बोकेको पाइन्छ।

वर्ष दिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्न सराप्ने आदि भए गरेका गाली नलागोस् भनी बगाई पठाउने अनुष्ठान गर्ने प्रचलन लिम्बू जातिमा रहिआएको छ। लिम्बू भाषामा यस अनुष्ठानलाई माङहुप वादेम्मा भनिन्छ। यसो गर्नाले श्राप बग्छ भन्ने विश्वास गरिन्छ। यो अनुष्ठान अरू समयमा गर्ने भए पनि सामूहिक भेला भएको अवसर पारेर चासोक तङ्नाममा गरिँदै आएको पाइन्छ।

यस्तै चासोककै अवसर पारेर एकराते तङसिङ पनि गर्ने चलन बढ्न थालेको लिम्बू समुदायका पुजारी सुने लिम्बूले बताए।

चासोक तङ्नाममा रिस, ईष्याहरू बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन्।

तङसिङ खास गरेर लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको बारेमा मुन्धुमअनुसार साम्बा, विजुवाबाट मुन्धुम गाएर सम्पन्न गर्ने पुजारीको भनाइ छ।

यसलाई धार्मिक महत्त्व मानिन्छ भने सामाजिक महत्त्वमा चासोक तङ्नाममा रिस, ईष्याहरू बिर्सेर आत्मियताका साथ लिम्बू दाजुभाइ, दिदीबहिनी भेटघाट र शुभकामना आदानप्रदान गर्दछन्।

पाहुनाहरू आउने-जाने, मीठो-मसिनो परिकार बनाई खाने, सुख-दुःख साटासाट गर्दै खुसीयाली मनाउने, चेलीबेटीबाट हुक्वा, चेसुङ ल्याउने, माइत तथा ससुराली जाने अवसरको रूपमा यस पर्व मान्दै आएका छन्।

सामूहिक रूपमा भेला भएर केलाङ, यालाङ, नाचेर, पालाम, सांस्कृतिक कार्यक्रम गरेर, साम्लो (गीत) आदि गाएर मनोरञ्जन गर्दछन्।

यस्तै परम्परागत खेल पक्लुङ लेप्मा(छेलो हान्ने) खेल खेल्ने गर्दछन्।

यस चाडले लिम्बू जातिको पहिचान र सांस्कृतिक गौरव राख्ने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा भूमिका निर्वाह गरेको लिम्बू समुदाहका अगुवाहरूको भनाइ छ। -रससको सहयोगमा

प्रकाशित: २२ मंसिर २०७९ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =