पोखरा सडक महोत्सव : अंग्रेजी नयाँ वर्षको आकर्षण

हिमाल प्रेस २२ मंसिर २०७९ १३:२१
16
SHARES
पोखरा सडक महोत्सव : अंग्रेजी नयाँ वर्षको आकर्षण

पोखरा- पोखरा नेपालकै प्रमुख पर्यटकीय सहर हो। पोखरालाई पर्यटकीय हब बनाउन प्राकृतिक एवं मानवीय क्षेत्रबाट उत्तिकै टेवा पुगेको छ।

आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका पर्यटन व्यवसायीले विभिन्न खालका मेला महोत्सव आयोजना गर्दै आएका छन्। त्यसमध्येको एक हो- पोखरा सडक महोत्सव।

आजभन्दा झण्डै साढे २ दशकअघि रेबान पोखराले ‘अफसिज’नमा पनि पर्यटन प्रवर्द्धन गर्ने सोचले सडक महोत्सवको अवधारणा ल्याएको थियो। महोत्सव अवधारणाकर्ता वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई विगत सम्झँदै भन्छन्, ‘यो मौसममा पोखरामा खासै पर्यटक आउँथेनन्, पर्यटन प्रवर्द्धनका लागि विदेशको सिको गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको योजना ल्याइएको हो। अचेल यो पोखराकै ब्राण्ड बनिसकेको छ।’

हुन पनि पोखरा सडक महोत्सवले २३ औं श्रृंखला पार गरिसकेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आगामी पुस १३ देखि १७ सम्म २४ औं पोखरा सडक महोत्सवको तयारी गरिएको छ।

नेपालमा हुने मेला महोत्सवमध्ये यो सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो। फेवाताल किनारको सडकमा सवारीसाधन आवागमन बन्द गरेर पाँच दिनसम्म सडक महोत्सव हुने गरेको छ।

विगतमा कोरोना, भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरता झेलेको भए पनि यसपालि हरेक विषयले साथ दिँदा आयोजक उत्साहित छ। ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ लेकसाइडको ३ किमी क्षेत्रफल (फिस्टेल गेटदेखि जरेबर) मा सडक महोत्सव हुनेछ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी विगतको तुलनामा यसपालि महोत्सव पृथक बनाउने जनाएको छ। रेबान अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले महोत्सवमा सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, मौलिक भेषभूषा प्रदर्शन, खानाका परिकार, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन हुने बताए। यस्तै डुंगा दौड, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार, पर्यटकीय गन्तव्यको डकुमेन्ट्री प्रदर्शनीलगायत मेलाका मुख्य आकर्षण रहेको उनको भनाइ छ।

पाँच दिनसम्म चल्ने महोत्सवमा ८५ लाख कारोबार भई करिब १० लाख बचत हुने र ४ देखि ५ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। महोत्सवको अवसरमा पश्चिमाञ्चल होटल संघले पनि कोठा भाडालगायतमा २० प्रतिशत छुट दिने होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

सडक महोत्सव रेबानले आयोजना गरे पनि यहाँ सबै पक्ष जोडिएको उनले बताए। पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले विगतमा कोरोनालगायतले प्रभाव पारेको पर्यटन क्षेत्र चलायमान बनाउन सडक महोत्सव सहयोगसिद्ध हुने बताए।

नेपालको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन यसप्रकारका मेला महोत्सव निरन्तर हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महोत्सव लेकसाइडको मात्र नभई समग्र पोखराको पर्यटन प्रवर्द्धन टेवा पुग्ने भएकोले मिडियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

महोत्सवलाई नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारले प्रवर्द्धन गरेको छ। पोखरामा करिब ७ सय वटा पर्यटकीयस्तरका होटल छन्। तीमध्ये ४२५ मात्र होटल संघमा आबद्ध छन्।

प्रकाशित: २२ मंसिर २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =