लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता

हिमाल प्रेस २१ मंसिर २०७९ १२:४६
4
SHARES
लमजुङमा ५ महिनामा ९ वटा लैंगिक हिंसाको उजुरी दर्ता

लमजुङ- लमजुङमा करिब ५ महिनाको अवधिमा लैंगिक हिंसासम्बन्धी नौवटा अपराधका घटना भएका पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म नौवटा उजुरी परेको हो।

कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार चालु आर्थिक बर्षमा जबरजस्ती करणीसम्बन्धी अपराध चारवटा भएको पाइएको छ। जबरजस्ती करणी उद्योगसम्बन्धी अपराध तीनवटा भएको छ। अवैध गर्भपतनसम्बन्धी एउटा र बालयौन दुरुपयोगका घटना एउटा भएको श्रीमलले बताए।

आर्थिक बर्ष २०७८/७९ मा ३२ वटा लैंगिक हिंसासम्बन्धी उजुरी परेको थियो। सबैभन्दा धेरै जबरजस्ती करणीसम्बन्धी २० वटा परेको थियो। जबरजस्ती करणी उद्योगको तीनवटा, बालविवाहसम्बन्धी एउटा, बहुविवाहसम्बन्धी पाँचवटा परेको थियो। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी दुईवटा घटना घटेको थियो। यस्तै, आर्थिक बर्ष २०७७/०७८ मा २६ वटा घटना भएको थियो।

जबरजस्ती करणीसम्बन्धी १५ वटा उजुरी परेको थियो। जबरजस्ती करणी उद्योगसम्बन्धी चारवटा, बहुविवाहसम्बन्धी पाँचवटा घटना भएको थियो। बोक्सीको आरोपसम्बन्धी एउटा र बालयौन दुरुपयोगसम्बन्धी एउटा उजुरी परेको थियो। करिब साढे दुई वर्षको तथ्यांक हेर्दा ६७ वटा लैगिंक हिंसासम्बन्धी अपराध भएको पाइएको छ । विगतका वर्षमा भन्दा घटनामा केही कमी आएको प्रहरीले जनाएको छ।

नागरिकमा सचेतना वृद्धि भएको, हिंसाप्रति सचेत भएकाले पनि केही कमी आएको प्रहरीले बताएको छ।

प्रकाशित: २१ मंसिर २०७९ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =