एक महिनादेखि बस्‍न सकेन मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १९ मंसिर २०७९ १७:३६
54
SHARES
एक महिनादेखि बस्‍न सकेन मन्त्रिपरिषद् बैठक फाइल तस्बिर

काठमाडौँ- सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने आँट गर्न सकेको छैन। निर्वाचन सफलतापूर्वक सम्पन्न भए पनि सरकारले मन्त्रिपरिषद् बैठक डाकेर त्यसको समीक्षा गर्न नसकेको हो। निर्वाचन सकिएको दुई साता बितेको छ। निर्वाचनमा प्रभावशाली मानिने मन्त्रालय सम्हालेका केही मन्त्री पराजित भएका छन्।

निर्वाचन हारेका मन्त्रीहरूमाथि सेवासुविधाको लोभमा पदमै बसिरहेको आरोप लाग्न थालेको छ। उनीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज जनस्तरबाटै उठिरहेको छ। तर ती मन्त्रीहरूले राजीनामा नदिएर सरकारी सेवासुविधा दुरुपयोग गरिरहेका छन्।

निर्वाचनमा हारेका मन्त्रीसहित बैठक बस्दा विवाद उत्पन्न हुने सरकारले मन्त्रिपरिषद् बैठक राख्न आलटाल गरिरहेको ती सदस्य बताउँछन्। निर्वाचन जितेका मन्त्री मतदातालाई धन्यवाद दिन आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन्। ‘बैठक डाक्दा जितेका अनुपस्थित हुने तर हारेका मात्रै उपस्थित हुने भएकाले बैठक बस्न नसकेको हो’, मन्त्रिपरिषद्का ती सदस्यले भने, ‘चुनाव हारेका मन्त्री मात्रै बस्दा राम्रो सन्देश जाँदैन।’

मन्त्रिपरिषद् बैठक बस्न नसक्दा कतिपय सरकारी काम मुख्य सचिव शंकर बैरागीले फुकाउन गरेका छन्। तर महत्त्वपूर्ण निर्णय भने हुन सकेको छैन। मन्त्रिपरिषद्को पछिल्लो बैठक कात्तिक १७ गते बसेको थियो। एक उच्च सरकारी अधिकारीले भने, ‘बैठक नबस्दा सबैलाई हाइसन्चो भएको छ। मन्त्रिपरिषद्को निर्णयविना पछि गराउने गरी भ्रमण पनि हुन थालिसकेको छ।’ मुख्य सचिव बैरागी भने केही मन्त्रीहरू निर्वाचन क्षेत्रबाट फर्किसकेको र केही मन्त्री फर्कने क्रममा रहेकाले अब छिट्टै बैठक बस्ने बताउँछन्। उनी भन्छन्, ‘सबै मन्त्रीहरू आउनेबित्तिकै बैठक बस्छ।’

यी हुन् निर्वाचनमा पराजित मन्त्री

गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–३ मा राप्रपाका दीपक बोहरासँग पराजित भएका छन्। यस्तै ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पराजित भएकी छन्। चुनाव हार्ने अर्का मन्त्री हुन् पर्यटनमन्त्री जीवनराम श्रेष्ठ। उनलाई काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरे।

खेलकुदमन्त्री महेश्वर गहतराज अथकले बाँके १ बाट एमालेका सूर्य ढकालसँग पराजित हुनुपरेको छ। बारा १ मा खानेपानीमन्त्री उमाकान्त चौधरी एमालेका अच्युतप्रसाद मैनालीसँग पराजित भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भए।

प्रकाशित: १९ मंसिर २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =