यसरी सम्भव छ कम्युनिस्टबिनाको सरकार

हिमाल प्रेस १८ मंसिर २०७९ १७:१०
430
SHARES
यसरी सम्भव छ कम्युनिस्टबिनाको सरकार

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेपछि प्रमुख राजनीतिक दलहरू बहुमतको हिसाबकिताबमा जुटेका छन्। यस क्रममा नेताहरूबीच विभिन्न विकल्पमा छलफल भइरहेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा गएका थिए। मत परिणाम आउँदै गर्दा स्पष्ट बहुमत नआउने देखेपछि गठबन्धनले निरन्तरता पाउने या नपाउने भन्ने विषयमा उनीहरूले कुनै धारणा बाहिर ल्याउन सकेका छैनन्।

माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरेर अन्य वाम घटकसँग छलफल थालेको छ। नेपाली कांग्रेसमा पनि कम्युनिस्टबाहेकको सरकारको विकल्पको खोजी भएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमत ल्याउन १३८ जना सांसदको समर्थन चाहिन्छ। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक नगरे पनि अहिलेसम्म प्राप्त मतपरिणामका आधारमा कम्युनिस्टहरूलाई बाहिर राखेर पनि सरकार निर्माण गर्न सकिने अवस्था देखिएको छ।

मत परिणामअनुसार सबै भन्दा ठूलो दलका रुपमा नेपाली कांग्रेस स्थापित भएसँगै सरकार बनाउने पहिलो कसरत उसैबाट सुरु भएको छ। कांग्रेसले प्रत्यक्षतर्फको १६५ सिटमध्ये ५७ सिटमा निर्वाचित भएर पहिलो दल बनेको छ। समानुपातिकतर्फ भने एमाले भन्दा पछि पर्दै कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गरेको छ। कांग्रेसले प्राप्त गरेको मतका आधारमा उसले ३२ सिट गर्ने देखिन्छ। यसरी संसद्‌मा पहिलो दल बनेको कांग्रेसको ८९ सिट हुने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात सिटमा विजयी भएको छ। समानुपातिकतर्फ ११ लाख २४ हजार ५४३ मत ल्याएको रास्वपाको १४ सिट पक्कापक्की छ। प्रतिनिधिसभामा उक्त दलको २१ सिट हुने देखिन्छ। राप्रपा पनि प्रत्यक्षतर्फ सात सिटमा निर्वाचित भएको छ। समानुपातिकतर्फ पाँच लाख ८६ हजार ६३८ मत पाएको छ। समानुपातिकतर्फ सात सिट पाउँदा प्रतिनिधिसभामा राप्रपाको १४ सिट हुने देखिन्छ।

मधेश केन्द्रित दल जसपाले पनि अपेक्षाअनुरुप मतपरिणाम हासिल गर्न नसके पनि प्रत्यक्षतर्फ सात सिटमा निर्वाचित भएको छ। समानुपातिकमा चार लाख २० हजार ९४६ मत ल्याएको छ। यही हिसाबमा समानुपातिकमा पाँच सिट पाउँदा जसपाको प्रतिनिधिसभामा १२ जना सांसद हुन्छन्।

सत्ता गठबन्धनभित्रकै लोसपाका पनि चार जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन्। एक सिट प्रत्यक्षमा जितेर समानुपातिकमा ३ लाख ९४ हजार ५२३ मत पाएको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिटसहित पाँच सांसद प्रतिनिधिसभामा हुने देखिन्छ।

कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन्। उनको एक सिट पनि कांग्रेसले पाउने देखिन्छ। यसरी कम्युनिस्ट विना कांग्रेस ८९, राष्ट्रिय स्वतन्त्र पार्टी २१, राप्रपा १४, जसपा १२, जनमत पार्टी पाँच, लोसपा चार र स्वतन्त्र एक गरी १४६ सिट हुन्छ। नागरिक उन्मुक्ति पार्टीका तीन र अन्य स्वतन्त्र सांसदको पनि साथ लिने हो भने वामपन्थी दलबिनाका सरकार बन्ने निश्चित छ।

यसका लागि दलहरूले मन्त्रालयको भागबण्डा, प्रदेश सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख–उपसभामुख, संसद्का विभिन्न समितिका सभापतिलगायतका विषयमा सहमति गरेर जाने हो भने सहज हुने देखिन्छ।

कम्युनिस्ट पार्टीको मात्रै असम्भव

कम्युनिस्ट दलले मात्रै सरकार बनाउने हो भने बहुमत पुग्ने देखिँदैन। एमालेले प्रत्यक्षतर्फ ४४ सिटमा निर्वाचित भएको छ। जारी मत गणनामा समानुपातिकतर्फ एमालेले ३४ सिट ल्याएमा उसको ७८ सिट हुनेछ। यस्तै प्रत्यक्षतर्फ १७ सिटमा जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट ल्याएमा ३१ सिट हुनेछ।

नेकपा एकीकृत समाजवादीको १०, नेमकिपाको एक र जनमोर्चाको एक सिट जोड्दा एक सय २१ सिट हुनेछ। यसमा कम्युनिस्ट पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएर जितेका प्रभु साह, योगेन्द्र मण्डल, किरणकुमार साहसमेत जोडिएम एक सय २३ सिट हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =