दाङमा ऋण लिनकै लागि उद्योग स्थापना गर्ने बढे

हिमाल प्रेस १७ मंसिर २०७९ १९:४०
8
SHARES
दाङमा ऋण लिनकै लागि उद्योग स्थापना गर्ने बढे

दाङ– दाङमा बैंकबाट ऋण लिनकै लागि उद्योग स्थापना गर्नेक्रम बढेको देखिएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकभित्र दाङमा २ सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन्।

जसमा ६१ करोड २४ लाख ३१ हजार रुपैयाँ पूँजी लगानी गरिएको छ। प्राइभेट फर्म २ सय ७९, साझेदारी ११ र ५ वटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए।

यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेको उनले बताए।

यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला १ सय ६० र पुरुष १ सय ५८ उद्यमी थपिएका छन्। जसमा करिब ४ सय जना महिला र करिब ६ सय जना पुरुषले रोजगारी प्राप्त गरेका छन्।

चार महिनामा ३ सय २७ वटाको नवीकरण गरिएको छ। अन्य संशोधन १ सय ६८ वटा छन्।

यसमध्ये धेरैजनाले अनुदान पाउन तथा सहुलियतमा ऋण लिनमात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ।

यसैले उद्योग दर्ताको संख्या धेरै देखिने गरेको छ। कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख ७ हजार राजस्व संकलन गरेको केसीले बताए। जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार १ सय ५२ वटा उद्योग रहेका छन्।

पहिलो चौमासिकसम्म ७२ वटा उद्योग बन्द

कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म ३ सय ६० वटा फर्म दर्ता भएका छन् भने यसै अवधिमा ७२ वटा उद्योग बन्द भएका छन्।

चार महिनामा तीन सय ३२ वटा फर्म नवीकरण भएका छन् । यस्तै १ सय ९४ वटा अन्य संशोधन गरेका छन्। वाणिज्यतर्फ ४ महिनामा कार्यालयले ३५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको अधिकृत केसीले जानकारी दिए।

०६३ साल वैशाखदेखि ०७९ कात्तिक मसान्तसम्म जिल्लामा १२ हजार ६ सय ९६ वटा वाणिज्य फर्म दर्ता भएका छन्।

५ लाखभन्दा कम पूँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए।

यसै कारणले पनि संख्या कम देखिएको उनको भनाइ छ। जिल्लामा चालु आर्थिक वर्ष ०७९/८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको अधिकृत केसीले जानकारी दिए।

यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =